काठमाडौं । विश्वमा एकैदिन ९५ हजारभन्दा बढी कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। कोरोना भाइरसको संक्रमण सुरु भएयताको साढे तीन महिनाको अवधिमा बिहीबार एदैदिन सबैभन्दा ठूलो संख्यामा संक्रमितहरु देखिएका हुन्।
वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार बिहीबार विश्वभरि ९५ हजार २२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। बिहीबार नै विश्वभर कोरोना भाइरसको संक्रमणबाट ६ हजार ९ सय ९६ जनाको मृत्यु भएको छ।
बुधबार कोरोना भाइरसबाट विश्वभर ७ हजार ९ सय ६० जनाले ज्यान गुमाएका थिए भने ८४ हजार ५ सय १५ जना नयाँ बिरामी थपिएका थिए। बुधबारको तुलनामा बिहीबार १० हजार बढी नयाँ बिरामी बढेका छन्।
मंगलबार विश्वभर कोरोना भाइरसका कारण ६ हजार ९ सय ७९ जनाको मृत्यु भएको थियो भने ७३ हजार ७ सय २९ जना नयाँ संक्रमित थपिएका थिए।
सोमबार एकैदिन विश्वभर कोरोना भाइरसका कारण ५ हजार ४ सय २ जनाको मृत्यु भएको थियो। सोही दिन ७१ हजार ४ सय ९५ जना नयाँ बिरामी थपिएका थिए।
आइतबार एकैदिन विश्वभर ५ हजार ४ सय १७ जनाको मृत्यु कोरोनाका कारण भएको थियो। आइतबार विश्वभर ७२ हजार ५ सय २३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका थिए।
बिहीबार अमेरिकामा २९ हजार ५ सय ६७ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् भने २ हजार १ सय ७४ जनाले ज्यान गुमाएका छन्। स्पेनमा बिहीबार ४ हजार २ सय ८९ जना नयाँ बिरामी थपिएका छन्। सोही दिन स्पेनमा ५ सय ३ जनाको मृत्यु भएको छ।
इटालीमा बिहीबार ३ हजार ७ सय ८६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने ५ सय २३ जनाको मृत्यु भएको छ। फ्रान्समा बिहीबार थप १७ हजार १ सय ६४ जनामा कोरोना भाइरस देखिएको छ। सोही दिन फ्रान्समा ७ सय ५३ जनाले ज्यान गुमाएका छन्।
जर्मनीमा २ हजार ९ सय ४५ जना नयाँ बिरामी बिहीबार देखिएका छन्, जहाँ बिहीबार नै २ सय ४८ जनाको मृत्यु भएको छ। बेलायतमा बिहीबार ४ हजार ६ सय १७ नयाँ बिरामी थपिएका छन् भने ८ सय ६१ जनाको मृत्यु भएको छ।
इरानमा बिहीबार १ हजार ६ सय ६ जना नयाँ बिरामी थपिएका थिए। सोही दिन इरानमा कोरोनाका कारण ९२ जनाको मृत्यु भएको थियो।
टर्कीमा बिहीबार ४ हजार ८ सय १ जना कोरोनाका नयाँ बिरामी थपिएका थिए भने १ सय २५ जनाको मृत्यु भएको थियो। बेल्जियममा बिहीबार १ हजार २ सय ३६ नयाँ बिरामी थपिएको र ४ सय १७ जनाको मृत्यु भएको थियो।








