वर्तमान संकट र समाधान ११ सूत्रहरु – नागरिक फाउन्डेसन

१. घर फर्किन चाहने स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई अविलम्ब फर्किन पाउने व्यवस्था गर्नुपर्दछ । स्वदेशबाटै घर फर्किनेहरुका लागि स्थानीय र प्रादेशिक सरकारको मातहतमा र विदेशबाट फर्किएकाहरुको व्यवस्थापन संघीय सरकारले गर्नुपर्दछ । यस संकटको समयमा नेपाली नागरिकको जीवन रक्षा गर्नु राज्यको पहिलो दायित्व हो । आदरसम्मानका साथ नागरिकहरुबाट स्वेच्छिक दान प्रक्रिया र ३ वटै सरकारबाट आर्थिक व्यवस्थापन गरि घर पुर्‍याउनु पर्दछ ।

२. वर्तमान समयमा आएको संकटबाट पार पाउनको लागि अविलम्ब ३ वटा क्षेत्र निर्धारण गरी चाँडो भन्दा चाँडो व्यवस्थापन गर्नुपर्दछ ।

क) सुरक्षित क्षेत्र
यस क्षेत्रलाई पूर्ण रुपमा नाका बन्द गरि दैनिक जीवनलाई सहज र सुरक्षित बनाउनु पर्दछ । स्वास्थ्य क्षेत्रमा समेत आवश्यक तयारी गरि सतर्कता अपनाउनु पर्दछ । समय समयमा सरकारको प्रत्यक्ष निगरानीमा नागरिकको स्वास्थ्य जाँच गराउनु पर्दछ ।

ख) संक्रमण हुन सक्ने क्षेत्र
यो क्षेत्र अति नै संवेदनशील रहेको हुँदा यसलाई विशेष प्राथमिकताको साथप्रादेशिक सरकारले हेर्नुपर्दछ । सबै किसिमका टेस्ट, स्वास्थ्य सामाग्री, आइसीयू, भेन्टिलेटर लगायत क्वारेन्टीन पूर्वाधारको राम्रो व्यवस्थापन गर्नुपर्दछ । हरेक पालिका तहमा कम्तीमा पनि ३ वटा अस्पताल र क्वारेन्टीनको राम्रो व्यवस्थापन गर्नुपर्दछ । समय समयमा सरकारको प्रत्यक्ष निगरानीमा नागरिकको स्वास्थ्य जाँच गराउनु पर्दछ र सतर्कता अपनाउनु पर्दछ ।

ग) असुरक्षित क्षेत्र
यो क्षेत्रलाई पूर्ण रुपमा सील गर्नुपर्दछ । उच्च जोखिममा रहेको हुँदा अधिकार प्राप्त व्यक्तिहरुलाई मात्र प्रवेश गराउनु पर्दछ । खाद्यान्न, लत्ताकपडा र बसोबासको व्यवस्था ३ वटै तहका सरकारले निशुल्क र नागरिकहरुको स्वेच्छिक दान प्रक्रियाबाट व्यवस्थापन गर्नुपर्दछ । संघीय सरकारको प्रत्यक्ष निगरानी, अनुगमन र स्थानीय वा प्रादेशिक सरकारले सबै किसिमका स्वास्थ्य सामाग्री, आइसोलेसन बेड, क्वारेन्टीनको राम्रो र प्रभावकारी व्यवस्था, हरेक पालिकामा कम्तिमा पनि ३ वटा सेवा सुविधा सहितको अस्पताल र प्रादेशिक तहमा अत्याधुनिक किसिमका अस्पतालहरु बनाउनु पर्दछ । संक्रमितहरुको निशुल्क उपचार राज्यले गर्नुपर्दछ ।

३. सबैभन्दा बढी समस्या चिकित्सा क्षेत्रमा देखिने हुनाले यस क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई एउटा निश्चित किसिमको प्याकेजको व्यवस्था र सेवा सुुविधा दिएर स-सम्मान गर्नुपर्दछ । स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने सम्पूर्ण सामाग्रीहरु राज्यले तत्कालै उपलब्ध गराउनु पर्दछ । कोरोना भाइरस जस्तो महाव्याधिको समयमा समेत अग्रणी भूमिका निभाएका स्वास्थ्यकर्मीहरुलाई राज्यले उचित किसिमको पुरस्कारको समेत व्यवस्थापन गर्नुपर्दछ ।

४. राष्ट्रिय अर्थतन्त्रमा समेत प्रभाव परिरहेको अवस्थामा अर्थतन्त्रलाई निर्वाहमुखि रुपमा सामुहिक ‘करेसाबारी कृषि एवं पशुपालन’ लाई प्राथमिकतामा राखि एक घर एक रोजगारको व्यवस्था मिलाउनु पर्दछ । स्थानीय सरकारले यसको व्यवस्थापन र बिक्री वितरणको व्यवस्था मिलाउनु पर्दछ ।

५. व्यावसायिक कृषि एवं पशुपालन गर्न चाहनेहरुलाई स्थानीय सरकारले अनुदान र बिना धितो सहुलियत किसिमको ऋण उपलब्ध गराइ आवश्यक सामाग्री सहित तालिमको व्यवस्था गर्नुपर्दछ र समय समयमा अनुगमन समेत गर्नुपर्दछ ।

६. घरेलु तथा साना उद्योगलाई सामाजिक दुरी कायम गरी आवश्यक सामाग्रीहरुको उपलब्ध गराई सञ्चालनमा ल्याउनु पर्दछ । यस्ता प्रकृतिका उद्योगहरुलाई निश्चित अवधिसम्म ब्याज मिनाहा गरी उत्पादन बढाउन हौसला प्रदान गर्नुपर्दछ । मझौला तथा ठूला उद्योगहरुलाई ब्याजमा सहुलियत र निश्चित अवधि बढाएर प्रोत्साहन गर्नुपर्दछ । सम्भव भएसम्म उच्च सतर्कता अपनाएर उत्पादनको क्षेत्रमा समेत प्रेरित गर्नुपर्दछ ।

७. मजदुर, किसान, कर्मचारीहरुलाई सेवा सुविधा सहित काम गर्ने वातावरण मिलाउनु पर्दछ । उचित पारिश्रमिक र खाद्यान्नको व्यवस्था उद्योगहरुले व्यवस्थापन गर्नुपर्दछ । र, उद्योगहरुलाई सरकारले विशेष किसिमको प्याकेज व्यवस्था गर्नुपर्दछ ।

८. गरिब, असहाय, अति विपन्न, सिमान्तीकृत वर्गहरुको लागि सरकारले छुट्टै किसिमको राहत प्याकेज बनाएर वितरण गर्नुपर्दछ । उनीहरुको रोजगारी सुनिश्चित नहुँदा सम्म सरकारले गाँस, बास, कपासको व्यवस्था अनिवार्य मिलाउनु पर्दछ ।

९. खाद्यान्न सामाग्री बिक्री वितरण एवं राहत प्याकेजको लागि सरकारले कर नलगाई ३ वटै सरकारका निकायहरुबाट अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजनाहरु बनाउन पर्दछ । समुदाय केन्द्रीत भई शक्तिलाई विकेन्द्रीकरण गरेर करको दायरालाई निर्धारण गरी यस संकटको घडीमा नागरिकहरुलाई करको त्रासबाट मुक्त गर्नुपर्दछ ।

१०. राज्यको अर्थतन्त्रलाई मजबुत बनाउनको लागि व्यक्ति, परिवार, समुदाय, समाजलाई केन्द्रमा राखि स्रोत र साधनहरुमा समुदायको पहुँचलाई प्राथमिकतामा राख्नुपर्दछ । सरकारका ३ वटै निकायहरुले समन्वयकारी, अनुगमन र नियमनकारी भूमिका निर्वाह गर्नुपर्दछ । राज्य सञ्चालनका लागि आवश्यक मात्रामा कर निर्धारण गर्नुपर्दछ ।

११. भीमकाय प्रोजेक्टलाई भन्दा बढी घरेलु, साना तथा मझौला प्रोजेक्टलाई विशेष प्राथमिकता दिएर व्यक्ति, परिवार र समाजलाई आफ्नो पुरुषार्थ देखाउनको लागि समेत राज्यले हौसला, सहयोग र प्रोत्साहन गर्नुपर्दछ ।

No photo description available.

(लेखक : यमन उपाध्याय नागरिक फाउन्डेसनका अध्यक्ष हुनुहुन्छ |)

सम्बन्धित शिर्षकहरु