काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा उपचारका लागि जाने व्यक्तिलाई वर्गीकरण गर्ने भएको छ।
कोभिड-१९ महामारी नियन्त्रणको लागि जारी भएको ‘कोभिड-१९ केशको आइसोलेसन व्यवस्थापन सम्बन्धि निर्देशिका’ मार्फत मन्त्रालयले उपचारका लागि अस्पताल जाने विरामीहरुलाई हरियो र पहिलो कार्डको व्यवस्था गर्न लागेको हो।
विश्वभर संक्रमितको संख्या बढ्दै जाँदा होम क्वारेन्टाइन र होम आइसोलेसनको प्रक्रिया अपनाउन थालिएको छ। हालसम्म नेपालमा उचित व्यवस्थापन भएको थिएन। संक्रमितहरु अस्पतालमा राखिँदै आएको थियो।
संक्रमित बढ्दै जाँदा अस्पतालका आइसोलेसन कक्ष भरिए। संक्रमितलाई क्वारेन्टाइनमै राख्नुपर्ने अवस्था आयो। यस्तोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नेदेखिएका वा सामान्य लक्षण भएकाहरुलाई घरमै आइसोलेसनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी गरेको हो।
मन्त्रालयले कोभिड-१९ को महामारीमा अन्य देशहरुले प्रयोग गरिरहेको पद्धतीलाई अपनाउँदै लक्षण नभएका र सामान्य लक्षण भएकाहरुलाई घरमै राखी व्यवस्थापन गर्ने नीति ल्याएको हो।
कुन संक्रमितलाई घरमा राखेर व्यवस्थापन गर्ने भन्ने निर्णय स्वास्थकर्मीले गर्न पाउने छन्।
त्यसका लागि संक्रमितसँग सर्तसहितको मन्जुरीनामा लिइने छ।
होम आइसोलेसनमा संक्रमितहरु तथा उनको परिवारले पालना गर्नुपर्ने सर्तहरु:
१. हावा खेल्ने तथा प्रकाश पर्याप्त आउने छुट्टै कोठामा राख्ने व्यवस्था
मिलाउने,
२. उपचार अवधिभरि बाहिर ननिस्कने र आवश्यक पर्ने सामग्रीहरू परिवारका
सदस्यहरू मार्फत मगाउने,
३. खानपानको व्यवस्थामा विशेष सावधानी अपनाउनु पर्नेछ जस्तैः पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलो खानेकुराहरू खाने।
४. प्रयोग गरिएका भाडाहरू सुरक्षितरूपले सफा गर्ने र राम्रो सँग सुकेपछि मात्रै पुनः प्रयोग गर्ने,
५. स्नानघर/शौचालयको छुट्टै व्यवस्था मिलाउने र सामुहिकरूपमा प्रयोग गर्नु पर्ने अवस्था भएमा प्रत्येक प्रयोग पछि सरसफाइमा प्रयोग हुने डिस्इन्फेक्टले राम्रोसँग सफा गरे पश्चात् मात्रै अन्य सदस्यले प्रयोग गर्ने,
६. हात धुने बेसिनहरु संक्रमणको श्रोत हुनसक्ने पर्याप्त जानकारी गराई दाँत माइने ब्रस लगायतका समानहरू राख्न छुट्टै बेसिनको प्रयोग गर्ने,
७. धेरै प्रयोग हुने चीजहरू जस्तै ढोका, मेसिनका ह्यान्डल, टेबल तथा अन्य सामग्रीहरू जुन धेरै व्यक्तिहरूले चलाउने वा छुने सम्भावना रहन्छ ती सामानहरूको डिसइन्फेक्टेन्ट प्रयोग गरी नियमित सफा गर्ने,
८. हात धुने साबुन र पानीको पर्याप्त व्यवस्था गर्नु पर्ने र सबै सदस्यहरूले समय समयमा सफा गर्ने,
९. भाँडाकुँडा, कपडा धुनकालागि पञ्जा लगाएर धुने वा मसिनमा छुट्टै धुने र राम्रो सँग घाममा सुकाउने,
१०. निजको हेरचाह र प्रत्यक्ष सम्पर्कमा रहने व्यक्ति र निजले अनिवार्य रूपमा
मेडिकल मास्क प्रयोग गर्ने,
११. बढी जोखिममा रहने समूहहरू जस्तैः दीर्घरोगीहरू, ६० वर्ष माथिका जेष्ठ
नागरिकहरू, गर्भवती तथा सुत्केरी महिलाहरूलाई निजको सम्पर्कबाट
टाढा राख्नु पर्नेछ,
१२. दिनमा कम्तीमा ३ पटक ज्वरो जाँच गरी रेकर्ड राख्ने।
१३. हरेक दिन दुईपटक आफ्नो स्वास्थ्य अवस्थाको बारेमा सम्बन्धित
स्वास्थ्यकर्मीलाई फोन वा एस.एम.एस. बाट जानकारी गराउने,
१४.श्वासप्रश्वासमा कठिनाइ भएमा,छाती दुखे वा भारी महसुस भएमा, ओठ तथा अनुहार नीलो देखिएमा, होस हराएमा, अन्य कुनै जटिल अवस्था देखिएमानिज वा निजको हेरचाहमा संलग्न व्यक्तिले तुरुन्तै सम्बन्धित स्वास्थ्यकर्मीलाई जानकारी दिनुपर्नेछ।
यसरी संक्रमितलाई होम आइसोलेसनमा पठाइएको अवस्थामा सम्बन्धित स्वास्थ्यकर्मीले हरेक दिन विरामीको नियमित अनुगमन गर्नुपर्ने छ। स्वास्थ्यकर्मीले अनुगमन फोन वा एसएमएसबाट विरामीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिइ आवशव्यक परामर्स दिनुपर्ने छ। त्यसको अभिलेख स्वास्थ्यकर्मीले राख्नुपर्ने छ।
त्यस्तै, होटेलमा आइसोलेसनमा बस्नका लागि पनि माथिका सर्त र प्रक्रिया अपनाउनुपर्ने निर्देशिकामा उल्लेख छ।
सम्बन्धित संक्रमित आइसोलेसनमा बाट छुट्नेसम्बन्धि व्यवस्था पनि निर्देशिकामा गरिएको छ।
लक्षणहरू तथा चिन्हहरू नदेखिएको अवस्थामा १४ दिन पछि संक्रमित आइसोलेसनबाट छुट्न पाउने छ। सामान्य लक्षण तथा चिन्हहरू देखिएको संक्रमितको हकमा को हकमा कम्तीमा १४ दिन पछि लक्षण तथा चिन्हहरू पुर्ण निको भएको ३ दिन पछि आइसोलेसनबाट छुट्ने छन्।
यसरी आईसोलेसनबाट हटाउँदा सोको सूचना अद्यावधिक अभिलेख राखि सम्बन्धित चिकित्सक/स्वास्थ्यकर्मीले प्रमाणिकरण गर्नु पर्ने निर्देशिकामा उल्लेख छ।







