साउन २९, काठमाडाैँ । केहि दिनदेखिको लगातारको वर्षाका कारण अाएको बाढी-पहिरोले देशभरको जनजीवन अस्तव्यस्त तथा शोकाकुल बनाएको छ । तरार्इका अधिकांश जिल्ला डुवानमा पर्दा हजारौं सर्वसाधारण बिस्थापित भएका छन् भने पहिरोको कारण थुप्रै सडक खण्डहरू बन्द भएका छन् । गएको ३ दिनमा बाढी-पहिरोले ५८ जनाको ज्यान लिइसकेको छ भने २३ जना अझै बेपत्ता रहेका छन् । यहि ३ दिनमा कयाैँ मानिस घाइते भएका छन् भने कयाैँ घरबार विहिन बनेका छन् । हालसम्म सुनसरीमा ८, रौतहटमा ७, मोरङमा ५ तथा झापा, बाँके र सिन्धुलीमा ४/४ जनाको मृत्यु भएको छ । रौतहटमा बाढीले जीप बगाउँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । चितवनमा बाढीमा परी २ जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका ८ मा पम्फा खोलाले बगाउँदा स्थानीय ४३ वर्षीया गुमन कुमारी राना मगरको मृत्यु छ । त्यस्तै, इच्छाकामना गाउँपालिका ३ ओरेकमा बारबाङ खोलाले बगाउँदा स्थानीय २३ वर्षीय कमलबहादुर चेपाङको मृत्यु भएको छ । बाराको पसाहा खोलामा आएको बाढीमा डुबेर महागढीमाई १ बरियारपुरका नुरैन मियाँको १२ बर्षीय छोरा मैफुज मियाँको मृत्यु भएको छ । धनुषाको नगराइन नगरपालिका ४ की ११ वर्षिय दुर्गाकुमारी राउत पनि बाढी परेर मृत्यु भएको छ । यस्तै, सुर्खेतको गुर्भाकोट ६ वडाखोलीमा आज विहान पहिरो खसेर घर बगाउँदा ८३ बर्षीय गुमानसिंह बुढा, १४ बर्षका बिक्रम बुढा र १२ बर्षका सरन बुढाको मृत्यु भएको छ ।
यसैबीच सल्यानको खलंगाबाट दाङतर्फ गईरहेको ना ३ ख ३२३० नम्बरको बसलाई ढुङ्गाले किच्दा बसमा सवार २७ वर्षर्ीय कमल पुनको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–१२ पेडागाउँकी ३३ बर्षिया निर्मला बाँठा मगरको हापुर खोलाले बगाउँदा मृत्यु भएको छ । महोत्तरीको जलेश्वर २ मा दहमा डुबेर १४ बर्षीय बिक्की ठाकुरको मृत्यु भएको छ । लगातारको बर्षाका कारण बाढी पहिरो प्रभावितलाई तत्काल उद्दार गर्न कठिनाई भएको सरकारले जनाएको छ । तराईका धेरैजसो बस्ती डुबानमा परेका छन् । यस्तै बाँकी रहेका केही बस्ती पनि डुब्ने खतरामा रहेका छन्। मोरङ, सुनसरी लगायत पूर्वी क्षेत्रमा अहिलेसम्म राहत पुर्याउन नसकेको प्रहरीले जनाएको छ। संचार सम्पर्क, बिजुली बत्ति र प्रहरीको सञ्चार सेटमा खराबी आउँदा उद्धारमा कठिनाई भइरहेको हो। पानी परिरहेकाले उद्दारमा खटिएको टोली पनि प्रभावित भएको छ।यसरी तीन दिनको बर्षाले देशमा भयावहको स्थिति निम्त्याएको छ ।








