काठमाडौं । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुख्य लगानी एमके भनिने मोहनकुमार अग्रवालको अनामनगरस्थित घरमा प्रहरीले छापा मारेको छ । सुन तस्करीको अनुसन्धान गर्न गठिन विशेष अनुसन्धान समितिले शुक्रबार उनको घरमा छापा मारेर केही महत्वपूर्ण कागजातहरु बरामद गरेको छ ।
अग्रवाल भने प्रहरीले सुन प्रकरणको अनुसन्धान थाले लगत्तै घरमा ताला लगाएर फरार छन् । उनी भारतमा लुकेर बसेको आशंका गरिएको छ । सुनसरीको धरान उपमहानगरपालिका–३ स्थायी घर भएका अग्रवाललाई छानबिन समितिले नियन्त्रणमा लिने प्रयास गरे पनि हालसम्म पक्राउ पर्न सकेका छैनन् ।
यसअघि सुन तस्करी प्रकरणमा पक्राउ परेका राप्रपा (प्रजातन्त्रिक) का नेता भुजुङ गुरुङले गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठन भएको समित समक्ष बयान दिने क्रममा ३३ किलो सुनको लगानीकर्ता मोहनकुमार अग्रवाल भएको बताएका थिए ।
यस काण्डमा पक्राउ परेका अन्य केहीले पनि अग्रवालको नाम लिएका छन् ।
छानविन समितिले अग्रवालको घरमा काम गर्ने एक युवतीलाई बोलाएर सोधपुछ गरेको थाहा पाएसँगै अग्रवाल पत्नीसमेत घरमा ताला बन्द गरेर भारततिर लागेको बताइएको छ ।
‘साढे ३३ किलो सुनमा मोहन अग्रवाल ‘एमके’ले लगानी गरेका थिए’– जिल्ला अदालत मोरङमा पेश भएको अभियोग पत्रमा उल्लेखित भुजुङको बयानमा भनिएको छ– ‘उक्त सुनको कमिसन मैले पनि पाउँथे तर गत फागुन ९ गते थाई एयरलाइन्स हुँदै काठमाडौं आएको उक्त सुन लुटिएको कुरा डा. भन्ने छिरिङ वाङ्गेल घले मार्फत मैले थाहा पाएको हुँ ।’
२०६९ सालपछि सुन तस्करी गर्न थालेका अग्रवालका तीनजना दाजुभाइ नै यस्तो काममा संलग्न रहेको पाइएको छ । राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ र चूडामणि उप्रेती ‘गोरे’सँग मिलेर सुन तस्करी सुरु गरेका एमके अग्रवाल समूहले बैङ्कक र दुईबाट सुन ल्याउने गर्थे ।
सुन तस्करीका भरिया सनम शाक्य हत्या र सुन तस्करी मुद्धामा अहिले प्रहरीका वरिष्ठ अधिकारीहरु पनि पूर्पक्षका लागि जेलमा छन् । मोरङ जिल्ला अदालतमा मुद्धा चलिरहेको छ ।
यता समितिले पनि अनुसन्धानको काम गरिहेको छ । समितिलाई थपेको म्याद यही जेठ मसान्तमा सकिदैछ । तर, समितिले तस्करीको साढे ३३ किलो सुन र यसका मुख्य अभियुक्तहरुलाई पक्राउ गर्न सकेको छैन ।
दैनिक नेपाल








