काठमाडौं । भारतीय क्रिकेट टिमका पुर्व कप्तान महेन्द्र सिंह धोनी भारतीय टी-२० टिममा फर्किएका छन्।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डले न्युजील्याण्डका लागि सोमबार सार्वजनिक गरेको टी-२० टिममा धोनी फर्किएका हुन्। यसअघि धोनी हालै वेस्ट इन्डिज र अस्ट्रेलियाविरुद्धको टी-२० टिममा परेका थिएनन्। फेब्रुअरीको सुरुमा हुने न्युजील्याण्डसँगको टी-२० सिरिजका लागि धोनी विकेटकिपर ब्याट्सम्यानको रुपमा टिममा फर्किएका हुन्।
त्यसै गरी हाल अस्ट्रेलियामा टेस्ट खेल खेलिरहेको भारतीय टिमको एकदिवसीय टिमबाट विकेटकिपर ब्याट्सम्यान रिषव पन्तलाई हटाइएको छ। रिषवको ठाउमा दिनेश कार्तिकलाई मौका दिइएको छ। रिषव न्युजील्याण्डविरुद्धको टी-२० सिरिजमा भने टिममा समावेश रहेका छन्।
भारतले हाल अस्ट्रेलियाविरुद्ध टेस्ट सिरिज खेलिरहेको छ। यसअघि सम्पन्न २ टेस्ट खेलमा १-१ को बराबरी रहेको छ भने अब २ टेस्ट खेल्न बाँकि रहेको छ। त्यस्तै यसै भ्रमणका क्रममा भारतले अस्ट्रेलियासँग ३ एकदिवसीय खेलको सिरिज पनि खेल्ने छ।
भारतीय टी-२० टिममा विराट कोहली (कप्तान), रोहित शर्मा, शिखर धवन,के एल राहुल, दिनेश कार्तिक, महेन्द्र सिंह धोनी, केदार जादव, रिषव पन्त, हार्दिक पाण्डेय, क्रुनाल पाण्डेय, भुवनेश्वर कुमार, कुलदीप यादव, युजवेंद्र चहल, जसप्रीत बुमराह, खलील मोहमद।








