असनेपाल न्युज सम्बाददाता/
साउन ६, काठमाडौँ- निर्माणको क्रम देखि नै अत्याधिक चर्चामा रहेको नयाँ नेपाली कथानक चलचित्र “ठूली” नेपालमा भाद्र ६ गते रिलिज हुने भएको छ। डाईनामिक मिडियाले चलचित्र अस्ट्रेलियामा पनि एकै साथ प्रदर्शनी गराउने तयारी गरेको मिडियाका संचालक राम रुवालीले जानकारी गराउनु भएको छ ।

पुस्कर पन्त निर्माता र सुनिल बस्नेत कार्यकारी निर्माता रहेको यो चलचित्रलाई सुर्य बोहराले निर्देशन गर्नु भएको हो। ठूली नेपाली परम्परागत समाजको कुरीति बिरुद्धको नारी प्रधान चलचित्र हो। नेपाली समाजमा बिध्यमान महिला माथिको दमन र अत्याचार अनि सामाजिक विसंगतिहरुको सत्य घटनामा आधारित यो चलचित्रले महिला माथिको दमन र अत्याचारको बिरुद्ध नारि अवाज ससक्त बनाउन मद्दत गर्ने आशा गरिएको छ।
काठमाडौँ र चितवनको थारु बस्ति रहेको विभिन्न ग्रामिण क्षेत्रहरुमा यो चलचित्र लाई छायांकन गरिएको छ यस चलचित्रको गीत संगीतले अहिले बजारमा दर्शक तथा स्रोताहरुको मन जित्न सफल भैसकेको छ। ठूली चलचित्रलाई अहिले यस बर्ष निर्माण भएका चलचित्र मध्य एउटा ठुलो सम्भावना बोकेको चलचित्रको रुपमा नेपाली चिने बजारमा हेर्न थालिएको छ। यस चलचित्रमा गरिमा पन्त र जीवन लुइँटेल मुख्य भूमिकामा रहने छन ।
एभरेस्ट कला यात्रा फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र “ठूली”मा शेर बहादुर लामाको छायांकन र बसन्त सापकोटाको संगीत रहेको छ। यस नेपाली चलचित्र “ठूली” लाई अस्ट्रेलियामा प्रदर्शनको निमित्त सिड्नीमा स्थापित “डाईनामिक मिडिया प्रोडक्सन एंड डिस्ट्रिब्युशन सर्भिसेस” ले पूर्ण अधिकार लिएको छ।
अस्ट्रेलियामा पहिलो प्रदर्शन अगष्ट २४ तारिख आइतबारका दिन बेलुका ६ बजे Hurstville को “Civic Theatre” बाट शुरुवात गरिने भएको छ। प्रबेस शुल्क २० डलर राखिएको यसको टिकट धमाधम बिक्रि भैरहेको आयोजकले जानकारी दिएको छ । “भर्खर फस्टाउदै गरेको नेपाली फिल्म बजारलाई परदेशबाट समेत सक्दो प्रबर्धनको निमित्त एक पटक हल सम्म आई सबैले हेरी सहयोग पुर्याउन हुनको निमित्त सम्पूर्ण नेपाली समुदाय तथा नेपाली फिल्मलाई माया गर्नु हुने दर्शक महानुभावहरुमा अनुरोध समेत गरिएको छ” आज आयोजकबाट वितरित प्रेस बक्तव्यमा भनिएको छ।








