फर्किनु छ देश-नायक घर फर्केझैँ
आज पनि 
साँझ पर्नासाथ गुंढ फर्किएका छन्
वार्दलिका गौंथलिहरू।
आज पनि
डाँडापारि अस्ताएको छ सूर्य।
सूर्यको चाल सजिलै बुझ्ने
आमाहरूका आँखा—
आफ्नै कोखको भाका नबुझेर
सूर्यसँगै सोधिरहेछन्:
“भन न सूर्य, मेरो छोरो कहिले फर्किन्छ?”
छाती चर्किरहेको छ—
कति पटक तिमी अस्ताउनु र उदाउनु पर्छ
एउटा सन्तान फर्किन?
दैलोमा विदाइका आँसु झर्ने युग
सदियौँदेखि बदलिन सकेकै छैन।
सन्तानको पर्खाइमा
आँगनजत्रै छाती बोकेर
वर्षाको बलेनीझैँ
आँखाको झरिमा भिजिरहनु—
आमाहरूको नियति बनिरहेकै छ।
मुटुमा देश बोकेर,
आँसु दबाउँदै पाइतालालाई
विदेशतिर धकेल्नु—
पुस्तौँ पुस्ताको कर्म बनिरहेकै छ।
अब त
नफर्कने दिशातर्फ नफर्की,
सबै फर्किनु छ।
दैलोमा विदाइका आँसु झर्ने,
आमाहरूको छाती चर्किने युग
अवश्य समाप्त पार्न
फर्किनु छ।
भारतमा अल्झिएका
हे भानुभक्तहरू,
लन्डनतिर हराइरहेका
लक्ष्मीप्रसादहरू,
अमेरिकामा अल्मलिएका
अमर सिंहहरू,
अष्ट्रेलियामा पीआर र सिटिजनको
सपना पछ्याइरहेका
लेखनाथहरू,
र खाडीमा पसिना बेचिरहेका
बालकृष्णहरू—
अब अति भयो, फर्किनु छ।
परिवार र देश छुट्टाछुट्टै हुने
यो युग समाप्त पार्न
फर्किनु छ।
समयलाई पश्चातापले नभरिँदै
घरको मूल ढोकामा पुग्नु छ।
मर्नु पर्छ भने
एकपटक मर्नु छ—
बारम्बार टुक्रिएर होइन।
त्यसैले—
हे भानुभक्तहरू,
जीवनको स्वाद लिँदै
मृत्युको संगीत गाऔँ,
नायक घर फर्केझैँ
समयलाई चिरेर
फर्किने तयारी गरौँ।
विछोडले दैलो भिजिरहने
यो युग समाप्त पार्न—
आश र श्वासमा कर्मको ज्योति जगाऔँ।
नसके,
कोफिनमै किन नहोस्—
आफ्नै माटोमा फर्केर
एउटा सन्देश छोडौँ:
“देश र परिवार कहिल्यै छुट्टिने होइन।”







