काठमाडौं । निर्वाचन आयोगले दलको आधिकारिक हस्ताक्षर बुझाउन दुई दिनको समय दिएको छ ।मंगलबार एक सूचना जारी गर्दै स्थानीय तह निर्वाचन प्रयोजनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १८ बमोजिम राजनीतिक दलहरूको तर्फबाट विभिन्न पदका उमेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको सम्बन्धित दलको पदाधिकारीको विवरण आयोगले मागेको हो। यसअघि आयोगले आधिकारिक व्यक्तिकोनाम, थर, पद र निजको दस्तखतको नमूना सहितचैत ३० गतेसम्म पेश गर्न भनेको थियो । तर, प्रदेश नं. ३, ४ र ६ मा मिति वैशाख ३१ तथा प्रदेश १, २, ५ र ७ मा मिति जेठ ३१ गतेलाई मिति तय भएकाले र केही दलहरु छुटेकाले सो व्यवस्था गरिएको बताइएको छ।
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दिएको जानकारीअनुसार स्थानीय तहको निर्वाचनमा भाग लिन जिल्लागत विवरण पेश गरी दलको तर्फबाट उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार पाएको व्यक्तिको विवरण यही १२ र १३ गते बुझाउन छुटेका दललाई आग्रग गरिएको हो । आयोगका अनुसार यसअघि ८३ दलले मात्रै आधिकारिक हस्ताक्षर बुझाएका थिए । विशेषगरी मधेसकेन्द्रित दलले संविधान संशोधन नभएसम्म निर्वाचनमा भाग नलिने भनेकाले सो विवरण पेश गरेका थिएनन् । अहिले ति दलपनि निर्वाचनमा आउने भनेपछि विवरण पेश गर्न भनिएको हो। यसरी मनोनयनको औपचारिक पत्र पेश गर्ने पदाधिकारीको नाम, थर, पद र दस्तखत नमूना पेश गर्दा निम्नबमोजिमको प्रकृया पुरा गर्नुपर्ने आयोगले जनाएको छ।
१. दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समितिले सोही समितिको पदाधिकारीलाई त्यस्तो दलको तर्फबाट मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकार पाएको पदाधिकारीको नाम, थर, पद र निजको दस्तखतको नमूना आयोगमा पेश गर्न तोक्ने गरी गरेको निर्णयको प्रमाणित प्रतिलिपि संलग्न गर्नुपर्ने ।
२. प्रकरण १ बमोजिम तोकिएको पदाधिकारीले मनोनयनको औपचारिक पत्र प्रमाणित गर्नका लागि सम्बन्धित दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समिति वा प्रदेश समितिको पदाधिकारीको नाम, थर, पद र दस्तखत नमूनाको सक्कलै प्रति पेश गर्नुपर्ने ।
३. प्रकरण २ बमोजिमको मनोनयन पत्रको औपचारिक पत्र प्रदान गर्नका लागि सम्बन्धित दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समिति वा प्रदेश समितिको एक वा एकभन्दा बढी संख्यामा पदाधिकारी तोक्न सकिने र यसरी एकभन्दा बढी संख्यामा पदाधिकारी तोक्दा आयोगले निर्धारण गरेको ढाँचामा निजले औपचारिक पत्र प्रदान गर्ने अधिकार पाएको क्षेत्र (प्रदेश वा जिल्ला) समेत खुलाई छुट्टाछुट्टै फारम पेश गर्नुपर्ने ।
४. प्रकरण २ वा ३ बमोजिमको दलको मनोनयनको औपचारिक पत्र प्रमाणित गर्ने पदाधिकारी निर्वाचन आयोगमा अद्यावधिक गरिएको सो दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको समिति वा प्रदेश समितिको पदाधिकारी हुनुपर्ने ।









