
काठमाडौं । पशु सेवा विभागले दशैंलाई लक्षित गर्दै सार्वजनिक गरेको पोस्टर विवादास्पद बनेको छ । सार्वजनिक पोस्टरमा नेपालको राष्ट्रिय जनावर र हिन्दू धर्मावलम्बीले लक्ष्मी मानेर पूजा गर्ने गाईको समेत तस्वीर समावेश गरेपछि चौतर्फी विवाद भएको छ । गाई नेपालको राष्ट्रिय जनवार हो । संविधानले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र भनेको छ ।
तर पनि नेपाल हिन्दु बाहुल्य राष्ट्र हो । हिन्दुहरूले गाईलाई पुज्ने गर्छन् । सँगै राष्ट्रिय जनवार भएका कारण गाई काट्नु वा मासु खानु भनेको कानुन विपरितको काम हो । केही समय अघि सुर्खेतमा भिरबाट २ सय भन्दा बढी काईगोरू खसालेर मारेको घटना समेत ताजै छ । उक्त घटनाले दशैभर हंगामा मच्चिएको थियो । अहिले फेरी यस्तै काण्ड बाहिरिएको छ ।
मासुजन्य पदार्थको रुपमा खसी, बंगुर, भेडा, माछासँगै गाईको तस्वीर राखिएपछि विवाद भएको हो । पोस्टरका अन्य तस्वीरहरुमा पनि विचार पुर्याइएको छैन । स्वच्छ मासु भनिएको पोस्टरमा पाठाले दूध खाइरहेको बाख्राको तस्वीर पनि राखिएको छ ।
विभागद्धारा क्षमायाचना
यसैबीच पशु सेवा विभागले त्रुटि भएको स्वीकार गर्दै क्षमयाचनासहित पोस्टर सच्याइसकेको र सम्बन्धित निकायमा पत्रचार समेत गरिसकेको जनाएको छ । विभागका महानिर्देशक डा। वशी शर्माले पोष्टरमा छपाइको त्रुटिका कारण गाइको तस्वीर पर्न गएको स्वीकार्दै सरोकारवालाहरुको गुनासोलाई मध्यनजर गरी सच्याइसकेको विज्ञप्तीमा जनाईएको छ ।









