एजेन्सी । बार्सिलोनाले ला लिगा फुटबलको शीर्ष स्थानमा फराकिलो अग्रता कायम राखेको छ। आइतबार स्ट्राइकर लियोनेल मेसी ह्याट्रिक गरेपछि रियल बेटीसविरुद्ध बार्सिलोना ४–१ ले विजयी रह्यो। बार्सिलोनाका लागि थप एक गोल लुइस स्वारेजले गरे। रियल बेटीसका लोरेन मोरोनले एक गोल फर्काएपनि टिमका लागि निर्णायक बन्न सकेन्।
पहिलो हाफको १८ औं मिनेटमा मेसीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए। ४५ औं मिनेटमा पुन उनले ब्यक्तिगत तथा टिमको लागि पनि दोस्रो गोल गरे। पहिलो हाफमा २–० को अग्रता बनाएको बार्सिलोनाले खेलको ६३ औं मिनेटमा अग्रता तेब्बर बनायो।
८२ औं मिनेटमा घरेलु टोलीका मोरोनले एक गोल गर्दै खेलमा गोल अन्तर घटाउने प्रयास गरे तर ८५ औं मिनेटमा मेसीले लालिगामा ३३ औं ह्याट्रिक पुरा गरे। जितसँगै बार्सिलोनाले लिगमा १० अंकको अग्रता कायम राखेको छ। बार्सिलोनाले २८ खेलबाट ६६ अंक जोडेको छ। दोस्रो स्थानको एथलेटिको म्याड्रिडको ५६ अंक रहेको छ। पराजित रियल बेटीस ३९ अंकसहित आठौं स्थानमा रहेको छ।








