प्रमोद सापकोटा , ब्रिसवेन।
पाँच वर्षको छोरोले प्रत्येक पटक साउथ ईन्डियन गणेश मन्दिर जाँदा अनेकन प्रश्नहरु गरिरहन्छ।
बाबा मन्दिरमा पुजारिले किन नबुझिने गरि पुजा गर्छ? किन हामीले रातो टीका लगाएको अनि पुजारिले निधारमा सेतो लाइन धर्का बनाएको? पुजारिले टोपी किन नलगाएको? यी यावत प्रश्नहरुको उत्तर मैले उसलाई बुझाइराख्नुपर्छ। अनि प्रत्येक पटक भन्नुपर्छ, बाबु यो मन्दिर साउथ ईन्डियन कम्युनिटिको हो। उनिहरु नेपाली होइनन्। त्यसैले उनिहरु आफ्नै विधि अनुसार पुजा गर्छन्, आफ्नै संस्कार अनुसार चल्छन्।
अनि प्रतिउत्तरमा आउँछ मिलियन डलरको प्रश्न। हाम्रो मन्दिर किन नभाको त?
भन्न त मन थियो। बावु हामी कुरा धेरै गर्छौ। काम थोरै। व्यक्तिगत नाफा घाटा, पद प्रतिष्ठाको मोलमोलाई र केही व्यक्तिहरुको छोटो स्वार्थको हिसाबकिताब गर्दागर्दै एउटा पिँढी अब रिटायर्ड हुन लागीसक्यो। तर त्यसो भन्दा त्यस पिँढीका अग्रजहरु जसले लगनशिल भएर समाजलाई केही
दिने उद्देश्यका साथ अनवरत प्रयास गरिरहे, उनिहरुप्रति अन्याय हुन्थ्यो। मैले त्यसो भनिन।

छोटो उत्तर दिएँ। अब बन्छ। हामी बनाउँछौ र यसको प्रत्येक पाइलाको साक्षी तिमी आफैं हुनेछौ। मन्दिरमा टाँगिने तोरनहरु राख्ने दिनमा तिमी आफैं सहभागी हुनेछौ। शंख घण्टको ध्वनि सुनेर छक्क पर्ने छैनौ।
भन्न त भनिदिएँ। तर गर्ने कसरी? राजनितिक वाद र खेमाको पगरी गुथेर बसेको र आ-आफ्नो व्यवसायमा हामफालेको हाम्रो पुस्ता आफ्ना निहित स्वार्थमा यति धेरै विभाजीत भइसक्यौ कि चार जनाको परिवारका सदष्य
कुनै पार्कमा उभिए भने पनि कुनै संस्थाको भोटरको रुपमा गन्न थाल्छौं।
देश छोडी परदेशी भयौं तर राजनितिको कुसंस्कारको हंश बोकेर प्रेत आत्मा डुलेजस्तो डुलिरहन्छौं। त्यो पनि व्यक्तिगत स्वार्थमा समाजको नाम जोडेर। कुरा एउटा गर्छौं। काम अर्कै। अघिल्लो पुस्ताको आफ्नै दुख थियो। बिरानो ठाउँमा भिडेर खाए। तर हाम्रो पुुस्तामा समस्या छ। हामी नैतिक पतनको बाटोमा छौं।
पैसा कमाउनकै लागि जसो पनि गर्छौं। दुखमा सँगै थालमा खाएका साथीलाई सुखमा नङ्ग्याउन लागि पर्छौं। आफ्नो प्रगतिमा खुसि हुन छोडिसक्यौं, बरु फलानोले किन यति धेरै प्रगति गर्यो भन्दै निन्दो चर्चो गर्छौं। कठै! टाउकामा ग्रयाजुएसनको टोपी लगाएको असाक्षर समाज।
त्यसो त के सबैतिर घनघोर कालो बादल मात्र मडारिएको छ? यसो भन्दा निराशावादि सोचका हिमायतिलाई त ठिकै होला। तर, छैन। केही समय अँधेरो पक्का थियो। राहुले ढाकेको चन्द्रमा जस्तै। तर अब बादल फाट्न खोज्दैछ। कालो बादलको पिँधमा चाँदिका घेराहरु उज्याला छन्। केही समय भने पर्खनु पर्छ। केहि संकेत ब्रिसवेन साउथमा बसोबास गरिरहेका केही मनकारिहरुले गरिसके। एकै दिनमा करिब ६३ हजार डलरको सहयोग रकम संकलन घोषणा गरेर यो अभियान सम्भव छ र हामीले नै गर्ने हो भनेर उदाहरण दिइसके। हुनत, एकै व्यक्तिले एक लाख डलर सहयोग गरेको समाज हो हाम्रो। धन भएर मात्र हुन्न मन पनि चाहिन्छ, सफलताका निम्ति।
के हो त ब्रिसवेनमा कल्चर सेन्टर बनाउने अभियान?

ब्रिसवेनलाई कर्मभुमी बनाएर १९९० को दशकमा अष्ट्रेलिया छिरेका युवाहरुको समुहले करिब १५ वर्ष अघि आफ्नो पहिचान खोज्ने र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले जन्मिएको कम्युनिटि सेन्टरको अवधारणा आजको दिनसम्म आइपुग्दा कल्चर सेन्टरमा परिणत भइसकेको छ।
त्यहि युवाहरुको सामुहिक सोचलाई आजको पुस्ताले अपनत्व ग्रहण गर्दै २०१८ मा क्विन्सल्याण्ड नेपाली कम्युनिटी सेन्टरको रुपमा विधिवत स्थापित यस संस्थाले आजको दिनमा कल्चर सेन्टरको अभियान नै छेडेको भएता पनि लक्ष्य भने अझै कोसौं टाढा छ।
कल्चर सेन्टर बनिसक्दा एक थान पशुपतीनाथको रेप्लिका, एक थान बौद्ध वा स्वयम्भुनाथको रेप्लिका अनि केही सय मानिसहरु अट्ने, नेपाली कला र संस्कृति झल्कने, कम्युनिटि हल सहित केही अफिसहरु बनाउने योजना रहेको छ। यसो भन्दै गर्दा अहिलेको यो डिजाइन नै अन्तिम भने होइन।
कहाँ पुग्यो त अभियान?
१५ वर्ष अघि सोचेर ३ वर्ष अघि यसलाई मुर्तरुप दिने कोसिस गरेपनि लक्ष्य भने अझै टाढा छ। यस प्रोजेक्टको खर्च करिब तीन मिलियन डलर लाग्ने अनुमान गरिएकोमा, विगत केही वर्षमा करिब ३ लाख ५० हजार डलर संकलन भएको छ। अनुमानित करिब १० देखि १५ हजार नेपाली बसोवास गर्ने ठानिएको क्विन्सल्यान्डमा ब्रिसवेन वरिपरि मात्र करिब २ हजार स्थाई बसोवास रहेको जानकारहरुको अनुमान छ। यतिका मानिसहरु बसोवास गर्ने भएतापनि अभियानका बिषयमा सबै सुचना र कंक्रिट योजना नहुँदा करिब १० प्रतिशत पनि यसमा जोड्न सकिएको छैन। केही महिना यता आएको नयाँ कार्यसमितिले भने नयाँ सदष्यहरु बनाउने र कम्युनिटि कन्सलटेसन गर्ने काममा तिव्रता दिएको छ। करिब ४ सय ७० सदष्यहरु बनाउने र पहिलो चरणमा जग्गा किन्ने योजनामा अभियान अघि बढेको छ।
तर विडम्बना, बिगतमा यस अभियानका जोडिएका बुज्रुगहरुले कसले टोपी ढल्काएर खादा लगाउने र कसले पिर्का ओच्छ्याएर सलामी खाने भन्ने हानथापमानै समय खर्चिएको जो कोहिबाट लुकेको छैन।
त्यसमाथी पनि क्विन्सल्याण्मा रहेका माउ संस्था भनीएकाहरुको जुँगाको लडाईं र कसले अभियानको श्रेय लिने भन्ने संस्थागत लडाईंले यस अभियानलाई थिलथिलो बनाएको छ। बिगतमा न त एनआएनए क्विन्सल्याण्डले यस अभियानको लागि नेतृत्वदायि भुमिका लिएको देखियो न त अन्य कुनै संस्थाले।
अबको बाटो के ?
कल्चर सेन्टर चाहिन्छ भन्ने विषयमा अब दुई मत रहेन। तर, कसरी लक्ष्यमा पुग्ने भन्ने विषयमा अझै धेरै गर्न बाँकी छ। पहिलो त यस अभियानमा सबै समुदायको धेरथोर प्रतिनिधित्व रहोस् र त्यो समुदायले यसको अपनत्व लियोस् भन्ने कुरामा अहिलेको नेतृत्वको ध्यान रहनुपर्छ। दोस्रो बदलिएको परिस्थितिमा १५ वर्ष अघि देखेकै भिजनमा चल्नुपर्छ भन्ने मनासिकताबाट अहिलेको नेतृत्व संक्रमित हुनुको अर्थ छैन। तेस्रो झण्डै ७ लाख डलर खर्चेर शहरको छेउछाउमा मन्दिर र कम्युनिटि हल बनाउने योजनाको पुनर्विचार गरिनुपर्छ। बरु शहरि परिवेशबाट केही टाढा भएपनि थोरै खर्चेर धेरै जग्गा लिने गरि भविष्यमा थप्न सकिने योजनाहरुका लागि दुरदर्शि भएर सोच्ने प्रयास गर्नुपर्छ र चौथो अनि अन्तिम यो अभियान सम्पन्न हुँदासम्म अनेकन समस्याहरुको सामना गर्नुपर्छ। त्यसमध्ये एक हो यसको पुँजिगत खर्च कसरी जम्मा गर्ने भन्ने योजना र साथसाथै दैनन्दिन खर्चको जोहो कसो गरि गर्ने भन्ने विषयमा बिस्तृत योजना, बजेट र त्यसको स्रोत निर्धारण। यदि यो विषयमा अहिले नै नसोचिने हो भने यो अभियान सम्पन्न हुन्न, दिवा सपनाबाट हामी सबै ढिलो चाँडो ब्युँझिएकै राम्रो।
के गर्नु उचित हुन्न?
केही समय अगाडि कम्युनिटिसँगको साक्षात्कार कार्यक्रममा व्यक्त बिचारलाई आधार मान्ने हो भने यस अभियानको सम्पन्न लागत करिब ३ मिलियन डलर देखिएको छ जुन आजको दिनमा चाहिने कुल रकम हो। यसको आयस्रोत पनि मेम्बरसिप र दान दातव्य भनिएको छ। तर करिब १५ वर्षको अभियानमा झण्डै ९५ मेम्बर बनाएर उठाएको ३ लाख ५० हजार डलरको गतिमा हुईंकिने हो भने अभियानको लक्ष्य नजिक छैन भन्दा अत्योक्ति नहोला।
यहि उदाहरणलाई मानक मान्ने हो भने पनि अबको बाटो परिवर्तन नगरि अभियान सफल बनाउँछु भन्नु बालुवा पेलेर तेल किकाल्नु मात्र हो।
उसो त जग्गा किन्नकै लागि भनेर को ईन्भष्टमेन्टको अवधारणा पनि सार्वजनिक नगरिएको होइन। अभियानलाई चाहिने जग्गासहित अरु ठूलो परिमाणमा जग्गा खोज्ने र ईन्भेष्टर खोजि जग्गाको खरिद गर्दै किनिएको जग्गालाई टुक्र्याएर अभियानलाई चाहिने जग्गा कित्ता काट गरि बाँकी रहेको जग्गा ईन्भेस्टरले लिने मोडलमा लगभग सहमति भएको भनिएता पनि यस्तो उट्पट्याङ सोचले अभियानलाई दुरगामी क्षति गर्ने निश्चित प्राय छ। यस मोडलको प्रयोग पहिले सिड्निमा गरिसकिएको र असफल भएको उदाहरण दिइराख्नु परोइन। मान्छे सतप्रतिशत नैतिकवान हुन्थे भने पनि यस मोडलले केही मुठ्ठिभर लगानिकर्ताको आँगनमा शंख घण्ट त बज्थ्यो तर त्यहाँ बजाइने शंख घण्टको भारि किन अभियानका मनकारि अभियानकर्ताले लिने? प्रश्न अनुत्तरित नै छ।
लोभि पापी भएकै समाज हो हाम्रो, सत्ययुगिन सोच राख्दापनि मनमा पाप पलाउँदैन भन्ने सोच्नु वृन्दावनकालिन समयको विचरणसँग तुलना गर्नु हो। त्यो कल्पना सायद सायनकालमा त गजब नै होला। यथार्थमा भने फरक र तितो हुन सक्छ।
विकल्प के?
अबको विकल्पहरु धेरै हुन सक्छन् जसलाई स्वार्थको साँघुरो घेरामा बसेर हेरिनु अभियानको लागि त घातक हुन्छ नै, यसले अभियानकर्ताको बचेको विश्वाश र त्यागलाई पनि माटोमा मिलाइदिन्छ।
पहिलो, दान वा दातव्यले अभियान सुरुवात गर्ने हो। तर यसमै टेकेर सम्पन्न गर्ने लक्ष्य राख्नु भागवत सप्ताह लगाएर रंगशाला बनाउनुभन्दा घातक हुन्छ।
लक्ष्य प्राप्तिका लागी चाहिने रकम लाइफ मेम्बरसिपको वृद्धिले मात्र सम्भव छैन। संस्थागत मेम्बरसिपमा जोड नदिने हो भने तातेको मेम्बरसिप अभियान स्वत: चिसिँदै जानेछ। त्यस्तै एनआरएनए जस्तो संस्थाले आफुलाई सच्याएर यसको अपनत्व नलिने र जुँगाको लडाँइ लडिरहने हो भने यसको राजनितिक प्रेतले तर्सिएका नेपालीले भोलिको दिनमा विश्वव्यापी यो सञ्जाललाई अझै बढि तिरस्कृत नगर्लान् भन्न सकिन्न।
अन्त्यमा, यस अभियानले सार्थकता पाउन केवल दुई कामलाई प्राथमिकतामा राख्दा हुन्छ, पहिलो नेपाली समुदायका प्रत्येक व्यक्तिको अभियानप्रतिको ममत्व वा अपनत्वमा वृद्धि गर्ने र प्रत्येक पाइलामा उनिहरुलाई संलग्न गराइरहने र दोस्रो स्रोतको व्यवस्थापनमा ध्यान दिने। यसक्रममा आर्थिक स्रोतको प्रश्न असाध्यै पेचिलो रहन्छ। जग्गा खरिद गरेदेखि यो अभियान सम्पन्न हुँदासम्म निकै धनराशि आवश्यक पर्छ। अहिले सोचेभन्दा धेरै। यस्ता काममा पछि भइपरिआउने खर्चको विवरण पनि लामै हुन्छन्। अभियान सम्पन्न भएपछि पनि यसको चालू खर्च धान्ने स्रोतको बारेमा खास अध्ययन भएको नदेखिएपनि खर्च हुने कुरामा दुई मत छैन। त्यसैले यसको सम्पन्नतासँगै यसको रेखदेख र चालू आर्थिक भार यसै प्रोजेक्टले धान्नुपर्छ। कल्चर सेन्टर आफैं आत्मनिर्भर नभएमा प्रोजेक्ट सम्पन्न भइसकेपनि कल्चर सेन्टर कालान्तरमा जीवित रहँदैन र आजको यो परिश्रमको कुनै महत्व रहन्न। ढुक्क भए हुन्छ।








