सन् १९८७ मा मोबिरा सिटिम्यान नामको मोबाइल फोनको विकास गरेर मोबाईल बजारमा आक्रामक प्रवेश गरेको नोकियाले नै मोबाइल भन्ने यन्त्र हुन्छ भनेर धेरैलाई चिनाएको थियो । हामी मध्ये धेरैले पहिलो मोबाइल नोकिया कै किन्यौं होला । नोकियाको ब्राण्ड अत्यन्त टिकाउ फोन निर्माताको रुपमा संसारभरी स्थापित भयो । नोकिया नाम देखेरै यसको गुणस्तरमा विश्वास गर्नेको संख्या बढ्दै गयो । फलस्वरूप यहि पहिचान देखाएर मोबाईलको बिक्री बढ्दै गयो । नोकियाको यो पहिचान बलियो स्थिति (State) को रुपमा रह्यो । यहि पहिचान अर्थात स्थितिको कारण कुनै बेला विश्वको मोबाईल बजारको ५० प्रतिशत हिस्सा आफ्नो पोल्टामा पार्न सफल भयो ।
तर प्रविधिको क्षेत्रमा द्रुत प्रगति भइरहेको थियो । आईफोन र सामसुङ्ग प्रतिस्पर्धामा आइसकेका थिए । क्रमश: आईओएस र एण्ड्रोईड अपरेटिङ्ग सिस्टम बोकेर धेरै भन्दा धेरै एप्लिकेसनलाई स्थान दिदैं ग्राहकलाई आफुतिर तान्ने प्रयास गरिरहेका थिए । तर एता नोकिया पुरानै सिम्बियान अपरेटिङ्ग सिस्टम बोकेर बसेको थियो जसमा ग्राहकलाई आकर्षित गर्ने एप्लिकेसन थिएन । ” बलियो फोन ” को पहिचान देखाएर धेरैसमय बजारमा टिक्नसक्ने अवस्था थिएन किनभने जनचाहना फरक भैसकेको थियो । बदलिदो जनचाहनालाई सम्बोधन गर्न सक्ने गत्यात्मकता (Dynamism) नोकियामा देखिएन ।
स्थिति (State)को भरमा कुनै समय विश्व बजारको ठुलो हिस्सा आफुतिर आकर्षित गर्न सफल भए पनि गत्यात्मकता (Dynamism) भएन भने उक्त स्थान कायम राख्न सकिदैन भन्ने कुरा नोकियाको व्यवस्थापकले समयमै बुझ्न सकेनन् । सन् २०१३ नोकिया ७.६ अर्ब डलरमा माईक्रोसफ्टलाई बिक्री गरियो । कौडीको भाउमा नोकिया बेचियो भनेर अझै पनि चर्चा हुन्छ । स्थितिमा नअडिएको भए नोकिया विश्वको सबै भन्दा धेरै मोबाईल बेच्ने कम्पनि बन्दैनथियो तर त्यहि स्थितिमा अति नै अडिएर गतिको सन्तुलन मिलाउन नसक्दा अचेल नोकिया नामको मोबाइल अझै बन्छ र भनेर सोध्नुपर्ने अवस्था आएको छ ।
समाज विकासको क्षेत्रमा पनि स्थिति र गतिको सन्तुलन आवश्यक हुन्छ । अन्यथा नोकियाकै नियति भोग्नुपर्ने हुन्छ ।
सुशील गौतम मौलिक जरोकिलो पार्टीको अध्यक्ष हुनुहुन्छ |
समाज विकासको सिद्धान्त स्थितिगत्यात्मक प्रगतिवादको बारेमा डा. निर्मलमणि अधिकारीको भिडियो हेर्नुहोस् |








