समान्य घटना र विवाद बाहेक देशभरका सम्पूर्ण स्थानमा निर्वाचन शान्तिपूर्ण तवरले सम्पन

काठमाडौ- प्रायःजसो कहिकतै समान्य छिटफुट घटना बाहेक देशभरका सम्पूर्ण स्थानमा निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। करिब १६ जिल्लाका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले उत्पन्न विवाद पश्चात् विभिन्न १६ जिल्लाका २८ पालिकाका ४३ मतदानस्थलका ७७ मतदान केन्द्रमा मतदान स्थगित भएको जानकारी दिएको छ ।  उक्त स्थानहरूमा आयोगले अन्यथा निर्देशन दिएमा बाहेक निर्वाचन अधिकृतले मतदान केन्द्रमा पुनः मतदान हुने मिति र समय यथाशीघ्र तोकी सूचना प्रकाशन गरी पुनः मतदान गराउने आयोगको भनाइ छ ।लुम्बिनी र गण्डकी प्रदेशका कुनै पनि मतदान केन्द्रमा मतदान स्थगित नभएको आयोगले जानकारी दिएको छ ।  त्यस्तै मतदान केन्द्रबाट मतगणना स्थलसम्म मतपेटिका ढुवानी कार्य जारी रहेको र मतपेटिका सङ्कलन भइसकेपछि मतगणना यथाशीघ्र सुरु गरिने पनि आयोगको भनाइ छ । आयोगका अनुसार संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा राति ८ बजेसम्म प्राप्त प्रारम्भिक विवरण अनुसार करिब ६० प्रतिशत मतदान भएको छ । विभिन्न ठाउँठाउँमा झडपको अवस्था आएपछि देशका केहि मतदान केन्द्रहरुमा मतदान कार्य नै स्थगित भएको हो । स्थगित भएका स्थानमा निर्वाचन आयोगले नयाँ निर्वाचनको मिति घोषणा गर्नेछ । नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीले सबैभन्दा बढी सुदूरपश्चिमका १० मतदान केन्द्रमा मतदान स्थगित भएको छ । यस्तै प्रदेश १ मा १, मधेस प्रदेशमा ९, बागमती प्रदेशमा ७ स्थानका मतदान केन्द्रमा मतदान स्थगित भएको छ । लुम्बिनी प्रदेशमा भने आज तय भएका सबै स्थानमा मतदान कार्य सम्पन्न भएको छ।केसीका अनुसार कर्णालीका ३ मतदान केन्द्रको पनि मतदान स्थगित भएको छ ।

यसैबीच निर्वाचन पर्यवेक्षण समिति नेपाल (ईओसी नेपाल) ले छिटपुटरुपमा भएका आपसी द्वन्द्व, झडप, झगडा र हिंसात्मक घटना भएको जनाएको छ । समितिले घटनाहरूले पर्यवेक्षकहरूले समेत असुरक्षित महसुस गर्न परेको र भयभीत वातावरणमा पर्यवेक्षण गरेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हुम्ला, बारा, बाजुरा, गोरखा, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिरहा, सर्लाही, बझाङ, रोल्पा, सप्तरी, रौतहट, जुम्ला, तनहुँ, पर्वत, दैलेख लगायतका कतिपय निर्वाचन केन्द्रहरूमा हिंसात्मक घटनाहरू भई प्रहरीहरूद्वारा हवाई फायर नै गर्नुपर्ने अवस्थाहरूको सिर्जना भएको पाइयो, जसले निर्वाचनमा आयोगले प्रचार गरेबमोजिम निर्वाचन सुरक्षामा पनि सवाल उठेको छ । कतिपय स्थानहरू मतदान स्थगन भई फेरी निर्वाचनको दिन तोक्नुपर्ने अवस्था सिर्जना भएको छ ।’ निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार मतदाता र उम्मेदवारमा असल राजनीतिक संस्कार नहुँदा मतदान प्रक्रिया प्रभावित भएको हो ।

सम्बन्धित शिर्षकहरु