अनेसासको विश्वव्यापी कविता प्रतियोगितामा राधिका गुरागाई प्रथम

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आयोजना गरेको विश्वव्यापी खुल्ला ‘अनेसास अन्तर्राष्ट्रिय कविता प्रतियोगिता’ मा विराटनगर निवासी कवि राधिका गुरागाईँ प्रथम भएकी छन् । यसैगरी उदयपुरका कवि जीवन आरोही दोस्रो र झापाका कवि केशव भट्टराई तृतीय भएका छन् ।

गुरागाईँको कविता “इन्द्रेणी सपनाहरू”, आरोहीको कविता “निमन्त्रणा” र भट्टराईको कविता “पर्खाई” क्रमशः प्रथम, द्वतीय र तृतीत भएका हुन् ।

यसैगरी खोटाङ निवासी कवि शुभचन्द्र राई चौथो र अमेरिका निवासी कवि कल्पना तामाङ पाँचौ स्थानमा रहेर पुरस्कृत भएका छन् । कवि राईको कविता “कथाको पात्र” र कवि तामाङको कविता “विभेदको पानी” पुरस्कृत भएका हुन् ।

यस प्रतियोगितामा पुरस्कारका रूपमा प्रथमलाई नगद ५०० यु.एस.डलर, दोस्रो हुनेलाई नगद ३०० यु. एस. डलर, तेस्रो हुनेलाई नगद २०० यु. एस. डलर र चौथो र पाँचौ हुनेलाई नगद १००/ १०० यु. एस.  डलर र प्रमाणपत्रसमेतको व्यवस्था गरिएको जानकारी वर्तमान अध्यक्ष प्रकाश पौडेल माइलाले  बताए ।

वरिष्ठ कवि मातृका पोखरेल, प्राज्ञ डा. देवी नेपाल र समालोचक ज्ञानु अधिकारी निर्णायक रहेको सो प्रतियोगितामा २५० जति कविताहरू प्राप्त भएको जानकारी प्रतियोगिताका संयोजक एवं अनेसास केन्द्रीय समितिका निवर्तमान अध्यक्ष राधेश्याम लेकालीले जनाए ।

अनेसासको विश्वव्यापी कविता प्रतियोगिताका पुरस्कार विजेताहरु । तस्विर: शब्दपथ

उक्त प्रतियोगितामा प्रथम पुरस्कारको रकम तीर्थराज अधिकारी, दोस्रोको भीमसेन सापकोटा, तेस्रोको लागि प्रकाश पौडेल माइला, चौथोको लागि गोवर्धन पूजा र पाँचौको लागि राजेन्द्र श्रेष्ठले प्रायोजन गरेका हुन् । सस्थाका वरिष्ठ उपाध्यक्ष गोवर्धन पूजाले यथाशिघ्र कार्यक्रमको आयोजना गरेर पुरस्कार समर्पण कार्यक्रमको आयोजना गरिने जानकारी गराउनु भएको छ ।

विश्वभरी नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विषम परिस्थिति अवस्थामा अनेसासले आयोजना गर्ने अन्तर्राष्ट्रिय सम्मेलनहरु स्थगित गर्दै यो कविता प्रतियोगिताको आयोजनाको घोषणा गरेको थियो ।

यो प्रतियोगितालाई पारदर्शी बनाउन निर्णायकहरूबीच नै आपसी जानकारी नदिइएको, कविको नाम छोपेर कविता उपलब्ध गराइएको र संस्थाभित्र नै पनि निर्णायकहरूको नाम गोप्य राखिएको जानकारी गराउँदै संयोजक लेकालीले भने, “पुरस्कार प्रायोजकहरु, कार्यसमितिका पदाधिकारीहरु, निर्णायक समितिका सदस्यहरु जुममार्फत् भेला भएर नतिजा निकालिएको थियो । सम्भव त यस्तो परिपाटी पहिलो हो ।”
केशव भट्टराई

सो जुम भेलामा क्रमशः ट्रस्टी कार्यसमिति सदस्य तीर्थराज अधिकारी, निवर्तमान उपाध्यक्ष भीमसेन सापकोटासहित संस्थाका उपाध्यक्षहरू राजेन्द्र श्रेष्ठ र राजेश बुढाथोकी, सचिव विमला निरौला, कोषाध्यक्ष कृष्ण गिरी, सदस्यहरू निजानन्द मल्ल, डा। रेणुका थापा सोलु, दीप पाठक, प्रमोद सारङसमेतको उपस्थिति रहेको थियो ।

यस “अनेसास अन्तर्राष्ट्रिय कविता प्रतियोगिता” मा भाग लिन गत ३० जेठ २०७७ सम्म म्याद तोकिएको थियो ।

पुरस्कृत कविताहरू

~०~०~०~०~
(१) इन्द्रेणी सपनाहरू

कवि: राधिका गुरागाँई

रङहरुको आकाशले
आकार बदलिएपछि
उत्साहको ईन्द्रेणी रङ्ग पनि
ओझेल पर्दोरहेछ
हिउँको घुम्टो ओढेको पहाड
आँशु बनेर पग्लिएपछि
ढुंगाको पहरो पनि प्रष्टिदै जाँदोरहेछ

तिम्रो आफ्नै कर्मले
प्रकृति बिथोलिएको
यो अप्रिय प्रहरमा
नदेख्नु प्रिय कुनै मीठो सपना
नगुमाउनु ऊसंगको अग्लो विश्वास
नगाउनु जीवनको त्यो लयबद्ध मधुर गीत
बरु नियाल्नु
लाशहरुको पहाड अनि
खोज्नु आफ्नै सारङ्गीका तारहरुमा
वियोगको नुनिलो आँशुले मुछिएको
शोक धून

प्रिय कवि
कहिले नलेख्नु मनको कलमले
फूल टिपेर बोट नङ्गयाउने कथाहरु
नरङ्गयाउनु कहिले क्यानभासमा
मान्छेका आकार बदल्ने तस्वीरहरु
यी अक्षरहरुका बिहानीमा
मैले नियालेकी छु
घामका उज्याला किरणहरु
सुम्सुमाएकी छु
कवितामा सुन्दर बिम्बहरु

तिमी शब्दको संघारमा डुब्दैजाँदा
म बगीरहन्छु पानी जस्तै भएर
किनारै किनार
आखिर जीवन भनेको बग्नु नै त रहेछ
जसरी बग्छन्
पृथ्वीमा नदी र नदीमा डुंगाहरु
जसरी बग्छन् पहराहरुमा
छाँगा र छहराहरु
जसरी बग्छन्
जीवनको जस्केलाबाट
विक्षिप्त मनका छालहरू

प्रिय कवि
अब तिमीले लेखिदिनु
प्रकृतिका नवीन नियमहरू
सजाईदिनु टिपेर ईन्द्रेणीको बैजनी रङ्ग
हटाउँदै धर्तीको तुँवालो र
कोरिदिनु गुराँसको लालीले
शालीन प्रकृतिको समृद्धि मानचित्र
शालीन प्रकृतिको समृद्धि मानचित्र।
०००००

(२) निमन्त्रणा
कवि : जीवन आरोही

तिमी आउँदा
सँगसगै लिएर आउनु
ओठमा मुस्कान
र मस्तिस्कमा उज्यालो सपना ।

आउँदा
छातीमा नक्सा छिपेर गाउँको
कोरिदिनु पुरातन पत्थरको छातीमा
उज्यालो हिड्ने स–साना गोरेटोहरु,
प्रतिफलमा सोध्नेछन् कर्णधार पाइलाहरुले
तिम्रो यात्राको सौन्दर्य ।

आउँदा,
थाक्यो भने गोडा,
लाग्यो भने थकान,
सखारै काँधमा हलो बोकेर बेसी झरिरहेका
ईश्वरहरु सम्झनु ।
सम्झनु, आमाको आँसूको आशिर्वाद ।
पछ्याउँदै नदी जस्तो सफर,
सम्झँदै, चराहरुले जसरि घरको ठेगाना ।
नबिर्सि आईपुग्नु तिम्रो गन्तब्य ।
तिमीले ठेगाना बिर्सियौ भने
बिर्सिनेछ, खेतबारीले अनाजसँगको प्रेम,
केटाकेटीहरुले बिर्सिनेछ, पाठशालाको बाटो,
र कर्णधार आँखाहरुले बिर्सनेछ
सहिदको सपना ।
जसरि बिर्सन्छ बिरक्तिएका चराहरुले
आफ्नो घर र देश ।

तिमी आउँदा
गाउँ–बेसी गरिरहेकै हुनेछन्
असार रोपिरहेका किसानहरु ।
घरको पिढीमा तिम्रै बाटो हेरिरहेका हुनेछन्
घरका बृद्ध घाम–जूनहरुले ।
र पाठशाला गईरहेकै हुनेछ –केटाकेटीहरु ।
तर निःशर्त गाउँ फर्किरहेको हुनु पर्नेछ
देश छाडेर हिँडेका पाइतालाहरु ।
तिमी आएपछि–
पछ्याउँदै आउनेछ
घर, आगनीमा घाम, जूनहरुको उज्यालो ।
खोलाहरु,
कुलो भयर आउनेछ खेतसम्म,
र सुरु हुनेछ अनाजसँग माटोको प्रेम ।
पाखुरीमा रोप्नु अलिकति जाँगर
र फलाउनु छातीमा यो ब्रम्हाण्ड जस्तो फल
हामीले उज्यालो खोजिरहनु पर्दैन,
आफ्नै आँखाको क्षितिजमा घाम उदाउनेछ ।

हो तिमी आउँदा
सँगसगै लिएर आउनु
ओठमा मुस्कान
र उज्यालो सपना,
बर्षौँ देखी तिमीलाई पर्खिरहेको मुस्कान
तिम्रै आमाको हो ।
०००००

(३) पर्खाइ
कवि : केशव भट्टराई

दु:खका गह्रुङ्गा हातहरूले थिचेर
उडी गएपछि तिमी – सात समुन्द्रपारि
एकछिन त यस्तो लाग्यो –
कि गएका हौ , तिमी
वायु पङ्खी घोडा चढेर
फोडेर स्फटिकको खम्बा
झट्टै फर्किने छौ तिमी – खुसीहरू लिएर ।

बैँसलाई समयको काखमा सुताएर
उडी गएपछि तिमी
छिनछिन जोडिएर बनेको – युगको हरेकछिन
तिम्रो स्वागतार्थ
पर्खिरहेछ समय – तिमीलाई यहीँ
जहाँ छोडेर तिमीले – तिमीलाई
बोकेर गएका थियौ
हाम्रो सपनाको लामो फेहरिस्त ।

सेता कल्पनाका प्वाँखहरु जोडेर
उडी गएपछि तिमी
तिमीसँगै उडी गएको गौथली
हजारौँ साँझ फर्कि सक्यो यहाँ
जहाँ छोडेर मिठो निन्द्रा
बोकी गएका थियौ
हाम्रो बेचैनी तिमी ।

जानेहरू फर्किनेछन भन्ने आशमा

उडी गए पनि तिमी
फिकाफिका लालीगुराँसको – लाली
तिम्रै मुस्कानको रङ पर्खिरहेछ ।

फिकाफिका देउसीका – सातै सूर
तिम्रै आवाजको रङ पर्खिरहेछन ।

छन फूलहरू सुगन्धबिना
तिम्रै पसिनाको रङ पर्खिरहेछन ।

चाहदा नचाहदै कोदालोमा लागेका खियाहरू
खोजिरहेछन् तिम्रै पाखुराको स्पर्श

तिमीले चौतारीमा गट्टा खेलेका ढुङ्गाहरू
देवता भएका छन् र पर्खिरहेछन्
तिम्रो शिर आशीर्वादका लागि

जानेहरू फर्किनेछन भन्ने आशमा
देशले तिम्रो स्वागतार्थ – सगरमाथा उभ्याएको छ ।
धर्तीमा समृध्दिका सेता प्वाँखहरु पलाएका छन् ।
०००००

(४)कथाकाे पात्र
कवि :-शुभचन्द्र राई।

साँझ पर्नुअघिनै
याे उज्यालाेकाे विउ
पुर्याइसक्नु छ पहाडकाे टुप्पाेमा।
जस्ले देखावस्
कलिलाे घामलाई मेराे गाउँसम्म अाइपुग्ने बाटाे।
उज्यालाे जुनलाई
देवस् मेराे अँध्यारो अागनकाे ठेगाना।

फेरि
अँध्याराे नझर्दै धर्तिमा
जलाइसक्नु छ विद्राेहकाे राँकाे

यात्रा तय गर्नु छ मुक्तिकाे सिविरसम्म।


तपाईंकाे निन्द्रा नखुल्दै मैले
सिकिसक्नु छ
-सपना देख्ने तरिका
-विपना बाँच्नुकाे महत्व
-बाटाेकाे लय
-माटाेकाे सुगन्ध
-स्वतन्त्रताकाे स्वाद
-उज्यालोकाे गित।

तपाइँलाई मेराे याेजना
कथाजस्ताे लाग्नसक्छ।
तर
म कथा हैन कथाकाे पात्र हुँ।

महासय!
हाेस् गर्नुस्!
मेरा यी सपनाहरु पूरा गर्न

छिर्न सक्छु तपाईंको कथामा पनि।
०००

(५) विभेदको पानी

कवि : कल्पना तामाङ

केही प्रश्नहरू बोकेर
म यतिबेला छु
नीलै नीलो बग्ने पवित्र पानीको आँगनमा

कसलाई सोधुँ ?
आकाशको नीलो रङमा कसले सल्कायो आगो ?
र प्रेम बहनु पर्ने हावामा
किन क्रोधको फिलुङ्गाहरू बहन्छन ?

अगेनोको एउटै कोखबाट जन्मिएर पनि
खरानीको फूल किन फुल्छ सेतो सधैँ
र किन कालै रहन्छ अंगारको अाकार?

असत्यकाे अाडमा उभिएर किन सत्य ढलपल छ ?
र किन वास्विकता बगाएर चुपचाप छ,
भेरीको रङ्गहिन पानी ?

एउटा आगो
जो स्वयम् जलेर पनि, जलाउनु पर्ने थियो बेथिती
खरानी पार्नु पर्ने थियो असमानताको ढोड
र उज्यालो पार्नुपर्ने थियो घर

तर किन गरी रहेछन् आफ्नै शीर छेदन
र किन गरीरहेछन् घमण्डकाे यज्ञमा बली ?
भातृत्वलाई किन
दिई रहेछन् अावेगकाे अागाेमा अाहुती ?

घृणाकाे गर्भबाट पक्कै जन्मदैन, प्रेम

थाहा छ छैन् ?
आवेगले उम्लीरहेकाे पानीको ऐनामा
देखिदैन आफूलाई

खासमा
कतै टाढा लगेर फ्याँक्नुपर्छ क्रोध
र प्रश्न गर्नुपर्छ आफैँलाई
मैले बाँचेको समय कुन शताब्दीकाे हाे ?

बुद्द जन्मिएको माटोमा उभिएर
म सबैलाई भन्छु,
बगैँचामा लाहुरे फूल रोपेर
जबसम्म टाँकीको फूललाई घाँस भनिरहन्छौँ
तबसम्म विभेदको पानी बोकेर
बगीरहन्छ भेरी ।

सम्बन्धित शिर्षकहरु