मसान भगाउने बहानामा लुटिएको गहना बरामद

पुस १४ ।पर्सा,मसान भगाउने बहानामा लुटेर लगिएको सुनको गहना पथलैया औद्योगिक क्षेत्रको जितपुरबाट प्रहरीले  बरामद गरेको छ ।
घरभित्र रहेको मसान भगाउनका लागि पूजा गर्ने भन्दै कैलालीको धनगढीबाट लुटिएको गहनामध्ये केही गहना प्रहरीले बरामद गरेको हो।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य गोपाल हमालकी पत्नी शारदालाई झुक्याएर मङ्सिर २६ गते लुटिएको ५१ तोलामध्ये ३१ तोला गहना आइतबार इलाका प्रहरी कार्यालय सिमराले बरामद गरेको हो । प्रहरी निरीक्षक कुमारविक्रम थापाले सूचनाका आधारमा जितपुरस्थित इसरायल मियाँको घरबाट गहना बरामद भएको जानकारी दिए ।

उहाँले घटनामा संलग्न इसरायलकी पत्नी ३१ वर्षीया तैरुन नेसा र उनकी बहिनी २६ वर्षीया खैरुन नेसा र पति इसरायल पनि फरार रहेको बताउनुभयो । अरू २० तोला गहना र लुटेराको खोजी भइरहेको थापाको भनाइ छ ।
घटनाको अनुसन्धानका लागि आएका जिल्ला प्रहरी कार्यालय धनगढीका प्रहरी नायब निरीक्षक निरक रावलका अनुसार लुटिएका गहनाको विवरण जाँच गर्दा थुप्रै गहना गायब छन् ।

सम्बन्धित शिर्षकहरु