काठमाडौं । देशका विभिन्न भागमा आएको बाढी–पहिरोले ११ जनाको मृत्यु हुनुका साथै तराई क्षेत्रमा हजारभन्दा बढी घर डुबानमा परेका छन्। डुबानग्रस्त क्षेत्रका पीडित घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन् भने सरकारको उद्धार प्रयास अत्यन्तै फितलो देखिएको छ। आइतबार र सोमबार देशभर भएको वर्षा र त्यसपछि आएको बाढी र डुबानमा परी ११ जनाको मत्यु भएको गृहमन्त्रालयले जनाएको छ। गृहका अनुसार रोल्पामा लगातारको वर्षाका कारण घरमाथिको पर्खाल भत्किँदा सुत्केरीसहित तीन जनाको ज्यान गएको छ । रुन्टिगढी गाउँपालिका–५ सैबाङकी २२ वर्षीया कमला विकको घरमाथिको पर्खाल भत्किँदा आगो तापिरहेकी सुत्केरी कमला विक, उहाँकी १८ दिनकी छोरी आयुसा र छिमेकी १५ वर्षीया चित्रा विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुँयालले जानकारी दिनुभयो । सोमबार बिहान साढे १० बजेतिर घरमाथिको पर्खाल भत्किएर घर पुरेको हो ।
बाँकेमा बाढीमा परी चारजनाको ज्यान गएको छ । बैजनाथ गाउँपालिका ५ गुरुवागाउँका ३५ बर्षिय लोकबहादुर सुनार र ६५ वर्षीय तुलाबहादुर बुढाको ज्यान गएको । यस्तै घर नजिकै आएको बाढीले बगाएर ४ वर्षका बालक रञ्जित पासीको पनि ज्यान गएको छ । डुडुवा गाउँपालिका २ जाफरपुरवाका राम नारायण यादवकी ४ वर्षीया छोरी रिमादेवी यादवको घर नजिकैको खाल्डोमा डुबेर ज्यान गएको हो ।
पर्साको पर्सागढी नगरपालिका ४ मा बाढीले बगाउँदा एक किशोरीको ज्यान गएको छ भने एकजना बेपत्ता भएका छन् । १५ वर्षीया प्रतिमा रामको ज्यान गएको हो भने १५ वर्षीय सुरेन्द्र महतो बेपत्ता हुनुभएको छ । बेपत्ता भएकाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौंको धर्मस्थली महादेव खोलाले बगाउँदा एकजनाको ज्यान गएको छ । कच्ची घर भत्किँदा कैलालीको गोदावरी नगरपालिकामा एक जनाको ज्यान गएको छ । सिन्धुलीमा पनि बाढीले बगाउँदा एक जनाको ज्यान गएको छ ।








