काठमाडौँ । सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने टि-२० विश्वकपको एसिया उप-क्षेत्रिय छनौट प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेल आज म्यानमारसँग खेल्दैछ। प्रतियोगितामा सहभागी हुन नेपाली क्रिकेट टिम सोमबार मलेसिया पुगीसकेको छ। पहिलो खेल आज नेपाली समय अनुसार अपराह्न १२:१५ बजे सुरु हुनेछ।
एसिया “बि” उप-क्षेत्रिय छनौट ( पूर्वी ) प्रतियोगितामा नेपाल सहित मलेसिया, भुटान, म्यान्मार, चिन, सिंगापुर, र थाईल्याण्ड रहेका छन्। यस उप-क्षेत्रबाट शिर्ष ३ टोलि एसियाली क्षेत्रिय छनौट प्रतियोगिताका लागि अगाडी बढ्नेछन्। एसियाली क्षेत्रिय छनौट प्रतियोगिताका लागि यसअघि नै एसिया “ए” उप-क्षेत्रबाट ( पश्चिमी ) युएई, कुवेत र कतार छनौट भैसकेका छन्।
प्रतियोगितामा सबै टोलीले एक अर्कासँग खेल्ने छन् । पहिलो खेलमा आज म्यान्मारसँग खेलेपछि नेपालले दोस्रो खेल आयोजक मलेसियाबिरुद्ध अक्टोबर ६ तारिखमा, तेस्रो खेल अक्टोबर ७ मा थाइल्याण्डबिरुद्ध, चौथो खेल अक्टोबर ९ मा भुटानबिरुद्ध, पाँचौ खेल अक्टोबर १० मा चीनबिरुद्ध र अन्तिम तथा छैठौं खेल अक्टोबर १२ मा सिंगापुरबिरुद्ध खेल्ने छ ।
तुलनात्मक रुपमा कमजोर राष्ट्रहरु सहभागी रहे पनि प्रतियोगिताको लागि नेपालली टिम बलियो देखिएको छ । भर्खरै सम्पन्न एसिया कप छनौटमा टिममा रहेका सुबास खकुरेल, सागर पुन, रोहित पौडेल टिममा छैनन्। खकुरेललाई एसिया कप छनौटमा कमजोर प्रदर्शन पछि प्रारम्भिक टिममा नै राखिएको थिएन भने फर्ममा नरहेका रोहित यु-१९ युथ एसिया कप खेल्न बंगलादेशमा रहेका छन् ।
अहिले राष्ट्रिय टिममा प्रदिप ऐरि र शरद भेसावकरले कम्ब्याक गरेका छन्। प्रदिपले भने ३ बर्षपछि राष्ट्रिय टिममा कम्ब्याक गरेका हुन्। यसै बर्ष जेठमा राजधानीमा सम्पन्न प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा उत्कृस्ट प्रदर्शन गरेपछि ऐरी यस एसिया कप छनौट प्रतियोगिताको प्रारम्भिक टोलीमा परे पनि अन्तिम छनौटमा पर्न असफल रहेका थिए। प्रधानमन्त्री कपमा प्रदीपले १ शतक सहित ३१५ रन बनाउँदै उत्कृस्ट ब्याट्सम्यान बनेका थिए। त्यस्तै शरदले नेदरल्याण्ड एकदिवसीय टुरमा फिल्डिङको क्रममा हातमा चोटको कारण एसिया कप छनौट गुमाएका थिए।
टि-२० विश्वकप छनौट खेल्ने नेपाली टिममा पारस खड्का ( कप्तान ) , ज्ञानेन्द्र मल्ल ( उपकप्तान ) , अनिल साह, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, प्रदिप ऐरी, सन्दिप लामिछाने, शरद भेसावकर र सोमपाल कामी रहेका छन्।
नेपाली टिमसँग प्रशिक्षक जगत टमाटा, ब्यबस्थापक/एनालिस्ट रमन शिवाकोटी र फिजियो दिनेश भट्ट पनि मलेसिया गएका छन्।








