ऋषि तर्पणी, जनै पूर्णिमा, रक्षा बन्धन, क्वाँटीको महत्त्व र जानाकारी – राजन लोहनी

हिन्दूहरुको  धार्मिक तथा साँस्कृतिक पर्व श्रावणी पूर्णिमाको दिन अध्यायोपाकर्म, वेदोपाकर्म वा वेदारम्भ कर्म गरी मनाइन्छ | यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म(सूर्य) बाट वेद प्राप्त गरेका थिए | अतः यस दिनलाई वेदजयन्तीको रुपमा पनि चिनिन्छ | यसै दिनलाई जनैपूर्णिमा पनि भनिन्छ | नयाँ यज्ञोपवित तथा रक्षा बन्धन धारण गरी यस पर्वलाई धुमधामका साथ मनाइन्छ। वैदिक सनातन वर्णाश्रम धर्म मान्ने जातिहरूले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, त्यस दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना गरी सम्भव भए मध्याह्नमा नदी, तलाउमा गई सम्भव नभए घरकै पवित्र जलले अपामार्ग, गाईको गोबर तथा चोखो स्थानको माटो कुशपानी आदि लगाई विधिपूर्वक श्रावणी निमित्तक मध्याह्न स्नान, सन्ध्योपासना आदि सम्पन्न गर्दछन् |त्यस पछि जौ तिल कुश साथमा लिई अविच्छिन्न वंशपरम्परा जोगाएका उपाध्याय वैदिक ब्राह्मणहरूलाई गुरु थापी विधिपूर्वक आफ्ना शाखाका वेद-वेदांगको पाठ गर्दछन् वा सुन्छन् | त्यस पछि आ-आफ्ना गोत्र, प्रवर र ऋषिगणहरूको तथा वर्तमान समयका अरुन्धतिसहित सप्तर्षिमण्डलको विधिपूर्वक पूजा गरी ऋषितर्पणी, यज्ञोपवीताभिमन्त्रण (जनै मन्त्रने काम) गर्दछन् | उपाकर्मणिचोत्सर्गे गतेमासचतुष्टये | नवयज्ञोपवीतानि धृत्वाजीर्णानि संत्यजेत् || अर्थात् उपाकर्म, उत्सर्ग र लगाएको चार महिना भएपछि वैदिक विधिपूर्वक मन्त्रिएको नयाँजनै (यज्ञोपवीत) फेर्ने चलन छ | यसदिन मन्त्रेको यज्ञोपवीत (जनै) वर्षदिनभर लगाउन भण्डारण गर्ने चलन छ |
जनैपूर्णिमाका तीनपक्ष रहेका छन्– ‘यज्ञोपवीत, रक्षाबन्धन र अध्यायोकर्मांगऋषितर्पणी ।
हिन्दू धर्मका वैदिकग्रन्थ अनुसार जनैलाई ब्रह्मसूत्र अर्थात वेदोक्तकर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागो भन्ने बुझिन्छ। शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतिकहरूको योग मानिन्छ। विधिपूर्वक जनै मन्त्रन यजमानहरू बिहान सबेरै आ-आफ्ना गुरु पुरोहित कहाँ जाने गर्दछन् । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामनअवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ। यसैगरी यस् दिन देह शुद्ध गरी देवता, सप्तऋषि(कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र) तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ऋषि तर्पणीका नामले पनि चिनिन्छ | ज्ञान र सफल जीवन मार्गको शिक्षा दिक्षा गर्ने ऋषीहरूको सम्मानमा तर्पण गरी अभिमन्त्रित जनै धारण गरेर धार्मिक तथा पवित्रकार्य सम्पादन गरिन्छ । अतः श्रावण शुक्लपूर्णिमाका दिन अध्यायोपाकर्म (स्वाध्यायाध्ययनारम्भ) गरेर वेदोक्त पञ्चमहायज्ञको जग बसाउने काम गरिन्छ | यस कर्मलाई ब्रह्मयज्ञ आरम्भ गरेर मनाइन्छ | ब्रह्मयज्ञ अन्य पञ्च महायज्ञहरूको आत्मा पनि भएकाले अन्य यज्ञहरू गर्न न सक्नेहरूले पनि मात्र ब्रह्मयज्ञ सम्पन्न गर्दा अन्य सबै यज्ञहरू गरेको फल प्राप्त हुने  शास्त्रमा वर्णन छ-
“न ब्रह्मयज्ञादधिकोsस्ति यज्ञो न तत् प्रदानात् परमस्तिदानम् |
सर्वे स दानाक्रतवः तदन्ता नान्तो दृष्टो कैश्चिदस्य नृलोके” ||
अर्थात् “ब्रह्मयज्ञ(वेदपाठ)भन्दा न कुनै ठूलो यज्ञ छ, न त्यसको प्रचार भन्दा ठूलो दान छ | किनकि सबै दक्षिणाशक्ति सहित भएका यज्ञहरू ब्रह्मयज्ञभित्रै हुन्छन् ” स्वाध्याय (ब्रह्मयज्ञपितृतर्पण) पितृका निम्ति अन्नदान, होम, भूतवलि र अतिथि सत्कार जस्ता दैनिक गर्नुपर्ने पञ्चमहायज्ञलाई (शुक्लयजुर्वेद शतपथ ब्राह्मणमा-भूतयज्ञ, देवयज्ञ, पितृयज्ञ, मनुष्ययज्ञ र ब्रह्मयज्ञ भनी वर्णन गरिएको छ) | स्मरण गराउने दिनको रूपमा पनि द्विजजातिहरू (ताकाधारीहरू) ले यो पर्व मनाउने गर्छन । उपनयन (ब्रतबन्ध) गरी वैदिक परम्पराले दिएको शिक्षादीक्षा समेतको उचित तवरले पालना गरी सत्कर्ममा लाग्न समेत यसपर्वले स्मरण गराइरहन्छ |
“येन बद्धो वलिःराजा दानवेन्द्रो महावलः | तेन त्वां प्रतिबध्नामि रक्ष माचल माचल” ।।
अर्थात् “जसरी सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई बचाउन गुरु वृहस्पतिले रक्षाविधान गरी तयार गरेको रक्षाबन्धन(डोरो) बाट अत्यन्त वलशाली दानवराज वलिलाई बाँधेका थिए, त्यसरी नै म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ” भन्ने अर्थ भएको पौराणिक मन्त्र पढेर रक्षाबन्धन बाध्ने  परम्परा आज पनि त्यत्तिकै प्रचलित छ। जनैमा प्रयुक्त हुने नौ डोरा ३ ग्रन्थि वा शिखाहरूले ईश्वरीयज्ञान र जीवनचक्रबारे वास्तविक रहस्य बुझ्ने कुरामा मार्गदर्शन गर्न सहयोग गर्छन । यी कर्महरू गर्दा व्यक्ति, देवऋण, ऋषिऋण र पितृ ऋणबाट मुक्त हुने धार्मिक विश्वास छ । दानवी शक्तिबाट रक्षित हुनका लागि आजैका दिन रक्षाबन्धन वा हातेडोरो बाँध्ने गरिन्छ । जनै पूर्णिमाको दिन बाँधिएको रक्षाबन्धन गाई तिहारका दिन गाईको पुच्छरमा बाँधि दिएमा मृत्युपछि वैतरणी नदी सजिलै पार हुने जनविश्वास छ । सिद्धार्थ गौतमले आजकै दिनमा काम शक्तिमाथी विजय प्राप्त गरेको स्मरण गर्दै बौद्ध धर्मावलम्वीहरूले पवित्र तिर्थहरूमा गई मेला भर्ने गर्दछन् । आजका दिन शैलुङ, कालिञ्चोक, हलेसी, नगरकोट लगायतका पर्वतीय शिखरहरूमा समेत मेला लाग्ने गर्दछ ।
जनैको महत्त्व वैदिक सनातनी र विज्ञान
     यज्ञोपवीत (जनै) आर्य संस्कृतिको चिन्ह हो, यो विद्याको चिन्ह र यज्ञको वेशभूषा हो । मर्यादा पुरूषोत्तम श्रीराम, योगिराज श्रीकृष्ण, कैलाशपति शिव, चतुर्मुख ब्रहृमाजी, महाराजा जनक, माता पार्वती,  गार्गी, सीता, माता दुर्गा, माता रूक्मिणी, माता सरस्वती, देवी कुन्ति, सतिसाध्वी द्रौपदी आदि सबै नरनारीहरू जनै धारण गर्दथे । यद्यपि आजकाल नारिले यो जनै धारण गर्ने परम्परालाई विस्थापीत गरियो जुन न्यायसंगत छैन साथै वैदीक परम्परा विपरित पनि छ ।
कुनै पनि राष्ट्रको राष्ट्रिय झण्डा हुन्छ त्यसमा आफ्नो राष्ट्रियता झल्कने एक विशिष्ट चिन्ह हुन्छ, एक विशेष अभिप्राय हुन्छ र त्यस झण्डाको मर्यादा तथा रक्षाका निम्ति त्यस देशका नागरिकहरुले आफ्नो प्राणको समेत आहुति दिन्छन् । त्यसैगरी जनैको पनि एक गहीरो रहस्य छ, एक विशिष्ट अभिप्राय र मर्यादा तथा एक पावन सन्देश छ । यसमा तीन दण्ड अर्थात् तीन डोरा, नौ सूक्ष्म तन्तु र पांच शिखा वा गांठा हुन्छन् जसलाई पञ्चशिखा भनिन्छ ।
तीन मात्र डोरा किन ?
एउटा जनैमा तीन धागा – डोरा वा सूत्र हुन्छन् । हामी कहाँ तीन संख्याको ठूलो महत्व छ । सत्व, रज र तम तीनगुण, पृथ्वी-अन्तरिक्ष र द्यूलोक गरी तीन लोक गार्हपत्य, आहवनीय र दक्षिण तीन अग्नि ईश्वर, जीवात्मा र प्रकृति आदि सत्ता पनि तीन छन् अतः जनैमा तीन डोरा हुनु सुसंगत छ । जनै ब्रहृमचर्य, गृहस्थ र वानप्रस्थ तीन आश्रममा रहंदामात्र धारण गरिन्छ । चतुर्थ आश्रम संन्यास आश्रममा पुगेपछि यसलाई उतारेर विसर्जन गरिन्छ । यस अभिप्रायले पनि जनैमा तीन धागा अथवा सूत्र हुन्छन् । जनैका तीन दण्ड (डोरा, सूत्र) ले मन, वचन र कर्मको एकताको शिक्षा दिन्छन् । जे मनमा छ त्यही वचनमा हुनुपर्छ र सोही अनुसार कर्ममा पनि उतार्नुपर्दछ । जब मन, वचन र कर्म एक हुन जान्छ मनुष्य महात्मा बन्दछ, अन्यथा त्यो दुरात्मा बन्दछ । तीन दण्ड सूत्रको एक अर्को पनि रहस्य छ | त्यो यो हो कार्यदण्ड, वाग्दण्ड र मनोदण्ड अर्थात् शरीर, वाणी र मनलाई संयममा राख्नु । कार्यसंयमद्वारा ब्रहृमचर्य पालन, गुरूजनहरूको आदर सत्कार, अहिंसा र तप आदि । वाणी संयमद्वारा सत्य, हितकारी र मधुर भाषण र स्वाध्याय गर्नु । मन संयमद्वारा मनका विकारहरू दूर गरी त्यसलाई शुद्ध र पवित्र संकल्पले मुक्त बनाउनु एवं सार्थक चिन्तन गर्नु । जनैधारीका लागि शरीर, वाणी र मनको यो संयम अत्यावश्यक छ । तीन धागामा एक अर्को रहस्य पनि लुकेको छ यो संसार त्रिगुणात्मक छ सत्व, रज र तम तीन पोयाले समस्त प्राणी बांधिएका छन् । जनैका तीन धागाले यसैको स्मरण गराउंदछन् कि हामीले यस संसारबाट निस्कनु छ, मुक्त हुनु छ । संन्यासी संसारको माया, मोह र ममताबाट निक्लेर जान्छ । यस कारण ‘संन्यास आश्रममा’ जनै फुकालिन्छ ।
गायत्री मन्त्र (यसमन्त्रलाई महामन्त्र, गुरूमन्त्र र सावित्री मन्त्र पनि भनिन्छ )|
ॐ भूर्भुवः स्वः । तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि । धियो यो नः प्रचोदयात् ।।
अर्थः
भूः = सत्यस्वरूप ! प्राण ! सकल जगत्को जीवनको आधार, प्राणभन्दा पनि प्रिय ! स्वयंभू !
भुवः = सर्वज्ञ ! अपान ! अशेष दुःखहरूबाट रहित ! सम्पूर्ण जीवजगतको दुःख दूर गर्ने !
स्वः = आनन्द ! व्यान ! नाना विध जगत्मा व्यापक भएर सबैलाई धारण गर्ने, सबैका आनन्द साधन तथा आनन्ददाता
सवितुः = सर्वजगत् उत्पादक, सर्वेश्वर्य प्रदाता, सकल संसारका शाषक, समग्र शुभ प्रेरणा दिने ।
देवस्य = सर्व-सुखप्रदाता, कमनीय, दिव्य गुणयुक्त
वरेण्यम् = स्वीकार गर्न योग्य, अतिश्रेष्ठ , वरणीय
तत् = त्यस जगत्प्रसिद्ध
भर्गः = शुद्धस्वरूप, पवित्रकारक, चैतन्यमय पापनाशक तेजलाई
धीमहि = हामी धारण गरौं तथा ध्यान गरौं
यः = जो
नः = हाम्रा
धियः = बुद्धिहरूलाई
प्रचोदयात् = शुभ प्रेरणा गरून्, अर्थात नराम्रा कर्महरूबाट हटाएर उत्तम कर्ममा प्रवृत्त गरून् ।
सत्व, रज, तम, (प्रोटोन, इलेक्ट्रोन र न्यूट्रोन) यी तीन गुणहरूले यो संकेत गर्दछन् कि यी तीन गुणहरू देखि माथि उठेर त्रिगुणातीत हुनुपर्दछ । माता, पिता र आचार्य यी तीन गुरू हुन् यी तीनै जनाको आदर, सम्मान र सत्कार गर्नु पर्दछ ।
जनै र ‘गायत्री’ को परस्पर घनिष्ट सम्बन्ध छ । यससंगै परमेश्वर(परमाणु)को सर्वश्रेष्ठ नाम “ॐ” मा अक्षर पनि तीन छन | अ, ऊ  र म । महाव्याहुति पनि तीन नै छन् ‘भूः भुवः स्वः’ र गायत्री मन्त्रमा पाद पनि तीन नै छन्  | ‘तत्सवितुर्वरेण्यम्’ ’भर्गो देवस्य धीमहि’ ’धियो यो नः प्रचोदयात’ ।
शरीरमा ‘वात’, ‘पित्त’ र ‘कफ’ धातुहरू पनि तीन नै छन् । यिनलाई सम राख्नु पर्छ, समराख्नु स्वास्थ्य हो विषम राख्नु रोगी हुनु हो । शरीर पनि ‘स्थूल’ ‘सूक्ष्म’ र ‘कारण’ तीन नै छन् । यिनको विवेक गरेर आत्मालाई जान्नु पर्दछ । दुःख वा ताप पनि तीन प्रकारकै छन् ‘आध्यात्मिक’, ‘आधिदैविक’ र ‘आधिभौतिक’ । यी तीन दुःखबाट निवृत्ति हुनु पर्दछ । यिनबाट निवृत्तिको नाम नै परमपुरूषार्थ अथवा मोक्ष हो ।
‘ज्ञान’, ‘कर्म’ र ‘उपासना’ तीन साधन छन् । यी तीन साधनको रहस्य बुझेर तदनुसार आचरण गरी परमात्मा (तत्वज्ञान) प्राप्त गर्नु पर्छ ।
जनैका तीन सूत्रले एक अर्को पनि संकेत दिई रहेका छन् त्यो यो हो कि संसारमा तीन प्रकारका ऐश्वर्य छन् ‘सत्य’, ‘यश’ र ‘श्री’ जनैधारी मनुष्यले यी तीन मध्येबाट कुनै एकलाई छान्नु पर्दछ ।
जनैका तीन सूत्रले परमात्मा जीवात्मा र प्रकृति यी तीन अनादिसत्ताको सम्यक ज्ञान प्राप्त गर्ने संकेत पनि दिन्छन् । जनै धारण गरेका व्यक्तिले परमात्मा के हो त्यसको स्वरूप कस्तो छ त्यसको प्राप्ति कसरी हुन सक्दछ इत्यादि कुराहरूलाई जान्ने सतत प्रयत्न गर्नु पर्दछ । यसैगरी म को हुं, कहांबाट आएको हुं, मलाई कहां जानु छ र मेरो जीवनको लक्ष्य के हो ? इत्यादि आत्मज्ञान सम्बन्धि समस्याहरू सुल्झाउन निरन्तर प्रयत्नशील रहने संकेत पनि यसवाट मिल्दछ । प्रकृति के हो यसबाट उपयोग लिएर मानव जीवनलाई कसरी सुखी तुल्याउन सकिन्छ आदि सनातन प्रकृतिको विविध ज्ञान प्राप्त गर्नु पर्दछ यस रहस्यलाई हृदयंगम गरी जनै धारण गर्दछ भने त्यस व्यक्तिको जनै धारण गर्नु सार्थक हो भन्ने सन्देशपनि दिई रहेको छ ।
जनैका तीन सूत्रहरूको एक अर्को साह्रै महत्वपूर्ण कुराको रहस्य समेत लुकेर रहेको छ, जसको यहां समुद्घाटन गर्नु उपयुक्त छ । प्रत्येक मनुष्यलाई जन्मदै देखि तीनवटा ऋण लागेका हुन्छन् ‘पितृऋण’, ‘देवऋण’ र ‘ऋषिऋण’ प्रत्येक यज्ञोपवीत धारी व्यक्तिले यी तीन ऋणबाट मुक्त हुन निरन्तर प्रयत्न गर्नुपर्दछ । माता-पिताले जन्म दिएर लालन-पालन गरी सन्तानलाई हुर्काउछन् । उनिहरूको सेवा सुसार गरेर यो ऋण केही अंशसम्म तिर्न सकिन्छ । यसै कारण उपनिषद्का ऋषिहरूले ‘मातृदेवो भव’, ‘पितृदेवो भव’ र आचार्यदेवो भव भनेर उपदेश गरेका छन् ।
वायु, अग्नि, जल, पृथ्वी, सूर्य, चन्द्र आदि देव हुन् । ‘देव यज्ञ’ गरेर यिनलाई (वातावरणलाई) शुद्ध गरी देवऋणबाट मुक्त  हुनुपर्छ । ‘अग्निवै मुखं देवानाम्’ अर्थात् अग्नि सम्पूर्ण देवहरूको साझा मुख हो । अग्निलाई खुवाउनाले (संरक्षण गर्नाले) सबै देवताहरू तृप्त हुन जान्छन् । यसको एक अर्को अभिप्राय पनि छ- इन्द्रियहरूलाई पनि ‘देव’ भनिन्छ । अतः समस्त इन्द्रियहरूको सदुपयोग जानेर तिनलाई दृढ बनाउनु र तिनको ठीक प्रयोग गर्नु पनि ‘देवऋण’ तिर्नु हो ।
जनै वैज्ञानिक र वैधानिक चिन्ह हो ।
सामान्य रूपले ‘देव’को अर्थ ईश्वर हो तर इश्वर प्राप्ति कहां र कसरि हुन्छ भन्ने सवाल अष्पष्ट पारिएको छ । करूणामय ज्ञानमा ईश्वरत्वको असीम अनुकम्पा लुकेको हुन्छ । समाजिक रुपान्तरण र जनहितप्रति ईमानदार रहेर नित्यनियम र ध्यानपूर्वक कार्य गर्नु, चिन्तन गर्नु र उपासना गर्नु ‘ब्रहृमयज्ञ’ कहलाउँछ; यसैलाई ‘देवयज्ञ’ पनि भनिन्छ । यसरि समाज र राष्ट्रप्रति जिम्मेवार रहेरपनि देवऋणबाट मुक्त  हुने प्रयास गर्नुपर्छ । जो मनुष्य उपकार गर्नेको उपकार मान्दैन; त्यो कृतघ्न कहलाउँछ । कृतघ्न मनुष्यको राम्रो गति हुदैन । अतः ब्रहृमयज्ञ / देवयज्ञ गरेर कृतघ्नताको दोषबाट सदाका लागि मुक्त हुनुपर्छ । यो जनैको वैज्ञानिक रहस्यपनि हो ।
ब्रहृमादेखि महर्षि जैमिनि र दयानन्द सम्मका सच्चा त्यागी-तपस्वी र वीतराग ऋषि-महर्षि तथा विद्वानहरू जसले शाश्वत वैदिक संस्कृति र सभ्यतालाई हामीसम्म सफलतापूर्वक ल्याईपुर्याएका छन् यसले आधुनिक समयमा पनि हामीलाई मार्गदर्शन गरिरहेका छन्, अवको हाम्रो कर्तव्य भनेको उनीहरूले दिएको विद्या पढेर, वेदहरूको स्वाध्याय गरेर समय सापेक्ष ढंगवाट प्रचार-प्रसार गरी ज्ञानगङ्गालाई प्रवाहमान राख्नु र ‘ऋषिऋण’ बाट उऋण हुने कार्य गर्नु हो ।
त्यसैगरि, जनैका तीन डोरा ब्रहृमग्रन्थि अथवा शिखाद्वारा परस्पर बांधिएका हुन्छन् । यसले के बोध गराउँछ भने मनुष्यका लागि ज्ञान, कर्म र उपासना यी तीन साधन ईश्वरत्व प्राप्तिका आधारहरु हुन् । जनै धारण गरेर मनुष्य कामना गर्दछ कि म ज्ञान, कर्म र उपासनाद्वारा ईश्वरत्व प्राप्त गर्न सकूँ, म जागृत, स्वप्न र सुषुप्ति अवस्थालाई पार गरेर तुरीय अवस्थामा व्रहृमसँग  मेल गर्न सकूँ  र जीवनको उद्देश्य पूरा गरूँ ।
म ठूला, साना र आफू बराबरीहरूका सँग यथायोग्य व्यवहार गर्नेछु । अर्थात् ठूलाको आदर सम्मान, बराबरीहरूसँग प्रेम र साना माथि दया माया र ममता प्रदर्शन गर्नेछु । यस्ता अनेकौं महत्वपूर्ण कुराहरूको दिव्य आदर्श जनैले प्रस्तुत गर्दछ । यस प्रकार जनैका तीन डोरा विज्ञानमय भै भरिएको छ ।
त्रिसूत्ररूप जनैका एक- एक डोरामा तीन-तीनका क्रमले ३×३=९ वटा मसिना-मसिना सूक्ष्म डोरा हुन्छन् ।
जनैका ९ वटा सूक्ष्म डोराको रहस्य के छ ? जनैका पवित्र ९ तन्तुमा नौ देवहरू अवस्थित रहन्छन् । जस्तैः-
ओङ्कारः प्रथमे तन्तौ द्वितीयेग्निस्तथैवच ।
तृतीये नागदैवत्यं चतुर्थे सोमदेवता ।।
पञ्चमे पितृदैवत्यं, षष्ठे चैव प्रजापतिः ।
सप्तमे मरूतश्चैव अष्टमे सूर्य एवं च ।।
सर्वे देवास्तु नवमे इत्येतास्तन्तु देवताः ।। ( सामवेदीय छान्दोग्य सूत्र परिशिष्ट)
पहिलोमा ॐकार, दोश्रोमा अग्नि, तेस्रोमा अनन्त, चौथोमा चन्द्रमा, पाचौंमा पितृगण, छैटौंमा प्रजापति, सातौंमा वायु, आठौमा सूर्य र नवौ सूत्रमा सबै देवता प्रतिष्ठित छन् ।
जनै धारण गर्ने व्यक्तिले जनैका सूत्रहरूमा स्थित  नौ देवहरू सँग सम्वन्धित रहेका निम्न लिखित गुणहरूलाई आफु भित्र धारण गर्नुपर्दछः
ॐकार -एकत्वको प्रकाश, ब्रहृमज्ञान ।
अग्नि – तेज, प्रकाश, पापदहन ।
अनन्त – अपार धैर्य र स्थीरता ।
चन्द्रमा – मधुरता, शीतलता र सर्व पि्रयता ।
पितृगण – आशिर्वाद, दान र स्नेह ।
प्रजापति – प्रजापालन, प्रेम र सौहार्द ।
वायु – पवित्रता, बलशालिता र धारण शक्ति ।
सूर्य – गुण ग्रहण, नियमितता, प्रकाश, अन्धकारनाश र मल शोषण ।
सर्वे देवता – दिव्य र सात्विक जीवन ।
जसले जनैका यी पावन गुणहरूलाई स्मरण गरेर यिनीहरूबाट प्रेरणा प्राप्त गर्दछ । त्यसको जीवन उच्च, महान, यशस्वी र कान्तियुक्त रहन्छ ।
नौ सूत्रको एक अर्को रहस्य पनि छ, “अष्टचक्रा नवद्वारा देवानां पूरयोध्या” (अथर्ववेद काण्ड १० । सूः २ । मन्त्र ३१) आठ चक्र र नौ द्वार भएको एक नगर छ, त्यो नगर हो मानव-देह । यज्ञोपवीतका नौ सूत्रले हामीलाइ एक सुन्दर सन्देश दिईरहेका छन् — प्रत्येक द्वारमा एक-एक प्रहरी नियुक्त गर जसबाट कुनै पनि दुर्गुण हामी भित्र प्रवेश गर्न नसकोस् । यी नौ द्वार मध्ये दुई आँखा, दुईकान, दुई नासिका छिद्र र एक मुख यी सात भए । यिनीहरूका लागि वेदमा भनेको छः “सप्त ऋषयः प्रतिहिताः शरीर” (यजुर्वेद ३४।५५) हाम्रा शरीरमा सात ऋषि (सप्तऋषि)हरू बसेका छन् । हामीले ज्ञानद्धारा मात्र यिनीहरूलाई ऋषि बनाउन सकिन्छ । यी अङ्गहरु ऋषि बने भने जीवनको कल्याण हुनेछ तर यी राक्षस वन्न पुगे भने जीवनको विनाश हुन्छ । बाँकी दुई द्वार हुन्;मल-मूत्र विसर्जन गर्ने छिद्र । यस प्रकार मानव देहमा नौवटा द्वार छन् ।
हामी हाम्रा आँखाले राम्रा दृश्य हेरौं, प्रकृतिका सुन्दर रचनाहरुको सौन्दर्य अवलोकन गरौं, तिनीहरुको संरक्षण र संवर्द्धन गरौं, नराम्रा मन, कर्म र शरीरलाई हानि पुर्याउने खालका दृश्यहरु नहेरौं । हाम्रो दृष्टि यस्तो होस् भनिएको छ :
मातृवत् परदारेषु परद्रव्येषु लोष्टवत् ।
आत्मवत् सर्व भूतेषु यः पश्यति स पश्यति ।।
परनारीहरूलाई माताका समान, अर्काको धनलाई माटाको डल्ला समान र सबै प्राणीहरूलाई आफ्नै समान हेरौं किनकि  यस्तो देख्ने नै वास्तवमा देख्ने हो ।
कानले हामी असल ज्ञानदायक कुराहरुमात्र सुनौं । यज्ञोपवीतधारी जीवन वेदमय हुनुपर्छ । वेदले पनि -”भद्रं कर्णेभिः श्रृणुयाम … “ (यजुः२५।२१) अर्थात हामी कानले उत्तम कुरा सुनौं भनेको छ । यस्तै प्रकार नाकले उत्तम् दिव्य गन्धनै सुघौं, ‘ॐको जप गरौं’ ( यो जप नाकबाटै हुन्छ ) । विषय वासनाको गन्धमात्र नसुंघौं ।
मुखले सधैं मिठो मधुर र शुद्धवाणी बोलौं । कटुभाषण, मिथ्या भाषण र बेकामे गफ नगरौं । अभक्ष भक्षण गरेर जीवन बर्वाद नगरौं ।
उपसथ र गुदालाई पनि संयममा राखौं, सच्चा, सदाचारी वनौं र ब्रहृमचार्य पालना गरौं । यही नै जनैको नौ सूत्रीय विज्ञान हो ।
पञ्चशिखाको रहस्यः
जनैमा पांच गांठा हुन्छन् जसलाई ‘शिखा’ भनिन्छ । पञ्चशिखाले पञ्चमहायज्ञ गर्ने तर्फ संकेत गरिरहेछन् । पितृऋण, ऋषिऋण र देवऋण चुक्ति गर्नका लागि यी यज्ञहरू गर्नु अनिवार्य मानिएको छ ।
हरेक गृहस्थ व्यक्तिले प्रतिदिन गर्नुपर्ने भनिएको पञ्चमहायज्ञ यी हुन् –
१) ब्रहृमयज्ञ – सन्ध्या र स्वाध्याय ।
२) देवयज्ञ – अग्निहोत्र र विद्वानहरूको मान-सम्मान ।
३) पितृयज्ञ – जीवित माता-पिता पितामह-पितामही मातामह-मातामही र घरका अन्य वयोवृद्ध व्यक्तिहरूको सेवा सुश्रुषा र सम्मान गरेर सदा प्रसन्न राख्नु तथा उनीहरूबाट आशिर्वाद प्राप्त गर्नु पितृयज्ञ गर्नु हो ।
४) बलिवैश्वदेवयज्ञ – घरमा जुन भोजन बन्दछ त्यसमध्ये बाट केही निकालेर अमिलो, पीरो, नुनिलो आदि पदार्थ नहाली काग, कुकुर, कीट पतङ्ग आदीलाई दिनु, असक्त विकलाङ्ग, रोगी वा असहायहरुलाईर् आफ्नो भोजनबाट कटाएरै भएपनि भाग दिनु बलिवैश्वदेवयज्ञ हो ।
५) अतिथियज्ञ – पुर्वसूचना बिनानै संयोगवश घरमा आईपुगेका विद्वान्, उपदेशक, तथा राष्ट्रभक्त व्यक्तिहरूको आदर सम्मान गर्नु ।
जनैका पञ्चग्रन्थीहरुले मानव शरिरका पञ्चकोशतर्फ पनि संकेत गरिरहेका छन् । अन्नमयकोश, प्राणमयकोश, मनोमयकोश, विज्ञानमयकोश र आनन्दमयकोश । यिनीहरूलाई वियोग गरेर आत्मालाई यिनीहरूबाट पृथक सम्झनु पर्दछ ।
पाँच गाँठाहरूको एक अर्को पनि अभिप्राय छ । प्रत्येक मनुष्यमा काम, क्रोध, लोभ, मोह र अहंकार रूपी पाँच गाँठाहरू छन् । जनैका यी पाँच  ग्रन्थीहरूले जनैधारीलाई यो स्मरण गराउँछ  कि उसले यी गाँठाहरूबाट  मुक्त रहन सक्नुपर्दछ ।
जनैमा चार गाँठाहरु शिखाका केही तल हुन्छन् र एक गांठो माथि धागामा जोडिएको ठाउँमा हुन्छ । मनुष्यलाई ज्ञान चाहिन्छ अतः ज्ञान प्राप्तिका लागि मानवले प्रशष्त अध्ययन गरोस् । ज्ञान प्राप्तिका लागि परमात्मा – परमाणु वुझ्नु पर्दछ, । परमाणु र ज्ञानको श्रोत ‘ब्रहृम’ -ब्रहृमाण्ड भएकाले जनैको माथ्लोगांठालाई ब्रहृम ग्रन्थीपनि भनिन्छ ।
जनै बनाउँदा  हातका चार औंलामा ९६ फन्का लपेटिन्छ । यसक्रमले जनैको परिमाण ९६ अंगुल हुन्छ । यो ९६ अंगुल नै किन हुन्छ ? यसवारे पनि विचार गरौं –
प्रत्येक व्यक्ति आफ्ना अंगुलबाट ९६ अंगुलको उचाईमा हुन्छ । ९६ अंगुलका जनैले हामीलाई यो स्मरण गराउंदछ कि जनै कांधबाट कटिप्रदेश सम्ममात्र छैन अपितु शरीरका अङ्ग प्रत्यङ्ग र प्रत्येक रोम-रोममा अनुवन्धित छ ।
छान्दोग्य परिशिष्टमा यस प्रश्नको समाधान गर्दै यसो भनिएको छः
तिथिवारं च नक्षत्रं तत्ववेदगुणान्वितम् ।
कालत्रयं च मासाश्च ब्रहृमसूत्रं हि षष्णवम् ।।
अर्थात् १५ तिथि, ७ वार, २७ नक्षत्र, २५ तत्त्व, ४ वेद, ३ गुण, ३ काल र १२ महिना । यिनीहरूको कुल जोड ९६ हुन्छ ।
मानवमान ८४ अंगुल र देवमान ९६ अंगुलको हुन्छ । जनै धारण गरेर देवव्रत र ब्रहृमव्रतको अनुष्ठान गरी मनुष्यलाई देवत्व र अन्तमा ब्रहृमत्व प्राप्त होस् भन्ने हेतुले जनै देवमान् अर्थात् ९६ अंगुलको बनाइन्छ ।
जनै कम्मर सम्ममात्र किन ?
बाम स्कन्ध (देव्रे कांध) बाट धारित यज्ञोपवीत अर्थात् जनै हृदय र बक्षस्थलको माथि हुदै कटिप्रदेश (कम्मर) सम्म पुग्दछ । यसमा पनि रहस्य लुकेको छ । प्रत्येक मनुष्यमाथि तीन प्रकारका बोझ अथवा भार हुन्छ र भारी उठाउने शक्ति विशेष गरि कांधमा हुन्छ यसकारणले जनैलाई कांधमाथि राखिन्छ । संसारमा भारी त्यसैले बोक्न सक्दछ जो कटिबद्ध छ, जसको कमर कसिएको छ, यसकारण जनै कटिप्रदेश वा कम्मरसम्म झुण्डिएको हुन्छ ।
प्रत्येक जनैधारी आफ्नो समाज, राष्ट्र र जनताको उन्नतिका लागि, सभ्यता र संस्कृतिको प्रचार प्रसार तथा जगेर्नाका लागि कटिवद्ध रहोस् यस हेतुले यो जनै कटिप्रदेशसम्म झुण्डिन्छ ।
जनै देब्रे कांध माथिनै किन ?
तीनवटा-ऋण एवं यज्ञलाई हृदयदेखि स्वीकार गरिन्छ । हृदय वामभागमै हुन्छ, यसकारण यो यज्ञोपवीत देब्रे काँध  देखि हृदय हुँदै दाहिने भागतर्फ धारण गरिन्छ । संसारमा सफलता त्यसैले पाउन सक्दछ, जसले आफ्नो लक्ष्यलाई अगाडि राख्दछ । अरू लक्ष्य त्यसै व्यक्तिका अगाडि रहन सक्दछ जसले कुनै काम हृदयदेखि नै गरोस्, यसै हुनाले जनै हृदय माथि रहन्छ ।
जव मानिस देव बन्दछ, जब उसले संन्यास लिन्छ तव जनैलाई फुकाल्दछ । जनैका सम्बन्धमा दुई अरू स्मरणीय छन् | पहिलो  यो हो कि प्रत्येक व्यक्तिले एक समयमा एक मात्र जनै लाउनुपर्दछ, एक जोर होइन ।आजकल जनै विभिन्न रंगमा पाइन्छन् तर यज्ञोपवीत (जनै) सेतो रंगकै हुनु पर्दछ, किनकी मन्त्रमा यसलाई “शुभ्रम्” भनिएको छ, जसको अर्थ सेतो भन्ने लाग्दछ ।
मातृशक्तिहरूलाई पनि जनै लाउने अधिकार छ
मध्ययुगमा कुनै कठिनाइहरूले गर्दा हो या शाषकहरुको सामन्ति प्रवृत्तिले गर्दा हो मातृशक्तिलाई अर्थात् नारीहरूलाई यस पवित्र एवं महत्त्वपूर्ण  संस्कारबाट वञ्चित गरिएको थियो । प्राचीन ग्रन्थहरूको अवलोकन गर्दा थाहा हुन्छ कि प्राचीन कालमा पुरूषहरू सरह स्त्रीहरूलाई पनि जनै लगाउने अधिकार थियो । अध्ययन, अध्यापनमा कुनै भेद-भाव थिएन । ‘यम संहितांमा लेखेको छः
पुराकल्पेतु नारीणां मौञ्जीबन्धनमिष्यते ।
अध्यापनं च वेदानां सावित्री वाचनं तथा ।।
अर्थात् प्राचीन समयमा नारीहरूको उपनय वा व्रतबन्ध संस्कार हुन्थ्यो तथा उनीहरूलाई वेद पढ्ने र गायत्री जप गर्ने पनि आज्ञा थियो । महर्षि दयानन्द सरस्वतीले आफ्नो एक प्रवचनमा भन्नु भएको थियो “पहिले स्त्रीहरूलाई पनि विद्या सम्पादनको अधिकार थियो र त्यसैका अनुकूल यिनीहरूको पूर्वमा व्रतबन्ध गर्दथे ।” (उपदेश मञ्जरी सातौं व्याख्यान)

अर्थको अष्पष्टता, अज्ञान र विभिन्न दुरुपयोगहरुका कारण हाम्रो समाजमा यस पवित्र परिधानलाई निम्न दृष्टिले हेर्न थालिएको छ । व्रतबन्ध गरेका केटाहरूले पनि २-४ दिनमै जनै निकालेर फ्यांकिदिने गरेको समेत देखिन्छ । अभिभावक माता-पिताले पनि यस कुरामा खासै ध्यान पुर्याएको देखिदैन । यो बडो चिन्ताको विषय हो । यद्यपि, यस लेखले हामीलाई जनैका बारेमा केही जानकारी र महत्त्व दर्शाएको छ भन्ने आशा छ, साथै अभिवाकहरूले आफ्ना बाल-बालिकाहरूलाई निश्चयनै यस सम्बन्धमा अवगत गराउनु नै हुने छ भन्ने पुर्ण आशा राखेको छु ।

सावधान : अहिले बजारमा पाइने नक्कली जनैको प्रयोग नगरौं |
क्वाँटी खाने
परम्परानुसार यस दिन नौ थरीका गेडागुडी मिसाई भिजाएर टुसा उम्रेपछि क्वाँटी बनाई खाने चलन छ । यसरी तयार गरिएको क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षाका कारण चिसो भएको मौसममा शरीरमा तापसञ्चार हुने विश्वास गरिन्छ | नेवार समुदायमा आजको दिनलाई गुन्हु-पुन्ही भनी मनाइने परम्परा छ । विभिन्न प्रकारको स्वरबाट वर्षा र खेतीको कामबारे कृषकहरूलाई जानकारी दिने भ्यागुताले गठेमङ्गलका दिन नरभक्षी घण्टासुरलाई बाटो भुलाई धापमा पारिदिएकाले आजको दिन भ्यागुताको पनि पूजा गर्ने प्रचलन छ । तराई क्षेत्रमा रक्षाबन्धनलाई दिदी-बहिनी र दाजु-भाइको आपसी मायाको चाडका रूपमा पनि लिइन्छ।  काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, जनकपुरधामको गङ्गासागर तथा धनुषसागर, जुम्लाको दानसाधु त्रिवेणी आदि स्थानमा  स्नान गरी महादेवको पूजा अर्चना गर्न भक्तजनहरूको ठूलो घुइँचो लाग्छ ।
रक्षा बन्धन / रक्षा सूत्र
रक्षा बन्धन हिन्दू धर्मावलम्बीहरूले मनाउने एउटा पवित्र दिन हो । रक्षाबन्धन शब्दमा दुई शब्द जोडिएको छ । यो चाड श्रावण शुक्ल पूर्णिमाको दिन मनाईन्छ । जनै लगाउनेहरू यस दिन पुरानो जनै फेरेर नयाँ जनै लगाउने गर्दछन् । यस दिन बर्षभरीका लागि आवश्यक पर्ने जनै तयार गरी मन्त्रेर राख्ने गरिन्छ । यस दिन नेपालमा ब्राह्मणहरूहरू नुहाई-धुवाई गरेर पूजा पाठ गरि सके पछि पवित्र धागो जसलाई रक्षाबन्धन वा रक्षासूत्र पनि भन्छन् | पुरोहितहरु  गाँउ-गाँउ गएर सबै जनालाई रक्षाबन्धन/रक्षासूत्र  बाँधेर टीका लगाईदिने गर्छन। बदलामा शिष्य-यजमानहरू ब्राह्मणलाई दक्षिणा (रूपयाँ, पैसा) वस्त्रादि उपहार दिने गर्छन । आजकल बजारमा पाइने रंगी विरंगी रक्षा बन्धनका सामाग्री लगानुको कुनै औचित्य छैन | सांसारिक बन्धन र ईश्वरीय बन्धन गरी दुई प्रकारका बन्धन छन् | आज हरेक व्यक्ति सांसारिक बन्धनदेखि छुट्न चाहन्छन् र ईश्वरीय बन्धनमा बांधिन चाहन्छन् किनकि ईश्वरीय बन्धन आध्यात्मिक र सुखदायी बन्धन हो । रक्षाबन्धन यसैको प्रतीक हो कि हामीले आफ्नो स्वयंको रक्षा गर्नको लागि पवित्रताको बन्धनमा बांधिनुपर्छ । भनिन्छ कि यो बन्धन दशैंसम्म बांध्ने जबसम्म दश विकार माथि विजय प्राप्त गरेर दशमी मनाईदैन; तबसम्म यो पवित्रताको बन्धनमा बांधिनु पर्ने आवश्यकता छ किनकि पवित्रताको धारणा आत्मिक स्थितिमा स्थित भएमा मात्र गर्न सकिन्छ । यसकारण यसदिन पहिला बहिनीले भाइलाई टीका लगाइदिन्छन् र स्थूल सामाग्री दिनुको वास्तविक अर्थ खराब चिजको वलि  गर्ने प्रतीक हो । नराम्रा गुणको लाई त्यागेर छोडेर अघि बढ्नु हो | रक्षाबन्धन मर्यादा र आत्मा निग्रहद्वारा मृत्युमाथि विजय प्राप्त गर्ने पर्व हो । रक्षासूत्रको बन्धन र टीका यस उत्सवको प्रमुख विधान हो । सूत्र आत्माको मर्यादा  र संयमको प्रतीक हो र टीका आत्म स्वरुप स्थितिमा स्थित हुने प्रतीक हो । सूत्र कुनैपनि वस्तुलाई अविच्छिन गर्ने वस्तु हो । सुनियोजित एवं सुव्यवस्थित वस्तु एक सूत्रमा ग्रथित मानिन्छ । रक्षाबन्धनको सही अर्थ आत्म स्थितिमा अचल, अडोल भएर पवित्रताको पालन गर्नु हो किनकि पवित्रताद्वारा नै मृत्युमाथि विजय प्राप्त गर्न सकिन्छ ।
थप जानाकारीको लागि संस्कृतिविद्  गुरु डा. चिन्तामणि योगीको भिडियो हेर्नुस् |
माथिको लेख विभिन्न गुरुको वाणी र अध्ययनको क्रममा संकलन गरेको हुँ |
स्मरण रहोस आजको दिनलाई प्राचीनकालदेखि नै संस्कृत दिवसको रुपमा मनाइदै आइएको छ | जरोकिलो प्रतिष्ठान नेपालले पनि सोही दिनलाई विश्व संस्कृत दिवस रुपमा २०७५ सालदेखि मनाउदै आएको छ | आज विशेष सत्संग पनि आयोजना हुँदै छ |

सम्बन्धित शिर्षकहरु