अफगानिस्तानमा बम विस्फाेट हुँदा १७ को मृत्‍यु, दर्जनौ घाइते,तालिबानले जिम्मा लिएन

काठमाण्डौ । अफगानिस्तानको लागोर प्रान्तमा रहेको पाउल ए सिटी शहरमा भएको कार बम आक्रमणमा परि १७ जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन ।

सरकारी सेवा लिनका लागि लाम लागेर बसेका सर्वसाधारणलाई लक्ष्य गरी बिहीबार कार बम आक्रमण भएको थियो ।

आक्रमणमा परेर कम्तीमा पनि १७ व्यक्तिको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस घटनामा परी दर्जनौँ व्यक्ति घाइते भएका छन् ।

उनीहरुलाई उपचारार्थ अस्पताल लगिएको बताइएको छ । यस आक्रमणको अहिलेसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । तालिबान आतङ्ककारी समूहले पनि यस आक्रमणको अस्विकार गरेका छन् ।

यसअघि पनि गएको माहिनामात्र रमाजानको अवसरमा त्यही कार्यालयमा भएको रक्तपातपूर्ण हमलामा २० जनाको ज्यान गएको थियो । यो बम हमलामा परेर भौतिक क्षति पनि पुगेको अफगानिस्तानको गृह मन्त्रालयलाई उद्धृत गर्दै टोलो समाचारले जनाएको छ ।

अहिलेसम्म यस हमलाको कसैले पनि जिम्मेवारी नलिएको जनाएको छ । तर सुरक्षाबल र सरकारी कर्मचारीलाई लक्ष्य गरी भीषण आक्रमण गर्ने घोषणा गर्ने गरेका तालिवानी आतंककारी समूहले नै यो आक्रमण गरेको अनुमान प्रहरीको रहेको छ ।

यस आक्रमणमा मृत्यु भएका व्यक्तिहरु सबै सर्वसाधारण नै रहेका अफगान सरकारको गृह मन्त्रालयले जानकारी दिएको छ । यस आक्रमण रक्तपातपूर्ण रहेको मन्त्रालयले जनाएको छ ।

टोलो समाचारले हमलामा घाइते भएका अधिकांशको अवस्था अत्यन्तै गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न पनि सक्ने जानकारी अधिकारीहरुले दिएका बताएको छ ।

यद्यपी लामो समयदेखि ढिलाइ भइरहेको अफगान सरकार र तालिबानबीचको शान्तिवार्ता आउँदाे हप्ता सुरु हुने सम्भावना बढेको जनाइएको थियो । अफगान राष्ट्रपति अस्रफ घानीले तालिबानसँगको मध्यस्थता वार्ता हुन लागेको गएकाे मंगलबार संकेत गर्नुका साथै दुबै पक्षबीच तीन दिने युद्धविरामका लागि सहमति भएको बताएका छन ।

पहिलो चरणको युद्धविराम मुस्लिम समुदायको महान पर्व इद अल–अधाको पहिलो दिन आजबाट सुरु हुनेछ, र यो अरु दुई दिन निरन्तर जारी रहने बताइएको छ ।तालिबान समूहले नै यसपटक युद्धबिरामका लागि प्रस्ताव गरेको थियो । राष्ट्रपति घानीले पनि तालिबान समूहसँगको मध्यस्थता प्रयासमा निकै प्रगति भएको बताएका थिए ।

यसअघि अफगानिस्तानका जेलमा बन्दी रहेका तालिबान समूहका नेता, कार्यकर्ता र लडाकूको विना शर्त रिहाइका विषयमा अफगान सरकार र तालिबानबीच मतैक्य हुन सकेको छैन । राष्ट्रपति घानीले सरकारी अधिकारीलाई सम्बोधन गर्दै भन्नुभएको छ, ‘शान्तितर्फ सरकारको प्रतिबद्धता जनाउँदै इस्लामिक गणतन्त्र अफगानिस्तानले पाँच हजार तालिबानी बन्दीलाई मुक्त गर्ने कार्य चाँडै सम्पन्न गर्नेछ ।’

पाँच हजार तालिबानी युद्धबन्दीलाई मुक्त गर्न यसअघि गत फेब्रुअरीमा अमेरिका र तालिबानबीचको एक सम्झौतामा सहमति भइसकेको छ । राष्ट्रपति घानीले तालिबान समूहसँगको प्रत्यक्ष मध्यस्थता वार्ता अर्को साताभित्रै सुरु हुने सम्भावना रहेको बताए ।

सम्बन्धित शिर्षकहरु