काठमाडौं । भूकम्पबाट भत्केको बिपी राजमार्ग मर्मतसम्भार गर्न जापान सरकारले रु एक अर्ब ८५ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ। अनुदान सहयोगसम्बन्धी सम्झौता तथा समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र अर्थ सचिव राजन खनालले हस्ताक्षर गरे।
पूर्वी तराईलाई राजधानी काठमाडौँसँग जोड्ने एक सय ६० किलोमिटर लामो राजमार्ग जापानी अनुदानमा निर्माण भएको हो। २० वर्षमा पूरा भएको उक्त सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको एक महिनापछि भूकम्पले प्रभावित भएको थियो।
आगामी एक वर्षमा मर्मतसम्भारको काम पूरा गर्ने लक्ष्यका साथ आगामी माघदेखि कार्यसञ्चालन हुने अर्थ मन्त्रालयले बताएको छ। कार्यक्रममा सक्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत साइगोले नेपालको कृषि उत्पादनलाई बजारसम्म पुर्याउने, बालबालिकालाई विद्यालय तथा पर्यटन प्रवर्द्धनका निम्ति महत्वपूर्ण सिन्धुली सडक पुनर्निर्माणमा जापानले पुनः सघाएको बताए।सचिव खनालले नेपालको सामाजिक–आर्थिक विकासमा जापानबाट निरन्तर सहायता प्राप्त भएकामा हार्दिक आभार व्यक्त गरे।रासस








