नेपालको इतिहासमै पहिलो पटक संयुक्त ख्रीष्टमस महोत्सव

असनेपाल न्युज संवाददाता ,  काठमाडौं ।  इसाई धर्मालम्बीहरुको प्रभु येशू ख्रीष्टको जन्म दिवसको अवसरमा इतिहासमै पहिलो पटक नेपालका विभिन्न ख्रीष्टियन संघ संस्था तथा मण्डलीहरुले संयुक्त रुपमा ख्रीष्टमस मनाउदै शुभकामना आदान प्रदान गरेका छन् ।
उपत्यकाव्यापि संयुक्त ख्रीष्टमस महोत्सव मुल समारोह समितिद्वारा काठमाडौको जमल स्थित नाँचघरमा सुक्रबार आयोजित कार्यक्रममा मन्त्रीदेखि लिएर विभिन्न धर्मका धर्मगुरुहरुले सबै धार्मिक समुदायको स्वतन्त्रताको वकालत गर्दै ख्रीष्टमसको शुभकामना व्यक्त गरेका हुन ।

कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुदमन्त्री महेशजंग गहतराजले नेपालको संविधानमा धर्मनिरपेक्षताको व्यवस्था भइसकेकाले धर्म परिवर्तन गर्न पाउने पनि व्यक्तिको अधिकार भएको बताउनु भयो । उहाँले एउटा धार्मिक समुदाय उत्पिडनमा पर्नु सबै धर्मालम्बीको समस्या भएको भन्दै सबै धर्मालम्बीले साझा प्रयत्न गरिए मात्र यस्ता समस्याको समाधान हुनेमा जोड दिनुभयो ।

बागमति प्रदेश संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले आफ्नो दृष्टिमा सबै धार्मिक समूदाय आदरणीय रहेको भन्दै प्रभु येशुप्रति पनि उत्तिकै सदभाव रहेको धारणा व्यक्त गर्नु भयो ।

कार्यक्रममा अनुपस्थित रहनुभएका उपराष्ट्रपति नन्द बहादुर पुन पासाङले ख्रीष्टमसले सिंगो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ बनाउदै प्रत्येक नेपाली जनताको आर्थिक सामाजिक रुपान्तरण सहित र समुन्नत नेपाल निर्माणमा अघि बढ्न सबै नेपालीलाई उर्जा प्रदान गरोस भन्दै शुभकामना पठाउनु भएको थियो ।

इभान्जलिकल ख्रीष्टियन फेलोसिपका संस्थापक अध्यक्ष डा साइमन पिटरले आफू एक इसाई भएकै कारणले विगतमा कठोर यातना भोग्नु परेको तितो अनुभव सुनाउनु भयो । उहाँले सरकारले आर्थिक सामाजिक र राजनीतिक सबै क्षेत्रमा ख्रीष्टियनहरुलाई पनि सहभागि गराएर विकास निर्माण अघि बढाउनुुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका अर्का विशेष अतिथि आदिवासी जनजाति महासंघका पूर्व महासचिब आङकाजि शेर्पाले अरु धर्मालम्बीको तुलनामा ख्रीष्टियन समूदाय धेरै उत्पिडनमा परेकोले उनीहरुको पक्षमा आफूले आवाज उठाउदा धेरै आलोचनाहरु खप्नु परेको बताउनु भयो । उहाँले आफ्नो धार्मिक विधिको अभ्यास गर्दा समेत राज्यले गरेको विभेदपूर्ण अन्याायप्रति ख्रीष्टियनहरु सहेर बस्न नहुने भन्दै एकजुट भएर यसको विरोध गर्न उनीहरुलाई सुझाव दिनुभयो ।

नेपाल मण्डली महासंघका अध्यक्ष तथा रेभरेन्ट पास्टर सुबास सुब्बाले नेपालका विभिन्न ख्रीष्टियन सम्प्रदायबीचको अनेकताको दुरी हटाएर एकतामा आउन सुझाव दिदै एकताले मात्र राजनीतिमा प्रवेश पाउनदेखि लिएर अधिकारका लागि सफलता प्राप्त्त गर्न सकिने धारणा व्यक्त गर्नु भयो ।

शुभकामना मन्तव्य दिन उपस्थित भएका हिन्दु, मुस्लिम लगायतका धर्मका अगुवाहरुले धार्मिक स्वतन्त्रताको वकालत गर्दै अल्पसंख्यक धार्मिक समूदायलाई पनि राज्यले उत्तिकै सम्मान र अधिकार दिनुपर्नेमा जोड दिए ।

ख्रीष्टमस मुल समारोह समितिका संयोजक रेभरेन्ट शमुएल खातीले विश्वभर साता व्यापिरुपमा मनाइने ख्रीष्टमसको उपलक्ष्यमा सम्पूर्ण नेपालीमा प्रेम शान्ति एकता भाइचारा सुख एवं समृद्धिको कामना गर्नुभयो ।

विगतका बर्षहरुमा छुट्टाछुट्टै स्थानमा ख्रीष्टमस मनाउदै आएका नेपाली ख्रीष्टियनहरुले इतिहासमै पहिलो पटक संयुक्त रुपमा ख्रीष्टमस महोत्सवको आयोजना गरेका हुन ।

काठमाडौ,भक्तपुर, ललितपुर तथा धादिङ लगायतका जिल्लाहरुमा स्थापित मण्डलीहरु एकतावद्ध भई आयोजना गरिएको यस ख्रीष्टमस महोत्सव विभिन्न प्रकारका नृत्य तथा गायन प्रस्तुत गरेर हर्षेल्लासपूर्वक सम्पन्न गरियो ।

मानव जातिलाई आफ्नो बलिदानद्वारा मुक्ति र उद्धार गर्नको लागि र परमेश्वरसँग मिलाप गराउन येशु ख्रीष्ट पृथ्विमा जन्मनु भएको सम्झना र विश्वासमा इसाईहरुले हरेक बर्षको डिसेम्बर महिनाको २५ तारिखका दिन ख्रीष्टमस मनाउने गर्दछन् ।

सम्बन्धित शिर्षकहरु