मन देखि नै खुलेर हाँस्दा हुन्छन यति धेरै स्वास्थ्य लाभ

मन देखि नै आनंद पूर्वक खुलेर हाँस्दा हाम्रो स्वास्थ्यमा निकै लाभ हुने गर्दछ । तर विडम्बना हामीले हास्न सम्म बिर्सिसक्यौ । हरेक दिनको भागदौड मै अल्झिरहनु छ अहिलेको हरेक मान्छेलाई ठुला सपना देख्दै भौतारिरहनु बाहेक अन्य कुनै फुर्सद नै छैन। परिस्थिति जे जस्तो भए पनि हामीले निर्धक्क भएर हास्न भने जिवनमा कहिल्यै भुल्नु हुदैन।हरेक पलपलमा आनंदका साथ खुसी हुनु धेरै रोगहरूलाई टाढा राख्नका लागि सबैभन्दा सजिलो र प्रभावकारी तरिका हो । तर आजको व्यस्त जीवनमा करियर र पारिवारिक जिम्मेवारी, कामको बोझ, बढ्दो दूरी र एक्लोपनले जीवनबाट हाँसो हराएको छ । बिभिन्न अध्ययन अनुसन्धान हरुले हास्नु स्वास्थ्यका लागि निकै महत्त्वपूर्ण भएको कुरा पुष्टि गरेका छन।

जहाँ विश्वका धेरै अनुसन्धानमा हाँस्नु एक प्रकारको उपचार हो भन्ने कुरा बाहिर आएको छ । जुन प्रभावकारी र वैज्ञानिक रूपमा पनि प्रमाणित छ । खुलेर हाँस्दा मुटुका धमनीहरू फैलिन्छ, जसका कारण शरीरमा रक्तसञ्चार तीव्र हुन्छ । यति मात्र होइन, हाँस्दा हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ र यसले शरीरमा एन्टिबडीलाई पनि बलियो बनाउँछ । हाँस्नाले शारीरिक र मानसिक रूपमा मात्र नभई भावनात्मक रूपमा पनि स्वस्थ राख्छ । जब हामी हाँस्छौं, हाम्रो दिमागमा अर्को कुनै विचार आउँदैन । खुलेर हाँस्दा शरीरमा ऊर्जाको मात्रा बढ्छ र तनाव र दुखाइ कम हुन्छ । हामीले सधैं आफुलाई स्वस्थ राख्न मानसिक स्थिति सकारात्मक राख्नु जरुरी छ । हरेक क्षण खुलेर खुशी साथ हास्दा हाम्रो स्वास्थ्यमा निकै फाइदा पुग्छ ।
मस्तसँग हाँस्दा फोक्सोमा अक्सिजनको मात्रा बढ्ने भएकोले हाम्रो फोक्सोले राम्रोसँग काम गर्छ । शरिरका सम्पूर्ण मांसपेशीहरुलाई आराम मिल्छ । शरीरको प्रतिरक्षा प्रणाली र रक्त संचार प्रणाली बलियो हुन्छ । शरीरमा एन्डोर्फिन (आनन्द महसुस गर्ने हर्मोन) को स्राव द्रुत हुन्छ । यसलाई प्राकृतिक पेनकिलर पनि मानिन्छ । त्यस्तै मुटु र मस्तिष्कको काम राम्रो हुन्छ । खुशी साथ हाँस्दा रक्तचाप सन्तुलन कायम रहन्छ । हाम्रो शरीरमा दुखाइ सहन सक्ने क्षमता बढाउँछ । मानसिक तनाव कम हुन्छ, राम्ररी निद्रा लाग्छ । हाम्रो जीवनलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन्छ । हाँसोले हामीलाई सधैं सकारात्मक जिवन यापन गर्न अभिप्रेरित गर्छ ।

हाँसो ध्यानले शरीरको विभिन्न चालहरूमा समन्वय सुधार गरेर मानसिक एकाग्रता बढाउँछ । स्वस्थ र खुसी हुनका लागि हाम्रा भावनाहरूलाई सही दिशामा लैजान आवश्यक छ । लाफ्टर मेडिटेसनले हामी भित्रको खुसी मात्र बाहिर ल्याउँदैन, दुःख, क्रोध, डर जस्ता भावनाहरू पनि बाहिर निस्कन्छन् । तर यी भावनाहरूलाई बाहिर निकाल्नको लागि हाँसो ध्यान गरेपछि केही समय शान्त र मौन बस्नुपर्छ । यसले विचार र भावनाहरू बुझ्न पनि मद्दत गर्दछ ।

लाफ्टर मेडिटेसन गर्दा यसरी गर्नुस।
लाफ्टर मेडिटेसन गर्ने केही प्रविधिहरू छन्। यसलाई बसेर वा उभिएर पनि गर्न सकिन्छ। १० देखि १५ मिनेट यसको लागि पर्याप्त समय हो । अब तपाईंले गर्नु पर्ने भनेको खुलेर हाँस्नु हो र आफ्नो ध्यान हाँसोमा केन्द्रित गर्नुहोस् । ध्यान राख्नुहोस् कि यो ध्यान ठूलो हाँसोबाट सुरु हुन्छ तर मौनतामा समाप्त गर्नुपर्छ । लाफ्टर मेडिटेसन गर्दा, पहिलो १० मिनेट खुलेर हाँस्नुहुन्छ र त्यो हाँसोमा पूर्णतया तल्लीन हुनुहुन्छ । पाँच मिनेटपछि, पूर्ण मौन बस्नुहोस् र यो मौनता महसुस गर्नुहोस् । यसलाई नियमित रूपमा गर्नुहुन्छ भने असाधारण अनुभव हुनेछ । नियमित यो अभ्यास गर्दै जादा निश्चित रूपमा केहि परिवर्तन भएको अनुभुति हुनेछ । [Ausnepalnews:Kathmandu ]

सम्बन्धित शिर्षकहरु