हाँस्न सिक्नूहोस्, जीवन सुन्दर रहनेछ ( भीडियो सहित )

हाँस्न सिक्नूहोस् जीवन सुन्दर रहनेछ         

                         ~आचार्य राजन शर्मा (भीमसेन सापकोटा )
“संसारमा तीन प्रकारका मानिस हुन्छन् । कोही आफैँ देख्छ, कोही देखाएपछि देख्छ र कोही जति देखाए पनि देख्दैदेख्दैन ।”

जपानमा प्रायशः मन्दिरहरुका अघिल्तिर दुईवटा बाघको चित्र उभ्याइएको हुन्छ । हेर्दा सामान्यजस्तो देखिएता पनि ती दुई मूर्ति, प्रतीकमा विराट जीवन–दर्शन अटाएका छन् । ती बाघका मूर्तिमध्ये एकको मुख खुला हुन्छ । अर्को मुख ठप्प ।
जसमध्ये भाले बाघको मुख खुला रहन्छ । जसेको प्रयोग खराब विचार, व्यवहार र दूषित आत्माहरुलाई डर देखाएर भगाउनका लागि हो भने बघिनीको मुख बन्द गराइनुको अर्थ राम्रा विचार, सकारात्मक भाव र असल कुरालाई आफैँमा बचाइ राख्नु हो ।
हरेक दिन हाम्रो समाजमा, राम्रा र दूषित सबै खाले मन–मस्तिष्कसँग हेलमेल हुने गर्छ । ती मध्ये राम्रा कमै हुन्छन् । अधिकांश विकारग्रस्त । जब हामी नराम्राबाट आफू प्रभावित बन्छाँै, त्यति बेला हाम्रो राम्रो पन गुम्छ र हामी ‘हामी’ रहँदैनौँ । त्यसैले आफू आफैँं भएर बाँच्न बघिनीले झैं राम्रा कुरा आफूभित्रै बचाउनु राम्रो हुन्छ । यो कलासँग पूर्वीय विद्वान् चाणक्य सहमत हुँदै भन्छन्– “बुद्धिमान् मानिस थोरै बोल्छ, धेरै सुन्छ र धेरै विचार गर्छ ।”
मान्छे कहिले डर बोल्छ, कहिले रहर बोल्छ, कहिले औपचारिकता र कहिले बाध्यता बोल्छ, आफ्नै कुरा ऊ मुस्किलले बोल्न सक्छ । आ–आफ्नो प्राकृतिक बोली बोल्न सकिएन भने मानिस बेचैन बन्छ, गुम्सिएका भावहरुले दुःख मात्र हैन रोगसमेत निम्त्याउने आयुर्वेद चिकित्साको सिद्धान्त छ । तसर्थ कम बोल तर आफ्नै बोली बोल, यो सुखको कारक हुन्छ । त्यसो भागवत गीतामा पनि यही भाव उल्लेख छ– स्वधर्मो निधनं श्रेयः परधर्मो भयावहः ।

तिमीलाई अरुको मुखबाट जस्तो शब्द सुन्ने विचार हुन्छ आफू त्यस्तै बोल्ने प्रयास गर । हाँसो दिँदा हाँसो फर्कन्छ र रिस दिँदा रिसै फर्कन्छ । नराम्रो कुरा बोल्नै पर्दा पनि शब्द मात्र फेरबदल गरियो भने यसले सबैलाई लाभैलाभ पु¥याउँछ । अक्सर गरेर हामीले अरुप्रति आभारीका शब्द बोल्न कन्जुस्याइँ गरेनौँ भने कम्तीमा मनको मैलो त्यत्तिकै निखार्ने बानी हुन्छ ।
मनलाई सुखको अवस्थामा पु¥याउने विभिन्न उपायमध्ये मनोविज्ञानले हाँस्न सक्नुलाई ठूलो उपलब्धी ठह¥याएको छ । जोसँग भेट हुँदा पनि कटुता नराखी मुस्कुराउने र दिनमा पटकपटक खुलेर हाँस्न सक्ने मानिस हृदय रोगबाट टाढा हुन सक्ने एक अनुसन्धानले देखाएको छ । यसै कारण संसारका विभिन्न देशमा हाँस्य क्लबहरु खोलिएको पाइन्छ । हाँसोले जीवनमा उत्साह लिएर आउँछ ।
चाणक्यमा सूत्रबद्ध गरिएको छ– “निरुत्साहाद्दैवं पतति ।”
निरुत्साहित र हाँस्न नसक्ने मान्छेले आफ्नो भाग्य नै गुमाउँछ । हाँस्न नसक्ने निराश मानिसहरु तनाव र मुटु रोगका शिकार हुन्छन् । ‘स्ट्रेस हर्मोन’का कारण मानिसलाई डर, चिन्ता बढी हुन्छ । शरीरमा ‘‘स्ट्रेस हर्मोन’’ सक्रिय भयो भने डर मात्र लागिरहन्छ । नेपालमा भुइँचालोको बेला बिरामीको रगत परीक्षण गर्दा धेरै मानिसमा ‘‘स्ट्रेस हर्मोन’’को मात्रा बढी भेटिएको डाक्टरले बताएका छन् । लगातार भुइँचालो आइरहेका कारण धेरै मानिस डराएका थिए । त्यस्तै, राजनीतिक वा बाहिरी घटनाले पनि मानिसलाई चिन्तित बनाउँछ ।
कतै कफ्र्यु लाग्यो, कतै गोली चल्यो, कतै बन्द भयो, मुठभेड भयो यी घटनाले मात्रै चिन्ता दिने होइन । यी जम्मै कुरा सुनेपछि तपाईंमा ‘स्ट्रेस हर्मोन’ निःसृत हुन्छ र तपाईंलाई डर वा चिन्ता लाग्न थाल्छ । यदि सबै नकारात्मक घटना सुनेर पनि ‘स्ट्रेस हर्मोन’ रिलिज हुनदेखि रोक्न सकियो भने केही हुँदैन । यस्ता घटना सामान्यतः बालबालिकाले पनि सुनेका हुन्छन् तर उनीहरुलाई यी घटनाले छुँदैन वा उनीहरुलाई थाहा छैन र उनीहरुलाई चिन्ता हुँदैन । भयले लखेट्दैन । घटनाले तपाईँलाई दुःखी बनाउँदैन, त्यो घटनाप्रतिको तपाईंको प्रतिक्रियाले दुःखी बनाउने हो । डर र चिन्ता आउन शरीरमा ‘‘स्ट्रेस हर्मोन’’ सकृय हुनुपर्छ । ‘स्ट्रेस हर्मोन’ले सकारात्मक र नकारात्मक दुवै कार्य गर्छ । अहिले संसारमा हजारभन्दा बढी रोग छन् । वैज्ञानिकहरूले यो पनि भनेका छन् कि मानिसलाई लाग्ने सबै रोगको पछाडिको कारण ‘‘स्ट्रेस हर्मोन’’ पनि हो ।
अलिअलि त ‘स्ट्रेस हर्मोन’ पनि चाहिन्छ, नत्र मानिसले सही ढङ्गले काम गर्दैन तर, धेरै भयो भने गाह्रो पार्छ । ‘स्ट्रेस’ धेरै भयो भने त्यसलाई ‘टी–स्ट्रेस’ भनिन्छ । यो धेरै ‘स्ट्रेस हर्मोन’ आउनदेखि रोक्न पनि हाँसोले काम गर्छ । कसरी भने, हाँस्दा ‘एन्डोर्फिन्स्’ रिलिज हुन्छ, यो सकारात्मक ‘हर्मोन’ हो । पोजिटिभले नेगेटिभलाई काट्छ । कोठामा त अँध्यारो वा उज्यालो मात्रै हुन्छ, दुवै एकै साथ त हुँदैन । निरन्तर हाँसिरहने मानिसमा एन्डोर्फिन्स बढी निस्कन्छ, जसले ‘स्ट्रेस हर्मोन’लाई कम गर्छ र दुःख–चिन्ता कम हुन्छ । डर दुई प्रकारका हुन्छन्– ‘वास्तविक’ डर हुन्छ । आगलागी भयो भने त डराउँनै पयो । अर्को ‘अवास्तविक’, मानिस त्यत्तिकै के–के परिणाम सम्झेर पनि डराइरहेको हुन्छ । भविष्यप्रति एकप्रकारको फोविया नै छ उसलाई । यो त्यत्तिकै डराउने समस्याको समाधान हाँसो नै हो । वैज्ञानिकहरूले निरन्तर हाँस्नेहरूलाई ‘डिप्रेसन’ नहुने पनि पत्ता लगाएका छन् । डिप्रेसन उसैलाई हुन्छ, जसको शरीरमा ‘सेरोटानिन’ भन्ने हर्मोन कम निस्कन्छ वा निस्कँदैन । त्यस्तै, एन्डोर्फिन्स निस्केन भने पनि डिप्रेसन हुन्छ । शरीरमा सकारात्मक हर्मोन निकाल्न सघाउने एउटै माध्यम हो, हाँसो । कुनै रोगका कारण मानिस हाँस्नै नसक्ने अवस्थामा पुग्यो भने त बेग्लै कुरा तर, सामान्यतः हाँस्न सक्ने अवस्था छ भने हाँसो धेरै रोगका लागि रामबाण हुने गर्छ ।
हाँसोको विज्ञानलाई ‘Gelotology’ भनिन्छ । हाँसोले शरीर र मनमा पार्ने प्रभावबारे अध्ययन यसले गर्दछ । तर, हाम्रो समाजमा हाँसोलाई त्यति महत्त्व पनि दिइँदैन । हाम्रोमा परम्परागत रुपमा नै ‘हाँस्यो कि नास्यो’ भन्ने अवधारणा पनि छ । अब यसको लाभ पक्ष हेर्दै यसलाई सम्पादन गरेर ‘हांँस्यो कि रोग नास्यो’ बनाउनु पर्ने भएको छ । हाम्रोमा गम्भीर प्रकृतिका मानिस वा भद्रभलादमीहरू खासै हाँस्दैनन् । हाम्रोमा कि त केटाकेटी हाँस्छन् कि त महिलाहरु हाँस्छन् वा गम्भीर नहुनेहरु हाँस्छन् भन्ने अवधारणा रहँदै आएको छ । समाजका प्रतिष्ठित कहलिएकाहरु नहाँस्ने, परिवारमा ठूलाबडा नहाँस्ने भएपछि हाँसोले महत्त्व पाउन सकेन । तर अनुसन्धानले देखाएको छ कि हाँसोले भौतिक, मानसिक, सामाजिक र आर्थिक लाभ दिलाउँछ । यसबारे धेरै अध्ययन भइसकेको छ, अझै पनि हुँदैछ ।
शारीरिक व्यायामले शरीर स्वस्थ राख्छ । स्वास्थ्य नै सुखको कारकमध्ये एक हो । आवश्यक मात्रामा शारीरिक कसरत हुन सकेन भने मानिस शारीरिक र मानसिक रुपमा स्वस्थ हुँदैन । शारीरिक व्यायामले दिने लाभ हाँसोले पनि दिन्छ भन्ने ‘गेलोटोलजिस्ट’ ले पत्ता लगाएका छन् । शारीरिक व्यायामले शरीरमा जे प्रभाव पार्छ वा जस्तो फाइदा पु¥याउँछ, त्यो हाँसोले पनि दिन्छ । हाँस्दा मात्रै अनुहारका ४४ वटा मांसपेशी सक्रिय हुन्छन् । हाँस्दा धेरै मांसपेशीको कसरत हुने हुँदा हाँसिरहने मानिसको अनुहार त्यति बिग्रँदैन । जस्तो उमेर अघि नै चाउरी पर्दैन, खटिरा आउँदैन ।
अनुहारलाई प्राकृतिक रूपमा सुन्दर राख्न हाँसोको विशेष भूमिका रहन्छ । अप्राकृतिक साधनको प्रयोग अत्यधिक गर्दा अनुहार सुन्दर बनाउन सकिएला, त्यसले नकारात्मक असर गर्छ, तर हाँसोको कुनै असर ‘साइडइफेक्ट’ छैन, फाइदैफाइदा छ । साना बच्चा र खासगरी तरन्नेरीहरुको अनुहारमा जुन चमक हुन्छ, त्यसको पछाडिको कारण हाँसो हुन्छ किनभने केटाकेटी र युवती अलि खुलेर हाँस्छन् । अर्को कुरा, हाँस्दा सबैभन्दा बढी पेट चल्छ । हाँस्दा पेट चल्ने भएकाले अंग्रेजीमा ‘बेली–लाफ’ पनि भनिन्छ । हामी पनि ‘पेट मिचिमिची हाँसियो’ भन्छौँ । हाँसोले पेटको सम्पूर्ण भागको एक्सरसाइज हुन्छ । पेटसम्बन्धी रोग निको पार्न पनि हाँसो लाभदायी हुन्छ । यदि पेट घटाएर सुन्दर वा सुन्दरी देखिने हो भने पनि हाँसो निकै उपयोगी हुन्छ । मान्छेको करुपता पेट बढ्नु पनि हो । उमेर छँदै पेट बढ्यो भने कुरुप त भइन्छ नै, सँगसँगै ‘डायबिटिज’ पनि निम्तिन्छ । सामान्यतः पेट थोरै मात्रै बढ्दा पनि मधुमेहले आक्रमण गर्ने सम्भावना धेरै नै रहन्छ ।
हाँस्दा अनुहार, पेट मात्रै नभएर पूरै शरीरका मांसपेशी अछुतो रहँदैन । हातखुट्टा चल्छन् । पूरै शरीर थर्कन्छ पनि । यसलाई बुझ्नका लागि घर ढलानको उदाहरण हेर्न सकिन्छ । सामान्यतः हामीले ढलान गर्दा डन्डीले घोँचेर सिमेन्ट खँदिलो बनाउँछौँ । तर, ठूल्ठूला घर ढलान गर्दा भाइब्रेटरको प्रयोग गरिएको हुन्छ । भाइब्रेटरले जुन कम्पन पैदा गर्छ, त्यसले ढलान गरेको ठाउँमा सिमेन्टलाई खँदिलो बनाउँछ । त्यस्तै, मजाले हाँस्ने मान्छेको पनि पूरै शरीर भाइब्रेट हुन्छ । जसकारण पूरै शरीरका कोषमा व्यायाम हुन पुग्छ, शरीरलाई खदिँलो र स्फूर्त बनाउँछ । आधा घन्टा व्यायाम गर्नु र पाँच मिनेट हाँस्नुको फाइदा एउटै हुन्छ । अचेल योगमा पनि एउटा पद्धति विकास भएको छ, त्यसलाई भनिन्छ,– हाँस्य योग ‘लफ्टर योग’ भन्ने नामले समेत पुकारिन्छ । जसमा केही बेर मजाले दिल खोलेर हाँसिन्छ, वा हाँस्ने अभ्यास गरिन्छ । यो पद्धति अस्ट्रेलिया, युरोप, अमेरिका लगायतका देशमा बढी नै लोकप्रिय हुन लागेको छ ।
एउटा संस्कृत श्लोक छ :
चन्दनं शीतलं लोके, चन्दनादपि चन्द्रमाः ।
चन्द्रचन्दनयोर्मध्ये शीतला साधुसंगतिः ।। (स्रोत : नीतिपद्य)
अर्थात् सुखी मान्छे र असल

मित्र चन्द्रमा र चन्दनभन्दा पनि शीतल हुन्छन्, जब कि संसारमा चन्दन र त्यो भन्दा धेरै चन्द्रमा शीतल हुन्छ भन्छन् ।

दार्शनिक पामको भनाइमा ईश्वरको रुप हाँसोमा हुन्छ ।
यसो भनिन्छ, हाँसे

र बोल्नेले खुसी लिन्छ र अरूलाई पनि खुसी दिन सक्छ । तसर्थ हाँस्न सक्नुमा सुखको सूत्र लुकेकै छ । मान्छेको मस्तिष्कमा औसत एक सय विलियन न्यूरोन्स हुन्छन् । ३५ वर्षपछि दिनहुँ करिब सात हजार न्यूरोन्स क्षय भएर जान्छन् । ती न्यूरोनलाई नष्ट हुन नदिन, आहार–विहार र व्यवहार शुद्ध हुनु जरुरी छ । जब आहारविहार र व्यवहार शुद्ध हुन्छ तव मान्छे हाँस्न सक्छ । रोगी र निरास मान्छे हाँस्न सक्दैन । हाम्रो शरीरमा ६३९ वटा मांसपेशी हुन्छन् । एक जना मानिस हाँस्दा करिब ४४ वटा मांशपेशीको एकैसाथ अभ्यास हुने हुँदा आजैबाट परिवारमा हाँसोको संचार ल्याऔँ ।
एक निमेष हाँसेको फोटोले कोठै प्रफुल्ल देखिन्छ भने दिनहुँ हास्न सके जिन्दगी कति झलमल्ल होला ।

यो लेख आचार्य राजन शर्मा (भीमसेन सापकोटा ) द्वारा लिखित बहुचर्चित उत्प्रेरणात्मक कृति ‘सुखसूत्र ‘ बाट सभार गरिएको हो । लेखकको अनुमति विना यो लेख वा यसको कुनै पनि अंश पुन;प्रकाशन वा लेखन , वा नक्कल गर्न पाइने छैन । यो लेखको भिडियो अंशको लेखक कै स्वरमा सुन्न तलको भिडियो क्लिक गर्नु होला :

सम्बन्धित शिर्षकहरु