चुहिने छाना,चिसो भुइँ, अँध्यारो कोठाको कबर्डहलमा डा. केसीको सत्याग्रह

काठमाडौं । जिल्ला खेलकुद विकास समिति जुम्लाको कभर्ड हलको छाना चुहिने छ, भुइँ चिसो छ, कोठा अँध्यारो छ । काठमाडौंबाट आएका डा. गोविन्द केसी अनशनमा छन् । उनीमाथि प्रहरीको निरन्तर निगरानी छ । प्रतिकूल अवस्थामा अनशनरत डा. केसीको स्वास्थ्य बिग्रँदै गएको छ । जिल्ला खेलकुद विकास समितिको अव्यवस्थित कभर्डहलको चिसो भुइँमा अनशन बस्दा उनको स्वास्थ्यमा समस्या देखिन थालेको हो ।

चिसोका कारण केसीको हातखुट्टा सुनिने, रिंगटा लाग्ने, टाउको दुख्ने, छातीको धड्कन बढ्नेलगायतका समस्या देखिन थालेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । प्रहरीको निगरानीमा अनशन थालेका डा. केसीलाई राखिएको कबर्डहल निकै अव्यवस्थित छ । जहाँ बिजुली छैन, पानी र शौचालय पनि अभाव छ । निकै कष्टका साथ अँध्यारोमा रात बिताउनुपरेको उनका सहयोगीसमेत रहेका भाइ किशोर केसीले बताए । दियालोको सहायताले रात काटेको उनले बताए ।

‘ठूलो कभर्डहलमा पानी चुहिन्छ, चिसो बढेको छ, कपडाको व्यवस्था पनि राम्रो छैन,’ उनले भने, ‘यस्तै अवस्था रहे केसीको स्वास्थ्यमा छिट्टै गम्भीर समस्या आउने देखिन्छ ।’ डा. केसीलाई जिल्ला प्रशासन कार्यालय परिसरबाट प्रहरीले पक्राउ गरेपछि प्रहरी घेराभित्रै अनशन घोषणा गरेका उनलाई प्रहरी नियन्त्रणमा कभर्डहल राखिएको छ ।

केही त्यहीँ अनसन बसेका छन् । डा. केसीको उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर प्रवीण गिरी, डाक्टर धीरज गुरुङ, डाक्टर सिद्धार्थ खत्रीसहितको टोली खटिएको छ ।

प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको र त्यसको जिम्मा प्रतिष्ठानले लिन नसक्ने बताए । उनले भने, ‘बारम्बार कभर्डहलमै गएर केसीको स्वास्थ्य अवस्था बुझ्न अप्ठ्यारो छ ।