
काठमाडौं । शनिबार अध्यक्ष केपी ओलीको निजी निवास बालकोटमा बस्ने भनिएको नेकपा एमालेको स्थायी समितिको बैठक आज बस्ने भएको छ । बैठक आज बिहान ११ः३० मा पार्टी मुख्यालय धुम्बाराहीमा हुन लागेको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक रोज्न भन्दै ओलीसँग निर्णायक वार्ता गरेपछि ओलीले स्थायी समितिको बैठक बोलाएका थिए ।
शनिबार बालकोटमा स्थायी समितिको बैठक स्थगित गरेर बसिएको बैठकमा अध्यक्ष ओली, नेताहरु माधव नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेल, सुवास नेम्वाङ र भिम रावललाई बोलाइएको जनइएको छ । बैठकमा ओलीले प्रचण्डसँगको वन टु वान वार्ताको बिफ्रिङ गर्दै एकताको मोडालिटीबारे सुझाव मागेका थिए । बालकोटमा झण्डै चार घण्टा छलफलले पार्टी एकतालाई सकेसम्म चाँडो, तर्कसम्मत, व्यावहारिक र सबैलाई चित्तबुझ्दो ढंगले अघि बढाउने मोडालिटी विकसित गर्नेबारेमा छलफल भएको थियो ।
माओवादी अध्यक्ष प्रचण्डले नयाँ सरकार बन्नुअगाडि नै एकता प्रक्रिया टुंगिनुपर्ने जोडदाररुपमा माग गरेपछि ओलीले हिजोको बैठक डाकेकाे बताइएको छ । हिजो बसेको छलफलको आधारमा आज स्थायी समितिले केही निर्णय गर्ने एमाले स्रोतले जनाएको छ ।








