काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशमा श्रीलंकाको झैँ आर्थिक संकट आउँछ भनेर नकारात्मक टिप्पणी गर्नु राष्ट्रघात भएको बताएका छन्।
प्रमुख प्रतिपक्षी एमालेले तीन पूर्वअर्थमन्त्रीहरु राखेर पत्रकार सम्मेलन गरेको भोलिपल्ट जवाफ फर्काउँदै शर्माले देश श्रीलंका हुन्छ भन्नु राष्ट्रघात भएको जिकिर गरे।
‘अफवारूलाई जोड्दै जोड्दै देश श्रीलंका हुन्छ भन्नेतिर लग्न खोजिदैछ। तर यो राष्ट्रघात हो । देशलाई राम्रो बनाउनुपर्छ’, उनले भने, ‘श्रीलंका बनाउनतिर किन उहाँहरुको चासो भइरहेको छ, अचम्म लाग्छ।’
उनले तत्कालै वृद्धभत्ता कटौती पनि नहुने बताए। ‘वृद्धभत्ता कटौती गर्न लागेको, अन्य बजेट पनि घटाउन लागेको भन्दै भ्रम फैलाइएको छ’, उनले भने, ‘हामीले आवश्यकताअनुसार बजेट व्यवस्था गरेका छौँ। वृद्धभत्ता कटौती गर्न लाग्यो, यसो गर्न लाग्यो भनेर भ्रम फैलाइयो। यी हल्ला सबै अफवाह हुन्।’
शर्माले ठूलो ठूलो स्वरमा अर्थतन्त्र सकियो भन्दै राजनीतिकरण गर्न खोजिएको बताए। ‘हामी सतर्कता अपनाइरहेका छौँ। यसमा अनावश्यक अफवाह फैलाउनु आवश्यक छैन,’ मन्त्री शर्माले भने, ‘हामीले दिन नसकिने अवस्थामा छैनौँ। अहिले पनि हाम्रो ट्रेजरीमा ६७ अर्ब बचत छ।’








