तृतीय विश्व संस्कृत दिवस सम्पन्न – जरोकिलो प्रतिष्ठान नेपाल

जरो किलो प्रतिष्ठान नेपालको आयोजनामा तृतीय विश्व संस्कृत दिवस सम्पन्न भएको छ । कोरोना महाव्याधिको प्रकोपको कारण विश्व संस्कृत दिवस प्रविधिको माध्यमबाट सम्पन्न भएको हो । जरो किलो प्रतिष्ठान नेपाल, जमलबाट संयोजन भएको कार्यक्रमको उद्घाटन जरो किलो महाअभियानका संकल्पकर्ता युगद्रष्टा डा. निर्मलमणि अधिकारीले गर्नुभएको थियो । कार्यक्रम संस्कृत भाषामा सञ्चालन भएको हो ।
कार्यक्रमका प्रमुख वक्ता सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय भारतका प्रा.डा. हरिप्रसाद अधिकारीले संस्कृतको मूलश्रोत नेपाल भएको बताउनु हुँदै मौलिकताको पुनर्जागरणको लागि जरो किलो महाअभियानले थालेको काम प्रशंसनीय भएको बताउनु भयो ।
No description available.सभाध्यक्षको आसनबाट बोल्दै आयोजक संस्था जरो किलो प्रतिष्ठानका संस्थापक अध्यक्ष डा. निर्मलमणि अधिकारीले संस्कृतभाषाका साथै अंगे्रजी, हिन्दी र नेपाली भाषामा मन्तव्य राख्नुभयो । संस्कृत भाषा विभिन्न भाषाको जननी भएको बताउँनु हुँदै संसारमा रहेका जुनकुनै भाषामा रहेका हितकारी चिन्तनलाई उजागर गर्न  विश्व संस्कृत दिवस आयोजना गरिएको बताउनु भयो । डा. अधिकारीले विश्व संस्कृत दिवसले मन्त्रद्रष्टा ऋषि र ऋषिकाहरुको सम्मान गरेको बताउनु भयो ।
नेपाल संस्कृत विश्वविद्यालयका स्वामी प्रा.डा. केशवप्रपन्नाचार्यले नेपालको विभिन्न चाडपर्व तथा रीतिरिवाजको कारण नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै सो पहिचान संस्कृतबाट अनुप्राणित भएको बताउनु भयो । वाल्मिकी विद्यापीठका प्रा.डा. प्रियम्वदाम्बा काफ्लेले संस्कृत भाषाको उत्थानका क्षेत्रमा रहेको कमी कमजोरी औंल्याउनु भयो । गोष्ठी तथा सभाहरु आवश्यक भए पनि संस्कृत भाषाको उत्थानमा भाषण बढी र काम कम भएको बताउनु भयो । कार्यक्रममा वाल्मिकी विद्यापीठका उप प्राध्यापक केशवशरण अर्यालले जरो किलो महाअभियानले आत्मसात गरेका विचारहरुले समसामयीक राजनीतिमा दिशानिर्देशक भएको बताउँदै कार्यान्वयन पक्षमा जोड दिनु भयो ।
कार्यक्रममा डा. लक्ष्मीनारायण ढकालले भाषा भनेको प्रयोगले जीवन्त हुने बताउनु भयो । संस्कृत भाषाको नियमित प्रयोग गर्न सके यो व्यवहारिक भाषाको रुपमा अघि बढ्न सक्ने बताउनु भयो ।
त्रिभुवन विश्वविद्यालय संस्कृत विभागका उपप्रा. रोहिणीराज तिमिल्सिनाले संस्कृत भाषामा अथाह ज्ञानको भण्डार भएको बताउँदै विश्वको लागि महत्वपूर्ण ज्ञानको संरक्षणको लागि संस्कृत भाषाको प्रवर्धन अनिवार्य भएको बताउनु भयो ।
तृतीय संस्कृत दिवस आयोजक समितिका संयोजक तथा जरो किलो महाअभियानका उपाध्यक्ष डा. गोविन्दशरण उपाध्यायले स्वागत मन्तव्य राख्दै जरो किलो प्रतिष्ठानको आह्वानमा थालिएको विश्व संस्कृत दिवसको प्रभाव स्वरुप छिमेकी मुलुकमा पनि विश्व संस्कृत दिवसको आयोजना गरिनु नेपालको लागि गौरवको कुरा भएको बताउनुभयो ।
कार्यक्रममा छात्रा कस्तुर्भा सुब्बाले मंगलाचरण तथा संस्कृत श्लोक वाचन गर्नुभएको थियो । कार्यक्रमको संचालन आकाशनीलम् गोविन्दले गर्नु भएको थियो ।
जरो किलो प्रतिष्ठान नेपालले २०७५ साल देखि जनैपूर्णिमाको दिन निरन्तर विश्व संस्कृत दिवस मनाउँदै आएको छ । जरो किलो प्रतिष्ठानको आयोजनामा विभिन्न जिल्ला तथा अन्तराष्ट्रिय स्तरमा पनि विश्व संस्कृत दिवसको आयोजना गरिएको छ ।

भिडियो हेर्नको लागि तलको लिंक खोल्नु होला | धन्यवाद: |

https://www.facebook.com/watch/?v=319375455872490

राजन लोहनी, कतार

 

सम्बन्धित शिर्षकहरु