काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले विश्व क्रिकेटकै सर्वाधिक पुरानो मैदानका रूपमा रहेको चर्चित इङ्ल्याण्डको लर्डस् क्रिकेट मैदानमा त्रिकोणात्मक टी-२० सिरिज खेल्ने भएको छ। मेरिलबोन क्रिकेट क्लब (एमसीसी) ले सोमबार विज्ञप्ति जारी गर्दै नेपाल, नेदरल्याण्ड र एमसीसीबीचमा टी-२० श्रृखंला आयोजना गर्ने जनाएको छ।
जुलाई २९ लर्डस् क्रिकेट मैदानमा हुने प्रतियोगितामा सहभागी तीन टिमले एक अर्कासँग प्रतिस्पर्धा गर्ने छन्। प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। श्रृंखलाको पहिलो खेल बिहान र फाइनल खेल साँझ हुनेछ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले ‘होम अफ क्रिकेट’ भनेर चिनिने लर्डसमा खेल्न पाउनु नेपाली क्रिकेटका लागि सुखद भएको बताए।
उनले नेपाललाई आमन्त्रण गरेकोमा एमसीसीलाई धन्यवाद दिँदै बेलायतमा रहेका नेपालीले मैदानमा उपस्थीत भएर टिमको हौसला बढाउने विश्वास व्यक्त गरे। एमसीसीका क्रिकेट प्रमुख जोन स्टेफेनसनले नेपाल र नेदरल्याण्डलाई लर्डसमा स्वागत गर्न पाउँदा निकै गौरवान्वित भएको उल्लेख गरेका छन्। यस अघि पनि नेपालले एमसिसीको निमन्त्रणामानै २०१६ को जुलाई १९ मा लर्डसमा पहिलो पटक खेल्ने मौका पाएको थियो। एमसीसीविरुद्धको खेलमा नेपाल ४१ रनले विजयी भएको थियो।
-thahakhabar.com








