संविधान र सामाजिक मनोरोग – यमनाथ उपाध्याय

संविधानमा गम्भीर त्रुटीका कारण आज नेपालीहरु जातका आधारमा मर्न र मार्नको लागि तत्पर देखिएका छन् । संविधानले नै सार्वभौमसत्ता सम्पन्न राष्ट्रका नागरिकहरुलाई साझे रुपमा ‘नेपाली’ भनि सम्बोधन नगरी विभिन्न जात जातिलाई समेटिएको कारण संविधानले निर्दिष्ट गरेको अधिकार भनी  एक अर्काबीच घृणा फैलाउने कार्य गरेको देखिन्छ । संविधानको भाग ३ मौलिक हक र कर्तव्य अन्तर्गत धारा ४० मा दलितको हक भनि उपधारा ७ वटा बनाएको छ तर उक्त धारा र उपधाराहरुमा कुनै पनि जात उल्लेख गरेको छैन ।

राजनीतिक अभीष्ट पुरा गर्नको लागि निश्चित समुदायका जात, जाति र थरलाई आधार मानी राजनीतिकरण गरिएको शब्द हो ‘दलित’ । यो लामो समय देखि कुसंस्कार बसेको एउटा सामाजिक मनोरोग हो । संविधान र नेपाली बृहत् शब्दकोशलाई आधार मान्ने हो भने लामो समयदेखि शोषण, अन्याय, दमनमा परेका जुनसुकै जात, जाति र थरका मानिसहरु दलितको वर्गमा पर्दछन् । संविधानमा गुणवाचक शब्दलाई जातिवाचक शब्दमा उल्लेख गरेर सामाजिक मनोविज्ञानलाई भत्काएको छ । संविधानमा प्रयोग गरिएको खस आर्य, दलित शब्दको अर्थ जातमा केन्द्रीत गरी संकिर्णता, घृणा जस्ता कुरालाई संरक्षण गरेको देखिन्छ । नेपाली बृहत् शब्दकोशमा दिए अनुसार खस, आर्य, दलित र दलित वर्गको अर्थ उल्लेख गर्नु सान्दर्भिक हुनेछ ।
(क) खस – १) ना (सं.) रामायण, महाभारतकालदेखि प्रसिद्ध तथा सातौँआठौँ शताब्दीदेखि पश्चिमी नेपालको विस्तृत पहाडी प्रदेशमा शासन गर्दै आएको वीरता र सभ्यताका निम्ति प्रसिद्ध एक प्राचीन जाती, खसानकोे बासिन्दा, खश ।
२) खसकुरा अर्थात नेपाली भाषा अर्थात नेपाली भाषा बोल्ने बाहुन, क्षत्री, कामी, दमाई आदिको सामूहिक नाम ।
३) प्राचीन क्षत्रियको एक जाति ।

(ख) आर्य – १) वि (सं.) उत्तम श्रेष्ठ ।
२) आदरणीय, मान्य ।
३) प्रगतिशील, उत्तम संस्कारयुक्त ।
४) ना. उत्तम वा उदात्त चरित्र भएको मानिस ।
५) सानाले ठुलालाई सम्बोधन गर्दा प्रयोग गरिने शब्द ।
६) सभ्य मानिसको एक प्राचीन जाति ।

(ग) दलित – १) वि (सं.) फग्ल्याँटैफग्ल्याँटा पारिएको, दलिएको ।
२) दमन गरिएको, थिचिएको, कुल्चिएको ।
३) विध्वंस गरिएको, नष्ट गरिएको ।

(घ) दलित वर्ग – ना. समाजमा हक, इज्जत र प्रतिष्ठा समान रुपले पाउन नसकेको जाति वा समूह, सामाजिक व्यवस्थाको असमानताले सोसिएको वा पछि परेको जनसमुदाय ।

यसरी हेर्दा संविधानमा राजनीतिक अभीष्ट पूरा गर्नको लागि अतिरञ्जित तरिकाले इ शब्दहरुलाई राखिएको छ । ‘खस आर्य’ भनी  उल्लेख गरिएको ठाउँमा खसलाई विशेषणको रुपमा र आर्यलाई जातिको रुपमा लेखिएको छ । ‘आर्य’ शब्द कुनै जात नभएर गुणवाचक शब्द हो जुन माथि नै स्पष्ट पारिएको छ । त्यसैगरि दलित र दलित वर्ग पनि कुनै जातिवाचक संज्ञा होइन । जातीय भेदभाव र छुवाछूत (कसुर र सजाय) २०६८ ऐन भएता पनि सामाजिक विभेद, छुवाछूत जस्तो अमानवीय क्रियाकलापले समाजमा द्वन्द्वको बीउ बिजारोपण गरिरहेको छ । समाजका हरेक आयामहरुमा व्याप्त देखिएको विभेदको कारणले प्रत्येक वर्ष नेपालीहरु एकअर्का विरुद्ध जाइलाग्ने र अप्रिय घटनाहरु घट्ने गरेका छन् । नेपाली समाजलाई विखण्डन पारी गृहयुद्धमा धकेली यहाँको धर्म, संस्कृति, भाषा, सभ्यता, सामाजिक मूल्य र मान्यता आदि इत्यादिलाई नष्ट पार्नको लागि बाहिरी आसुरी शक्तिहरुले ठुलो योजना अनुरुप कार्य गरिरहेको कुरा सहजै बुझ्न सकिन्छ ।

चेतनाको स्तर अति न्यून रहेको नेपाली समाज सजिलै विधर्मी शक्तिको बहकावमा लाग्ने र आफ्नो जरो नष्ट गर्नका लागि उद्देलित बनिरहेका छन् । मुखबाट ब्राह्मण, बाहुबाट क्षत्री, पेटबाट वैश्य र पाउबाट शुद्र जन्मे भन्नु असान्दर्भिक, अज्ञानी महामुर्खहरुले तर्क गर्ने र गलत कुराको प्रचारप्रसार गर्ने वैचारिक जाल हो । हरेक मानिसको शरीरमा चार वटा वर्ण रहेको हुन्छ र आ–आफ्नो कर्मको आधारमा व्यक्तिले स्वयम् वर्णको छनौट गर्दछन् ।

वसुधैव कुटुम्वकम् मान्ने पूर्वीय दर्शन र सभ्यतामा हुर्केका हामी छुवाछूत, भेदभाव जस्तो अमानवीय क्रियाकलापमा चुर्लुम्म डुबेर असमानताको ठूलो खाडल सिर्जना गरेका छौँ । कडा कानून बनाएर मात्र यस्तो किसिमको क्रियाकलापलाई रोक्न र निमिट्यान्न पार्न सँकिदैन । यसको लागि सामाजिक चेतना, सामाजिक मनोविज्ञान, शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्दछ । सामाजिक सद्भावलाई सौहार्दपूर्ण वातावरणमा लैजानको निम्ति सहृदयता कायम हुनु आवश्यक छ । विद्यमान रहेका राजनीतिक दलहरुले घृणामा आधारित राजनीति र समाजलाई विभिन्न वर्गमा विभाजित गरी एक अर्कासँग लडाउने र राजनीतिक लाभ लिइरहेको कुरालाई नकार्न सँकिदैन ।Image may contain: Yaman Upadhyay, sitting and text

(लेखक :- नागरिक फाउन्डेसनका अध्यक्ष हुनुहुन्छ |)

सम्बन्धित शिर्षकहरु