–शान्ति भण्डारी
काठमाडौँ । कोरोना सङ्क्रमित तथा रूघा, खोकी, ज्वरो, फ्लु रोगीमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्विमा उपयोगी हुने गुर्जोसहितको धुलो औषधी एवं चिया (काँढा) ३१ जिल्लाका ११० स्थानबाट निःशुल्क वितरण भइरहेको छ ।
आयुर्वेद चिकित्सक तथा विज्ञको परामर्शमा तयार गरी गुर्जो अभियानकर्मी आन्तरिक राजश्व विभाग धुलिखेलका कार्यालय प्रमुख कमलबहादुर राजलवटले ३१ जिल्लाका ११० स्थानबाट निःशुल्क रुपमा गुर्जोका औषधी निःशुल्क वितरणको व्यवस्था मिलाउनुभएको हो । आयुर्वेद चिकित्सक डा ऋषिराम कोइराला, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरका कार्यकारी निर्देशक डा रामआधार यादवलगायत चिकित्सकको सल्लाहमा ४८ प्रकारका जडिबुटीबाट यो औषधी तयार पारिएको हो ।
नयाँ भेरियन्टसहितको कोरोनाको सङ्क्रमण फैलिएका बेला रोगबाट बच्न आयुर्वेदिक गुण युक्त वनस्पति गुर्जोका परिकार सेवन गर्नेको सङ्ख्या बढ्न थालेको छ । कोरोना पोजेटिभ भएका मानिसले पनि गुर्जोका परिकार सेवन गर्न थालेपछि रिपोर्ट नेगेटिभ आएको अनुभव सुनाएका छन् ।
कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा आइसोलेसनमा राखिएका कोरोना पोजेटिभलगायतलाई गुर्जोलगायत जडिबुटीकै सेवन गराउने गरिएको कार्यकारी निर्देशक यादवले सुनाउनुभयो । यी केन्द्रमा बिहान बेलुका प्राणायाम, योग र ध्यानसमेत गराइन्छ । यो विधिबाट उपचार गर्दा बिरामी ठीक भएर फर्कने गरेको उहाँको भनाई छ ।
राजलवटले विसं २०७६ चैतमा नेपालमा कोरोना सङ्क्रमित देखिएदेखि नै गुर्जोका बिरुवा, धुलो, औषधी र चिया निःशुल्क वितरण गर्दै आउनुभएको छ । यसअघि राजश्व कार्यालय लाहानको प्रमुख रहनुभएका राजलवटले त्यहाँको सरकारी निवास परिसरमा गुर्जोका बिरुवा उत्पादन गरी देशव्यापी रुपमा वितरण शुरु गर्नुभएको हो ।
हालसम्म एक लाख ६० हजारभन्दा बढी गुर्जोका बिरुवा वितरण गरिएको उहाँले सुनाउनुभयो । त्यति नै सङ्ख्यामा गुर्जोबाट बनेको चिया र धुलो पनि निःशुल्क वितरण गरिएको छ । सार्वजनिक स्थलमा हुने कार्यक्रममा निःशुल्क गुर्जोको चियासमेत करिब दुई लाख मानिसलाई खुवाइएको राजलवट बताउनुहुन्छ । गुर्जोका परिकारले कब्जियत हटाउने, तरोताजा एवं स्फूर्तिसमेत बढाउने सेवनकर्ताको अनुभव छ ।
यस्तै महत्वको औषधी भएकाले एक घरमा अनिवार्य रुपमा एउटा गुर्जोको बिरुवा रोपे धेरै रोगका लागि औषधीको काम गर्ने, नियमित सेवनले मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने आयुर्वेद चिकित्सक डा शेषराज आचार्य बताउनुहुन्छ ।
आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तो ः तस्य तद् औषधं हितम्’ अर्थात् जुन स्थानमा मानिस जन्मन्छ, उसलाई औषधीको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने सिद्धान्तका आधारमा गुर्जोजस्ता ओषधीय गुणले युक्त वनस्पतिको संरक्षण गरिनुपर्ने उहाँले बताउनुयो । हिमालयका काखमा रहेको नेपाली वनपाखामा धेरै किसिमका औषधीय गुणले युक्त जडिबुटी एवं वनस्पति भएपनि तिनको सदुपयोग हुन सकेको छैन । कतिपय जडिबुटी, वनस्पति चोरी निकासी भई त्यसमा रासायनिक पदार्थ मिलाएर बनाइएको आधुनिक औषधी नेपालमा भित्रने गरेको अभियानकर्मीको गुनासो छ ।
आयुर्वेद अस्पताल र औषधालयलाई प्रवद्र्धन गर्न खोज अनुसन्धानमा जोड दिनुपर्ने चिकित्सक आचार्यको भनाई छ । आयुर्वेद औषधी उत्पादन गर्ने सिंहदरबार वैद्यखाना विकास समितिसमेत निरन्तर ओरालो लागेकाले सरोकार भएका निकायको ध्यान जानुपर्ने अभियानकर्मीको माग छ ।
यस वर्ष पनि शुरु भयो गुर्जो रोपण अभियान
विगत वर्षजस्तै यस वर्ष पनि अभियानकर्मी राजलवट गुर्जोका बिरुवा उत्वपादन गरी सार्वजनिकस्थलमा निःशुल्क रुपमा रोप्ने अभियान शुरु गर्नुभएको छ । जस अन्तर्गत आज राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरमा गुर्जोका बेर्ना रोप्न हस्तान्तरण गरिएको छ । केन्द्रमा १५० वटा गुर्जोका बिरुवा रोपिएको छ ।
वातावरण दिवसका अवसरमा शनिबार मनोहरा नदी किनारमा १०० वटा गुर्जोका बिरुवा रोपिएको थियो । मनोहरा नदी सफाइ अभियानकर्मी एवं स्थानीयवासीले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर भौतिक दूरी कायम गरी गुर्जोका बिरुवा रोपिएको हो । विगतवर्ष जस्तै गुर्जोका बिरुवाको माग बढेको छ ।
पशुपतिमा गुर्जो रोपण
पशुपति क्षेत्रको खाली स्थानमा रोग प्रतिरोधी क्षमताले युक्त बहुगुण भएको वनस्पति गुर्जोका बिरुवा रोप्ने अभियान शुरु भएको छ ।
अभियानको पहिलो पशुपति क्षेत्र विकास कोषको कार्यालयमा ५०० बिरुवा रोपिएको छ । गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले उपलब्ध गराउनुभएको ५०० बिरुवा कोषको कार्यालय परिसरमा रोपिएको हो । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाही, कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडालगायतले गुर्जो बहु उपयोगी वनस्पति भएकाले कोरोना महामारीका बेला रोग प्रतिरोधी क्षमता विकास गर्न उपयोगी हुनेमा जोड दिनुभयो ।
गुर्जो रोपण कार्यक्रमको समन्वय वाग्मती सफाइ अभियानकर्मी डा.माला खरेल र पूर्व सहसचिव तथा योग गुरु किशोर जोशीले गर्नु भएको थियो । आइतबार पनि पशुपति क्षेत्रको वनकालीमा गुर्जो रोप्ने कार्यक्रम रहेको जनाइएको छ । पशुपति क्षेत्रका खाली स्थानमा क्रमश ः गुर्जो रोपण गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ ।
पशुपति क्षेत्रमा गुर्जो रोपणसँगै गुर्जोबाट बनेको चिया, धुलो औषधी पनि निःशुल्क वितरण गरिएको थियो । अभियानकर्मी राजलवट विसं २०७६ चैतमा कोरोना महामारी फैलिएसँगै गुर्जो रोपण एवं यसबाट बनेका परिकारलाई निःशुल्क वितरण गर्ने अभियानलाई तीव्रता दिँदै आउनुभएको छ । गुर्जोबाट बनेका परिकारको माग तीव्र भइरहेकाले एक घर एक गुर्जो रोपण अभियान चलाइएको अभियानकर्मी राजलवट बताउनुहुन्छ ।
‘यस्य देशस्य यो जन्तो ः तस्य तद् औषधं हितम्’ अर्थात् मानिसलाई त्यही स्थानको जडिबुटीले औषधिको काम गर्छ भन्ने आयुर्वेदशास्त्रको वचन अनुसार बहुगुणी वनस्पति गुर्जो रोपण अभियानलाई तीव्रता दिइएको अभियानकर्मी राजलवटले सुनाउनुभयो । उहाँले गत वर्ष पनि एक लाख ६० हजार गुर्जोका बिरुवा रोप्नका लागि निःशुल्क वितरण गर्नुभएको थियो ।
आन्तरिक राजश्व कार्यालय लाहानको कार्यालय प्रमुख हुँदा त्यहाँको सरकारी आवास क्षेत्रमा बिरुवा उत्पादन गरी उहाँले देशव्यापी रुपमा निःशुल्क वितरण अभियान चलाउनुभएको थियो । हाल आन्तरिक राजश्व कार्यालय धुलिखेलको प्रमुख भई आउनुभएका राजलवटले यो अभियानलाई निरन्तरता दिनुभएको छ ।
गुर्जोलगायत वनस्पतिबाट बनेका चिया, धुलोको माग कोरोना बढेका बेला अत्यधिक हुने गरेको छ । शरीरमा रोग प्रतिरोधी क्षमता विकास गरी कोरोना हटाउन यसले मद्दत गरेको अधिकांशत सेवनकर्ताको अनुभव छ । 








