
लोक दोहोरी
(चारैतिर हरियाली, न्यानो घाम लागिरहेको; वर्षेनी लाग्ने कालीमाईको मेलामा यसपालि पनि सँगी लिएर आइपुगिन् देवी । उता केटापट्टि पनि झलक आफ्ना टोलीसित पलेटी कसेर कस्सिए दोहोरी गाउन । मादलको तालसँगै शुरू भयो रमाइलो) –
केटा – हे.. हुन्छ भन माया, सातै खोला तर्दिम्ला’
तिम्रै भर पर्दिम्ला’
केटी – हा.. पैलै’ ला’को मलाई, नजरैको बानैले
ती आँखाको सानैले
केटा – हे.. जति हेर्छु तिम्लाई, राम्री देख्छु मैले त
काँ ‘थ्यौ भन पैले त
केटी – हा.. हाम्रो गाउँ त धाका तिम्रै गाउँको मुन्तिर
खोज्दै हिंड्यौ कुन तिर
केटा – हे.. नजिक फूलले रै’छ, मग-मग बसा’को
यो हृदय नै रसा’को
केटी – हा.. धेरै छन् है कान्छा, जोवन देखी पछ्याउने
हिन्दा फूलै दछ्याउने
केटा – हे.. फूल मात्र हैन, परे ज्यानै चढाउँला
चन्चले मन अडाउँला
केटी – हा.. मुखले सबै ठीक्क, कसरी पो पत्याउने
यो मन त्यसै अत्याउने
केटा – हे.. बोल्दैन है झुटा, जमदार बा’को नातिले
यो हित गर्ने साथीले
केटी – हा.. बाचा-कशम गरी, अहिले माया बसाउने
हो कि पछि फसाउने
केटा – हे.. खान्छु मैले कशम, कुलदेउतालाई भाकेर
लान्छु शिरमा राखेर
केटी – हा.. मान्छे तिमी भरको, अरूबाटै भेउ पा’छु
त्यहीं भएरै छेउ आ’छु
केटा – हे.. बल्ल बोल्यौ माया, यो मुटुलाई छोएर
मनको पीरै धोएर
केटी – हा.. अहिले पुषै लाग्यो, घरमा कुरो चलाउँला
माघमा जग्गे जलाउँला
केटा – हे.. आउँला अनि म ‘नि, मामाज्यूलाई लिएर
जाउँला सगुन दिएर
केटी – हा.. धाकाकी यो चेली, टिम्केडाँडा जाउँला नि
चोखो माया लाउँला नि …
*************************************************************************
- प्रविण टण्डन “वसन्तप्रवीण”
सुझाव/प्रतिक्रियाका लागि: basantaprabin@gmail.com






