एजेन्सी । च्याम्पियन्स लिगमा अपेक्षाकृत प्रदर्शन गर्न नसकेको बार्सिलोनाले टोलीमा व्यापक परिवर्तन गर्न लागेको छ । सोचे अनुरुप चल्न नसकेका स्टार खेलाडीलाई हटाउँदै नयाँ अनुहार ल्याउने प्रयासमा रहेको बार्साले यहि क्रममा अयाक्सका १९ वर्षिय कप्तान मथ्थायस डे लाइटलाई टोलीमा भित्र्याउने पक्का भएको छ ।
महँगा खेलाडी किन्न माहिर बार्साले उनलाई करिब ७५ मिलियन यूरोमा खरिद गर्न लागेको बताइन्छ । अहिले अनुबन्धनको कार्य अन्तिम चरणमा पुगेको बताईएको छ । १९ वर्षको उमेरमा नेदरल्याण्डसको क्यब अयाक्सको कप्तानी गर्दै च्याम्पियन्स लिगको सेमिफाइनल पु¥याएका डिफेन्डर मथ्थायसको प्रदर्शन पछिल्लो समय चर्चाको विषय बनेको थियो । उनको बलियो प्रदर्शनको बलमा अयाक्सले रियल मेड्रिड र युभेन्टसलाई हराउँदै सेमिफाइनल पुगेको थियो ।
सेमिफाइनलको पहिलो लेगमा टोटेनह्यामलाई १–० ले हराइ फाइनल पुग्ने पनि लगभग निश्चीत भएपनी दोश्रो लेगमा चुकेको अयाक्सको मुख्य प्रेरणा मथ्थायसलाई सोही बेला देखि बार्साले आँखा लगाएको बताइन्छ । युभेन्टसलाई हराउँदा उनले गोल पनि गरेका थिए ।
च्याम्पियन्स लिगनै अयाक्सको लागि मथ्थायसको अन्तिम प्रतियोगिता भएको अयाक्सका सिईओ एडविन भ्यान डर सारले बताइसकेका छन् । उनलाई खरिद गर्न युभेन्टस, लिभरपुल र मेनचेष्टर युनाइटेडले पनि इच्छा देखाएको बताइएको छ ।
बार्साले यसअघि अयाक्सकै मिड फिल्डर फ्रेन्की डे जोङलाई पनि टोलीमा भित्र्याइ सकेको छ । मेनचेष्टर सिटीसँग डे जोङ भित्र्याउने प्रतिस्पर्धामा बार्साले बाजी मारेको थियो । अयाक्सले दुई महत्वपूर्ण खेलाडी गुमाउनु अघि गत मे ५ मा विलेम दोश्रो क्लबलाई हराउँदै केएनभीबी कपको उपाधी जितिसकेको छ ।