दशैं टीका २०२५ : नेपालको साइतका आधारमा विश्वभर
काठमाडौं – अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले २०८२ सालको विजयादशमी (दशैं) टीका साइत सार्वजनिक गरेको छ। समितिका अनुसार नेपाललाई आधार मानेर विश्वका विभिन्न देश र सहरमा टीका ग्रहणको शुभ साइत तोकिएको छ।
अष्ट्रेलियाका प्रमुख सहरहरूमा समितिद्वारा तोकिएको शुभ साइत यसप्रकार छः
-
सिड्नी – २ अक्टोबर २०२५, बिहान ११:३९
-
मेलबर्न – २ अक्टोबर २०२५, बिहान ११:३४
-
ब्रिस्बेन – २ अक्टोबर २०२५, बिहान १०:५४
-
तास्मानिया – २ अक्टोबर २०२५, बिहान १०:५५
-
पर्थ – २ अक्टोबर २०२५, बिहान ०९:२४
-
डार्विन – २ अक्टोबर २०२५, बिहान ११:०६
यस वर्षको दशैं विशेष रूपमा आध्यात्मिक साधना र विश्वव्यापी ध्यान कार्यक्रमसँग समायोजित गरिएको छ।
योगी, प्राध्यापक, खगोलविद् तथा ज्योतिषविद् आचार्य राजन शर्माका अनुसार, दशैं केवल पूजा–पाठमा सीमित राख्नु पर्याप्त छैन; यसलाई साधना, ध्यान, र आत्म–तपस्या सहित मनाउनुपर्ने पर्व हो।
“साधना बिना दशैं ‘दशा–विजय’ हुँदैन। यो आत्मिक तपस्या हुनुपर्छ,” आचार्य शर्मा भन्छन्।
त्यस्तै, ज्योतिषविद् लक्ष्मी बरालले नेपालकै साइतलाई आधार मानेर विश्वभरको मुहूर्त तोक्नु उपयुक्त हुने भन्छन्।
“नेपालको समयको प्रभाव विश्वभर रहन्छ। त्यसैले नेपालकै साइतलाई आधार मानेर मुहूर्त निर्धारण गर्नुपर्छ। उत्तम साइतमा टीका लगाउन सकिन्छ, तर दिनभर वा आसपासमा पनि मिल्छ,” उनले भने।
दुवै ज्योतिषविद्हरूले दशैंको अवसरमा ध्यान, उपवास, मन्त्रजप, र तपस्यासहित पर्वलाई आत्मिक रूपमा मनाउन सबैलाई आह्वान गरेका छन्। 









