काठमाडौं । केही दिन यता भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३ लाख ५४ हजार ५३१ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो ।
यसअघि (आइतबार ) वैशाख १२ मा भारतमा ३ लाख ४९ हजार ३१३ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ७३ लाख ६ हजार ३०० पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ४२ लाख ९६ हजार ६४० जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २८ लाख १४ हजार ५४४ छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ९५ हजार ११६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २ हजार ८०६ जनाको मृत्यु भएको छ ।
दिल्लीमा मात्रै ३५० को मृत्यु
भारतको राजधानी नयाँ दिल्लीमा मात्रै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणले ३५० जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप २२ हजार ९१३ जनामा नयाँ संक्रमित थपिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । संक्रमण बढेपछि दिल्लीमा लकडाउन लम्ब्याइएको छ ।
कोरोना सङ्क्रमण बढेपछि भारतको महाराष्ट्र राज्यमा पूर्ण लकडाउन घोषणा गरिएको छ । आउँदो मे १ तारिखसम्मका लागि लकडाउन घोषणा गरिएको हो । संक्रमणमा दैनिक नयाँ रेकर्ड हुँदै गएको भारतमा केरला, उत्तर प्रदेश, दिल्ली, गुजरातलगायत राज्य सबैभन्दा धेरै प्रभावित भएका छन् ।








