ब्रिसवेन, अष्ट्रेलिया। करिब पाँच सय दर्शकहरुको भिंडका बिच एनपीए इनको अायोजना र हिमालयन बिजनेस ग्रुपको सहयोगमा लुट -२को सफल प्रदर्शन सम्पन्न भएको छ। क्विन्सल्याण्डमा चल्ने गरेका नेपाली चलचित्रहरु मध्ये अहिलेसम्मकै अत्याधिक दर्शक संख्यामा यहाँको साउथब्यांक स्थित सिनेप्लेक्समा नेपाली चलचित्र प्रदर्शन हुनुले नेपाली चलचित्रका दर्शकहरु अहिले पनि गुणस्तरिय चलचित्र हेर्नका लागि हलसम्म जान तयार रहेको देखिएको छ।
निश्चल बस्नेतद्वारा निर्देशित यस चलचित्रमा अहिलेका अब्बल ठहरिएका सौगात मल्ल, दयाहाङ राई, विपिन कार्कि, ऋचा शर्मा लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ।
भुकम्प र नाकाबन्दिको सेरोफेरोमा उनिएको कथामा हाकु काले, गोफ्ले, नरे, कर्मा, पित्तले, माने, लगायतका पात्रहरुले कथाप्रति न्याय गरेका छन्। एलिशा राई सुन्दरीको भुमिकामा अलिक अपरिपक्व देखिएपनि उनले ठमेल बजार बोलको गितमा गरेको नृत्यले दर्शकको मन जितेको छ। नेपाली जनजिविका र छिटै धनी हुने सपनाको बीचमा हाकु कालेको मास्टर प्लान, सटिक तर भद्दा नलाग्ने डाइलगहरु र दृश्यहरु छायांकन गरिएका लोकेसनहरुले चलचित्रमा अाफ्नोपनको अाभास गराउँछ।
समग्रमा चलचित्र उत्कृष्ट छ तर केही दृश्यहरु अनावश्यक रुपमा तन्काईंदा दर्शकहरुलाई पट्यार लाग्न सक्छ। गोफ्ले र एलिशाको डेटिङ स्वभाविक लाग्दैन, गोफ्ले ग्याङ्ग र हाकु कालेको ग्याङ्ग बिच हिलोमा भएको द्वन्द्व अस्वभाविक तन्किएको भान हुन्छ। यसैगरि दृश्यहरुमा सेन्सरको कैँची चलेर हो वा अन्य कारण केहि स्थानहरुमा पात्रले बोल्ने संवाद दृश्यमा कैद हुनुपर्थ्यो जुन नहुँदा अश्वभाविक लाग्न सक्छ।
हो र होइन होला इभेन्ट्सले चलचित्र प्रदर्शनको अधिकार लिएको सिड्निमा प्रदर्शनको तयारि गरिसकेको अन्तिम अवस्थामा प्राविधिक कठिनाइले चलचित्र प्रदर्शन गर्न नसकिंदा निकै अालोचना बेहोर्नुपरेको थियो। त्यसका बावजुत ब्रिसवेनमा चलचित्र प्रदर्शन गर्नका लागि हाइलाइट्स नेपालका प्रतिनिधि अाफैंले चलचित्रको कपि लिएर अाएपछि चलचित्र प्रदर्शन गरिएको थियो।
अायोजकका तर्फबाट एनपीए ईभेन्ट्सका सुचिन के सिले हलमा देखिएको दर्शकहरुको भिंड र शो सकिएपछि पनि दोस्रो शो का लागि दर्शकहरुले देखाएको उत्साहका कारण अर्को शो मार्च १२ का दिन ब्रिसवेनमा हुने भएको छ।
लुट-२ को अन्य शोहरु क्रमश गोल्डकोष्ट, तोवम्बा र अार्मिडेलमा पनि हुने निश्चित भइसकेको छ।