जेठ १५ । काठमाडौँ,राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवस २०७३ का अवसरमा राष्ट्रिय एकताका जगमा शान्त, समुन्नत, समृद्ध, सन्तुलित र समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको विकासमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।
पहिलो पटक संविधानसभाबाट नेपालको संविधान २०७२ जारी भएको र यसको कार्यान्वयनका सुरु भइरहेको उल्लेख गर्दै राष्ट्रपतिले सन्देशमा ऐतिहासिक संविधानले लामो समयको राजनीतिक द्वन्द्व र सङ्क्रमणको विधिवत् अन्त्य गरी नेपाली जनतालाई पूर्ण सार्वभौम बनाएको उल्लेख गरेका छन् ।
राजनीतिक अधिकार सुनिश्चित भएको वर्तमान परिप्रेक्ष्यमा सिङ्गो मुलुक आन्तरिक स्रोत र साधनको अत्याधिक सदुपयोग, कृषिको आधुनिकीकरण, पर्यटन विकास, वातावरण संरक्षण, बृहत्तर विकासका पूर्वाधार निर्माण, आधुनिक उद्योगधन्दाको स्थापना र रोजगारीको प्रवद्र्धनमा केन्द्रित हुनुपर्ने राष्ट्रपति भण्डारीले सन्देशमा उल्लेख गरेका छन् ।
राष्ट्र निर्माण साझा कार्यभार बन्नुपर्ने
यसै उपलक्ष्यमा उपराष्ट्रपति नन्दबहादुर पुनले अबको ध्यान देशको प्रत्येक कुनाका नागरिकले प्रत्यक्ष अनुभूत गर्ने गरी आर्थिक, सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माणमा केन्द्रित हुनुपर्ने बताएका छन् ।
उनले अब संविधान कार्यान्वयन, समृद्धि र राष्ट्र निर्माण सब नेपालीको साझा कार्यभार बन्नुपर्ने उल्लेख गर्नुभएको छ ।
राजनीतिक शक्तिबीच एकताको खाँचो
नेकपा (माले) का महासचिव सिपी मैनालीले संविधानले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने विश्वास व्यक्त गरेका छन् ।
उपप्रधानमन्त्री मैनालीले त्यसको कार्यान्वयनमा लोकतन्त्रका लागि सङ्घर्षरत सम्पूर्ण राजनीतिक शक्तिबीच एकताको खाँचोमा जोड दिएका छन् ।








