प्रशान्त यी पैतालाहरू ब्रम्हपुत्र किनारा र गंगासागरका पानीमा पनि चोपलिएकै हुन्:कवि निरौला

संस्मरणात्मक निबन्ध :कवि उदय निरौला

रत्तेउली खेलिरहेछ ,बादल कहिले घाम पुर्छ, कहिले चट्याङ छर्छ र कहिले दर्कन्छ।एकनास उदासि भिजाँउछ मान्छेको सुन्दर कल्पनाको गलैँचा हिलै पारेर।भिज्नु र हिलिनुका क्रममा धेरै साँझहरू,गोधुलिमा खेल्छन् पनि र रून्छन् पनि।टाढाटाढाको रंगिन क्षितिजमा सपनाहरू विम्ब बनेर तैरन्छन् बादलको भर्याङमा चमेरा जस्तै ।मानिस एकतमास हेरिरहन्छ, हेर्नुको विकल्पमा उ निहत्था , निशस्त्र र निरीह।
ऐले कोरोना खेलाइरहेछ बादल र मान्छे असक्षम सावित छ।
अाँखामा कुनै चम्किला तारहरू छैनन्,र छैनन् हातमा कुनै उत्साहजनक शीपहरू ।हृदयमा छैनन् कुनै कविता र छैन कुनै गित र संगित पनि ।यो बोन्डाईको बिचमा (किनारा)माछैनन् ऐले यो मध्यान्हमा पनि पौडिबाजहरू।अाँखाहरू उप्काउन सकिरहेका छैनन् बादलका पत्रहरू। मन वर्तमानमा कुनै प्याजको छिल्का देख्दैन र घरिघरि विगततिर पस्छ सायद मानिसको चेतनाको पत्र खाम्ने खाम हो विगत।माछा कुरमा लुकेजस्तै लुक्छ नसके पछि मान्छेको लज्जा।ऐले यो क्षण म एकनास हेरिरहेको छु उड्दै र बस्दै गरेका सामुिद्रक छुच्चा चराहररू र परको बादल र परको शुन्यमा बिलिन हुँदै गइरहेको नुन र घुल्दै गरेको घाम छाँया ।

महाँसागर टाँसेर यी अाँखाहरूमा।कति मुरधन्यँ श्रस्टाहरू जन्मायो प्रशान्त! मेरो देशको रातो माटोले तर प्रशान्त -तिम्रो उपस्थिति मेरो माटोमा नहुँदा हामी पटक पटक छिमेकीको हप्कि र खप्कि खान पनि बाध्य छौं र तिम्रो हरेक छालमा तैरने त्यो नुनिलो श्वादको लागि पनि हामीले उसलाई पटकौंपटक नमस्कार गर्न नत मस्तक बन्नुपर्छ । तिमी उसै दिइरहेछौ निशुल्क तथापि हामीले पसिना र रगतसँग साट्नु पर्छ तिम्रो प्रत्येक गाजका थोपाहरूलाई। अनि तिम्रो स्नेहलाई।कति टाढा छौ तिमी मेरो भुगोलबाट र हामीले तिम्रो अनुपस्थिति सहेर भूपरेवेसष्ठित संज्ञाको विल्ला टाँस्नु परेको छ ।थुनिनु परेको छ र निसासिनु परेको छ अनि बँधिनु परेको छ। फलाँउछ प्रशान्न्त -मेरो माटोले पनि मान्छे सयार्ने मात्र हैन प्राणनै धान्ने संजीवनीहरू असंख्य तर तिम्रो अनुपस्थितिमा मार्ग नपाएर तिम्रा अाड किनाराका यी वैभवशाली बजारहरूमा नअाई उतै कुहिन्छन्, सुक्छन् र मर्छन् ।कति निठुरी रहिछ्यौ तिमी श्र्ष्टिकै दिनमा नै तिमीले रोजिन छौ मेरो माटो को बाटो र बगिछ्यौ अन्यत्रै के गर्न सकिन्छ पशान्त! अब तिमीलाई भेट्न पनि हामीले अनेकन हण्डर र ठक्करका अक्करहरूमा ठोकिनुपर्छ, मोडिनुपर्छ र थिल्थिलो हुनुपर्छ । ऐले यो छिन म हेरिरहेको छु तिम्रा बालुवाका कणकण र चाखिरहेछु टाउकाको घामको न्यानो अनि अाँखालाई दिईरहेछु बाटो ,पर शुन्यमा विलिन हुने तिम्रो तस्बिरको किनारा जसको कुनै छैन अन्त्य र छैन सीमा पनि सायद यिनै तिम्रा अन्तहिन विम्बहरू भोगको पल्लो सीमा, जीवनको उपल्लो डिलसम्म मसँग रहिरहने खतहरूहुन्।खाटाहरू हुन् र नामेट डोबहरू हुन्।यही लिएर म रित्तै पुन: मेरो माटोको हाँगाहरू समाउन पुग्ने छु मानौ तिमी ऐले यतिवेला मेरालागि एउटी अवोध प्रेयसी र म एउटा अतृप्तिको प्राप्तिमा रमाइरहेको प्रेमी।छुट्टिनु पर्ने समयको रेखाचित्र कोरिरहेछ माथि बादल घरी मेटिँदै र घरी कोरिँदै अनि उठ्दै र बस्दै गर्ने तिम्रा छातीका यी छालहरू टोल्हाएर गन्दै र भुल्दै गरिरहे छु म सुदुर प..र मेरो प्रीय माटोको सुवास अाइरहेको चिसो वतासलाई छाम्दै। त्यो बतास जो मेरा प्रीय दवकोटा र भुपिले बनी स्पर्श गरेका थिए र त्यस्तो माटो जो वर्तमानमा माधव र तारानाथहरू अनि असंख्य फक्रिसकेका सयपत्री र लिलीहरू अनि अनेकन् कोपिलाहरू अर्किडका बगैंचामा स्पर्श गरिरहेका छन्।म तापिरहेछु वर्तमामा तिम्रा किनाराका बालुवाका डङ्गुरकणहरू र यो भर संसारनै पाँहुना भएर पनि समस्त घरमालिकहरूलाई शासन गरिरहेको कोरोनारूपी मालिकलाई अनि बेहोरी रहेछु उस्को तानाशाही।तिमी त अनवरत अाफ्नै यात्रामा र गन्तब्यमा छौ प्रशान्त! म भने वास्तवमै रनभुल्ल छु , न तिम्रो किनारानै टेकिरहन पाँउछु न मेरो माटोनै चुम्न कुनै डुँगा र नाविकलाई भेटिरहेंछु। बहुलाकाजीको सपना सिलाउने श्रष्टा र चपाईएका अनुहार बेहोर्ने दौलतहरू अनि प्रत्येक ठाँउ प्रत्येक मान्छे भेट्ने पिटर जे लाप्चालाई म तिम्रै किनाराको छेउमा उभिएर स्मरण गर्दैछु र हेर्दैर्छु कतै पारिजात फुलिरहेेकी त छैनन् तिम्रो यो डंगुर बालुवाको थाकमा अनि कुनै तिम्रै यश बालुवाको पच्याङमा हाम्री सुम्निमा बाटो अलमलमा हराईत रहेकी छैनन्?फैलाँउछु यी सानाअाँखाका कोषहरू तर न उनी यो मैदानमा रमाईन् न सुकन्यानै, मात्र रमाएत सुयोगबीरहरू, मात्र रमाएत यो डंगुरबालुवामाथि बाध्यताका लाहुरहरू र विवसताका असंख्य कोलाजहरू र रुमलिए निरीहबनेका “बरसाती खाँहरू” जो जोतेर पनि मङ्सिरमा साहु बुझाँउदा बुझाँउदै रित्तै हुन्छन् राजवका कविताका नायकहरू। प्रशान्त! झर्कोलाग्यो होला तिमीलाई यी मेरा तिम्रा शौंन्दर्यलाई धावाबोल्ने गनगनहरू तर अरू कोही सुन्न तयार छैन तिमी बाहेक अरू कवि विभुका श्वस्थानी कहिल्यै पोल्टाबाट नझरेका विवस नारीहरूका कथाहरू।अनि कोही सुन्दैनन् भनिरहेकै छन् कवि साकार प्रशान्त! “सर्पहरू गित सुन्दैनन्”।
प्रशान्त ! तिमी निदाँउदिनौ नि किमार्थ घरी मेरै सगरमाथा र कन्चन्ङ्घा अनि चोयुलाई छोइरहीछ्यौ र घरी मेरै माटोका टनकपुर र सुस्ता अनि झापा बनेर लमतन्न पर्दै सुदुर यसकिनाराबाट तन्किएर अन्टार्काटिका र अझ तल झरेर दक्षिणी ध्रुव पनि छुन्छ्यौ। पुर्‍याइदेउन त्यताका अमिट प्रकृतिका छाप्रा र थुम्का थुम्कामा अनि ती कलकलाँउदै अलमस्त गुञ्जनका धुनहरू नाच्दै नाच्दै बुर्कुसिरहेका छाँगा र छहराहरूमा प्रशान्त !म तिम्रो किनारामा उभिएर माथि माथि विश्वभन्दामाथि अग्लँदै अग्लँदै गहिरहेको मेरा माटोको पिपलका बोटहरू र पुतली सडकका कुनै रेस्टुराँबाट कविता कुँदेर निस्कँदै गरेका हरी अधिकारीहरू।अनि कुनै गजल रेस्टुरेन्टमा मीठो बजिरहेका अनेकन् रवि प्राञ्जलहरू र तिनका निस्कपट अाँखाहरू , निर्दोष बालसुलभ मुस्कानहरू।

यसरी प्रशान्त!मेरो देशले कैयौं पाब्लो पिकासोहरू, कैयौं फर्डेनान्ड डिलेप्सेसहरू र कैयौं ,कैयौं लियो नार्डोहरू अनि कैयौं नाईटेंगेल्स र मोदर टेरेसाहरूलाई पनि जन्मायो हुर्कायो र बढायो तर तिमीले बाटो अलग चयन गर्यौ र उनीहरू सबै फगत घलेबाहरू बनेर अामाकै काखमा फगत् अाफ्नै अामाका कोक्रामा हल्लन बाध्य बने यी बाध्यताका गाँठाहरू न तिमी नै अब मार्ग बदलेर फुकाउन सक्छ्यौ न मेरो सगरमाथाले सक्छ, तिमी अलमस्त छचल्कीनै रहनेछ्यौ र मेरो सगरमाथा मुक बनेर सदासर्वदा उभिनैरहनेछ भजाउनेहरू फगत् मेरो माटोमा डोनहरू छन्, फगत् घिनौना फोहरी अाहालमा सतरञ्ज खेलिरहेका शकुनिहरू छन् , फगत् शकुनिहरू र हिटलरहरू अनि फगत् जारहरू र इदि अमिनहरू । पुराण सुनाउने बाक्लो धुसा ओडेका महाँ पण्डितहरू छन् अनि अाँखामा गाञ्धारी पट्टी बाँधेका नामका न्यायाधीशहरू छन् अनि मेरो माटोका घलेबाहरू कोक्रामा निदाएर कोक्रामै समाधीलाएर जानेछन् अथवा स्वर्गे हुनेछन् । अो!मेरा चोयाका ,बाताका, पाटाका, कलमका, उन्युका कलमका,खरीका, कपासका,कालीमाटीका, सियोका, अारानका ,थान्काका,छालाका,हिरामोती र श्वर्णका अनि अस्तित्व तयार पारिरहने, टोपीका अनि पाठशालाका घलेबाहरू नमन तपाईँहरूलाई यो प्रशान्त महाँसागरको डिलबाट। ….क्रमश
ए! प्रशान्त यी पैतालाहरू ब्रम्हपुत्र किनारा र गंगासागरका पानीमा पनि चोपलिएकै हुन्। ऐले संझदैछु ती क्षणहरू पनि ।मुम्बईको हिन्दमहासागरीय जलमापनि धोएकै हुन् यी पैतालाहरू।ऐले कुनै बेला कवि अविनास श्रेष्ठले “उदयजी दिक्क भएँ म समकालीन गालीहरूसँग र हारेँ म अब यो प्रज्ञाको अाँगनसँग पनि बरू उतै टाढा ब्रम्हपुत्रको किनारामा बसेर सिलाँउ केही कविता र तुनौकि कुनै उपन्यासको बर्को जस्तो लागिरहेछ ” भनेको पनि गुञ्जिरहेछ नाद कानमा।उनी पनि मेरो अाँखामा एक इमानदारीको फलैंचामा थकित तर सुन्दर पात्रहरू खोजेर कथाको मान्द्रो बुन्ने बेजोडका नेपाली घलेबा नै हुन् र कवितामा पर्यावरणीय छन् उनी पनि। संझिदैछु ऐले यो क्षण कवि अविनाश एक शसक्त सबै अोझेल र सेपमा परेका साहित्यकारहरूलाई सम्ट्ने शिल्पि हुन् ।उनले एउटा सेतु निर्माण गरेकाछन् अासाम, मेघालय र डुवर्सको साहित्य र नेपालकोलाई साहित्य जोड्ने ।यो कठिनप्राय कार्यका लागि यै बालुवाको डिलबाट उनलाई अभिवादन !
अँ साँझको घाममा अब सुनको साँझ पोत्न तल्लिन प्रशान्तलाई पनि अाज यहीँ छाडेकोछु र क्रमश भनिरहेँछु ए प्रशान्त !पुन म भोलिको पर्खाइमा तिम्रो किनारलाई र तिमीले नै उभ्याएको यश बालुवाको मुस्कानमय डिललाई ऐले यश क्षणमा छाडिरहेँछु फगत् घडीका काँटाहरूले थोरै रातको गहराइमा यात्रा गर्नुपर्नेछ । बस् ऐलेलाई फगत् मात्र ऐलेको वर्तमानलाई।!

सम्बन्धित शिर्षकहरु