विश्व बाघ दिवस मनाइदै,बाघ संरक्षणमा महत्वपूर्ण उपलब्धि भएको राष्ट्रपतिको भनाई

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बाघलगायतका वन्यजन्तुको आवागमन सुनिश्चित हुने गरी पूर्वाधार निर्माण गर्ने र वन्यजन्तुलाई पर्न सक्ने नकारात्मक प्रभाव न्यूनीकरणका उपाय अवलम्बन गर्नेतर्फ गम्भीर ध्यान दिनुपर्ने बताएकी छन् ।

विश्व बाघ दिवसका अवसरमा बुधबार शुभकामना सन्देश दिँदै उनले बाघ अवलोकन गर्न आउने स्वदेशी एवं विदेशी पर्यटकबाट राष्ट्रलाई प्राप्त हुनसक्ने आम्दानीलाई अझ वृद्धि गर्न पर्यटनका गतिविधिहरू प्रवद्र्धन गर्न सम्बन्धित निकायलै सुझाव दिएकी हुन ।

राष्ट्रपति भण्डारीले बाघ संरक्षण एवं बाघकोे चोरी शिकार तथा अवैध व्यापार नियन्त्रण कार्यमा निकुञ्ज र वन प्रशासन, नेपाली सेनालगायतका सुरक्षा संयन्त्र, स्थानीय समुदाय तथा सरोकारवाला सङ्घसंस्थाको महत्वपूर्ण योगदान रहेको भन्दै धन्यवाद दिइन ।

उनले शुभकामना सन्देशमार्फत यो दिवस बाघलगायतका लोपोन्मुख वन्यजन्तुको प्रभावकारी संरक्षण गर्न प्रण गर्ने दिन पनि भएकाले यसबाट बाघको संरक्षणका लागि सम्बद्ध सबैलाई थप प्रेरणा मिल्ने अपेक्षासमेत गरेकी छन् ।

बाघ संरक्षणका लागि घाँसेमैदान र पानीका स्रोतहरूको व्यवस्थापन, नियमितरूपमा गस्ती, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, चेतनामूलक कार्यक्रम र आवधिकरूपमा यसको सङ्ख्या यकिन तथा अनुगमनलगायतका कार्यक्रम सञ्चालन गरेकाले बाघ संरक्षणको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको राष्ट्रपति भण्डारीले उल्लेख गरेकी छन् ।

“बाघ संरक्षणसम्बन्धी समुदायस्तरदेखि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका अन्तरसरकारी सञ्जाल तथा मञ्चहरूमा नेपाल सरकार क्रियाशील रहेकामा मलाई खुशी लागेको छ ।”
जलवायु परिवर्तनले पारिरहेको प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न जैविक विविधताको संरक्षण गर्दै स्वस्थ पारिस्थितिकीय प्रणालीको सूचकको रूपमा रहेको बाघलाई बचाइराख्ने दायित्व हामी सबैकोे हो”, शुभकामना सन्देशमा उल्लेख छ ।

सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाइका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने घोषणा गरिएको हो । नेपालमा पनि आज बाघ दिवस विभिन्न कार्यक्रम गरेर मनाइदैछ ।

बाघको संरक्षणका लागि प्रचारप्रसार गर्दै यो दिवस मनाउने गरिन्छ।

बाघ पाइने अन्य क्षेत्रहरू चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि कार्यक्रम गरिन्छ।

पाटे बाघ विश्वका १३ देशमा पाइन्छ। विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्समा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो।

सो प्रतिबद्धताअनुसार नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या १ सय २१ लाई दोब्बरभन्दा पनि बढी २ सय ५० वयस्क बाघ पुर्‍याउने प्रतिबद्धता जनाएको थियो।

‘राष्ट्रिय बाघ गणना २०१८’ को नतिजा अनुसार नेपालमा बाघको सङ्ख्या २३५ छ। जसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका थिए।

सम्बन्धित शिर्षकहरु