डा. चुडामणि खनालको संयोजकत्वमा अनेसासको निर्वाचन समिति गठन

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले डा. चुडामणि खनालको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ । केन्द्रीय कार्यसमिति २०२०/२०२२ का लागि निर्वाचन सम्पन्न गर्न समिति गठन गरेको हो ।

अघिल्लो निर्वाचनमा निर्वाचन समिति सदस्य रहिसकेका खनालको नेतृत्वमा तीर्थराज पाण्डे(अमेरिका), विजय भट्टराई (डालस, अमेरिका), कुमार सिम्खडा (बेलायत), पुष्पा खनाल (नेपाल) सहित पाँच सदस्यीय निर्वाचन समिति रहेको छ ।

दुई वर्षका लागि हुने केन्द्रीय कार्यसमितिको निर्वाचनबाट नयाँ विधान बमोजिम अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, पाँच उपाध्यक्ष (पाँच महादेशीय प्रतिनिधि), महासचिव, सचिव, कोषाध्यक्ष, पाँच जना सदस्यहरु निर्वाचित हुने छन् ।

अनेसासको विधानअनुसार जुलाई १० सम्ममा केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने अवस्था रहेकाले निर्वाचनका लागि सदस्यता अपडेट लगायतका आन्तरिक कार्यहरु द्रुतरुपमा भइरहेको जानकारी अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिए ।

अबको केही दिनभित्रमै निर्वाचन समितिले निर्वाचनको कार्यतालिका प्रकाशित गरेपछि निर्वाचन प्रक्रियाले गति लिने जानकारी केन्द्रीय महासचिव गणेश घिमिरेले जानकारी दिए ।

संसारभरि दर्जनौँ च्याप्टर रहेको प्रवासको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय साहित्यिक संस्था अनेसासले लामो समयदेखि नेपाली भाषा, साहित्य, कला र संस्कृतिको विकास र विस्तारमा विभिन्न कार्यहरु गर्दै आएको छ ।

सम्बन्धित शिर्षकहरु