एजेन्सी- संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदको सदस्यबाट रूसलाई निलम्बित गरिएको छ। बिहीबार राष्ट्रसंघको विशेष महासभामा भएको मतदानमा रूसलाई सदस्यबाट हटाउनु पर्ने पक्षमा बहुमत राष्ट्रले मतदान गरेपछि डेढ महिनादेखि युक्रेनमा आक्रमण गरिररहेको रूस निलम्बनमा परेको हो।
रूसलाई निलम्बन गर्नुपर्ने पक्षमा ९३ मत परेको थियो भने विपक्षमा २४ मुलुकले मत दिएका थिए। ५८ मुलुक तटस्थ बसेका थिए।मतदानमा नेपाल पनि तटस्थ बसेको थियो। गत फेब्रुअरी २४ मा रूसले युक्रेनमाथि आक्रमण थालेपछि राष्ट्रसंघमा भएका सबै मतदानमा नेपालले आफूलाई युक्रेनको पक्षमा उभ्याउँदै आएको थियो। नेपालका दुई छिमेकीमध्ये भारत मतदानका क्रममा तटस्थ बसेको थियो भने चीनले प्रस्तावको विपक्षमा मत दिएको थियो।संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदबाट कुनै मुलुकलाई बिरलै निलम्बन गरिन्छ। यसअघि सन् २०११ मा सरकार विरोधी प्रदर्शनकारीमाथि चरम दमन गरेको भन्दै लिवियालाई निलम्बन गरिएको थियो। अहिले युक्रेनमाथिको आक्रमण गरिरहेको रूसलाई युक्रेनमा मानव अधिकारको गम्भीर उल्लंघन गरेको आरोपमा निलम्बन गरिएको हो। रूसको आक्रमणमा परेर युक्रेनले हाल निकै ठुलो क्षति ब्यहोरिरहेको छ। युक्रेनका सर्वसाधारणहरुले निकै सास्ती भोगिरहेका छन । उनीहरुको दैनिकी निकै कष्टकर समेर बनिरहेको छ। [Ausnepalnews:Kathmandu]