बार्सिलोनाको अपराजित यात्रा कायमै

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा रहेको बार्सिलोनाको अपराजित यात्रा कायमै रहेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिको बिल्बाओलाई २ शून्यले हराएको छ । बार्सिलोनाको अपराजित यात्रा कायमै राख्न अल्कासेरले र लियोनेल मेस्सीले गोल गरे । खेलको ८ औं मिनेटमा अल्कासेरले र ३० औं मिनेटमा मेस्सीले गोल गरे । त्यसपछि दुवै पक्षबाट खेलमा कुनै गोल हुन सकेन ।

जितसँगै अंक तालिकामा बार्सिलोनाले ११ अंकको अग्रता बनाएको छ । प्रतियोगितामा बार्सिलोना २९ खेलमा अपराजित छ । पछिल्ला २९ खेलमध्ये बार्सिलोनाले २३ मा जीत र ६ वटामा बराबरी गरेको हो । ला लिगामा सन् १९७९–८० मा रियल सोसिडाडले ३२ खेल अपराजित रहँदै कीर्तिमान बनाएको थियो ।

जारी प्रतियोगितामा बार्सिलोनाले ९ खेल खेल्न बाँकी छ । यीमध्ये लगातार ७ खेलमा अपराजित रहे अहिलेसम्मकै धेरै खेलमा अपराजित हुने कीर्तिमान बार्सिलोनाले राख्नेछ । अंक तालिकाको दोश्रो स्थानमा रहेको एथ्लेटिको मड्रिड भिल्ला रियलसंग २–१ ले पराजित भएको छ । एण्टोनियो ग्रिजम्यानको पेनाल्टी गोल मार्फत एथ्लेटिको मड्रिडले अग्रता लिएपनि भिल्ला रियलले अन्तिम ८ मिनेटमा २ गोल थप्दै जीत हात पारेको हो ।

सम्बन्धित शिर्षकहरु