भदौ २७ ।टोकियो,प्रौढ जनसङ्ख्या अधिक रूपमा बढिरहेको जापानमा १०० वर्ष नाघेका व्यक्तिको सङ्ख्याले नयाँ कीर्तिमान कायम गरेको देखिएको छ ।
यस्तो व्यक्तिको सङ्ख्या गत ४४ वर्षदेखि बढ्दै आएको जानकारी शुक्रबार जापान सरकारले दिएको छ । जापानमा यस वर्ष सेप्टेम्बर १ मा १०० वर्ष नाघेको व्यक्तिको सङ्ख्या सङ्ख्या गत वर्षको तुलनामा चार हजार ४२३ ले नाघी ५८ हजार ८२० पुगेको बताइएको छ ।
यसमा महिलाको प्रतिशत ८७.१ रहेको जानकारी दिइएको छ । जापानमा प्रति एक लाख जनसङ्ख्यामा ४६.१ व्यक्ति सय वर्ष नाघेको देखिएको छ । यस सङ्ख्यामा जापानका सबैभन्दा बढी उमेरका महिला तथा पुरुष पनि परेका छन् र यी पाका व्यक्तिलाई गिनिज वल्र्ड रेकर्ड्सले स्वीकार गरेको छ ।
हाल ओसाकाकी ११६ वर्षीया मिसाओ ओकावा सबैभन्दा बढी उमेरकी महिला बनेकी छन् भने १११ वर्षका साकारी मामोइ सबैभन्दा बढी उमेरका पुरुष बनेका छन् । सन् १९६३ मा त्यहाँको सरकारले सय वर्ष नाघेका नागरिकको जनसङ्ख्या गणना गर्न थाल्दा केबल १५३ व्यक्ति मात्र १०० वर्ष नाघेका थिए । सन् १९९८ मा यो सङ्ख्या बढेर दस हजार पुगेको देखिएको थियो । यसरी हरेक वर्ष तीन हजारदेखि चार हजार व्यक्ति १०० वर्ष नाघेको सङ्ख्यामा थपिने गरेको देखिएको छ । चिकित्सा प्रविधिको विकास तथा सेवा प्रदान गर्ने प्रणालीमा सुधारले यसरी १०० वर्ष उमेर नाघेका व्यक्तिको सङ्ख्या बढ्नुको कारण रहेको अनुमान मन्त्रालयका अधिकारी युजी उमेमेटो गर्नुभयो । सन् २०१३ मा महिलाको औसत आयु ८६.६१ वर्ष देखिएको छ । यो विश्वमा सबैभन्दा अधिक औसत आयु हो । यहाँ पुरुषको औसत आयु ८०.२१ वर्ष देखिएको छ र यो चौँथो सबैभन्दा अधिक औसत आयु भएको बताइएको छ ।








