बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल

CA-buildingकाठमाडौँ, १६ असार । व्यवस्थापिका–संसदको आजको बैठकमा प्रस्तुत आब २०७२÷७३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सभासद्हरुले परम्परागतभन्दा कार्यान्वयनमुखी योजना बनाउन र पुनःनिर्माण तथा कृषिमा प्राथमिकता दिन सुझाव दिएका छन्।

बैठकमा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले आब २०७२÷७३ को बजेटको पहिलो प्राथमिकतामा गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारी सुनिश्चितता हुनुपर्ने बताए ।

विनियोजित बजेट पूर्ण खर्च हुने प्रावधान राख्न, भूकम्पबाट भएको क्षतिको संरचनाका पुनःनिर्माण तथा पुनःस्थापनाका लागि योजना बनाउँदा विद्यालय, पुरातात्विक स्थल, सरकारी भवन, सहरी तथा ग्रामीण भवन जस्ता अलगअलग भवन तथा असुरक्षित वस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न उपसभापति पौडेलले आग्रह गरे ।

उनले बजेटमा महिला शसक्तीकरण, गरिबसँग विश्वेश्वर जस्ता कार्यक्रमलाई निरन्तरता दिन र विनियोजित बजेट छिटो तल्लो तहमा कार्यान्वयनमा पु¥याउन जोड दिए ।

नेकपा एमालेका नेता भरतमोहन अधिकारीले भूकम्पबाट भएको क्षतिको पुनःनिर्माण तथा पुनःस्थापनासम्बन्धी प्राधिकरणलाई आर्थिकरुपमा सक्षम बनाउनुपर्ने र अर्थतन्त्र थप बलियो बनाउन विदेशी लगानी आकर्षण गर्नुपर्ने बताए ।

पूर्व अर्थमन्त्री अधिकारीले निर्यात वृद्धि साना तथा घरेलु उद्योगका उत्पादनबाट मात्र हुने भएकाले तिनको प्रवद्र्धन हुने नीति ल्याउन र सामाजिक सुरक्षाअन्तर्गत ज्येष्ठ नागरिक, महिला, बालबालिकालाई ध्यान दिन आग्रह गरे ।

एकीकृत नेकपा माओवादीका नेता डा बाबुराम भट्टराईले आर्थिक वृद्धि सर्पको जस्तो घस्रिनेभन्दा भ्यागुताको जस्तो उफ्रने प्रकारको हुनुपर्नेमा जोड दिँदै यसपटक राजनीतिक स्थायित्व आउने हुँदा आर्थिकवृद्धि माथि उठाउन सही समय हुने वताए ।

उनले निरपेक्ष गरिबी घटाउने, बेरोजगारी समस्या हटाउने, पराधीन अर्थतन्त्रबाट मुक्त गर्ने, गरिबबीचको असमानतालाई हटाउने बजेटको सिद्धान्त र प्राथमिकता हुनुपर्छ भने । नेता डा भट्टराईले भूकम्पले क्षति भएका संरचनाको पुनःनिर्माण तथा पुनःस्थापनाका लागि बजेटमा पहिलो प्राथमिकतामा रहनुपर्छ यो काम प्राधिकरणमार्फत नै हुनुपर्छ भने । उनले कृषिको आधुनिकीकरण र व्यावसायिकीकरणलाई प्राथमिकतामा राख्न पनि सुझाव दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सुशीलकुमार श्रेष्ठले पूर्व बजेट छलफलका लागि पर्याप्त समय हुनुपर्ने र कार्यान्वयनमुखी बजेट आउनुपर्ने बताए।

मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका जितेन्द्रनारायण देवले आर्थिक वृद्धिका लागि कृषिलाई प्राथमिकता दिनु परम्परागत सोच हो भन्दै मुलुकको क्षमताअनुसारको जलविद्युत् आयोजना सञ्चालनमा ध्यान दिनुपर्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहराले भूकम्पपीडितले पाउने जस्तापाता वापतको रु १५ हजार समेत नपाएको गुनासो आएको भन्दै पुनःनिर्माणका लागि घरबारविहीनलाई सरकारले दिने भनिएको सहयोग परिचालनका लागि स्पष्ट कार्ययोजना ल्याउन माग गरे ।

नेकपा मालेका सिपी मैनालीले कृषि, उद्योग र रोजगारीको विकासमा ध्यान दिँदै ऊर्जा र पूर्वाधार विकासलाई प्राथमिकता दिन सुझाव दिनुभयो ।

सभासद् कुन्तीकुमारी शाही, प्रकाश ज्वाला, नवीन्द्रराज जोशी, रेवतीरमण भण्डारी, ध्यानगोविन्द रञ्जित, कृष्णभक्त पोखरेल, वीरबहादुर बलायर, विकास लम्साल, रामेश्वर फुयाल, यज्ञराज सुनुवार, गुरुप्रसाद बुर्लाकोटी, आङदाबा शेर्पा, आनन्द पोखरेललगायतले पनि छलफलमा भाग लिनुभयो । पूर्व बजेटमाथिको छलफल आगामी बैठकमा पनि जारी रहनेछ । संसद्को अर्को बैठक यही असार १७ गते बिहीबार दिउँसो ३ बजे बस्नेछ ।

सम्बन्धित शिर्षकहरु