भाषा गुमाएको फिजिको नेपाली वस्तिमा आशाको नयाँं लहर

“अर्को पटक आउंदा एक मुठि नेपालको माटो साथै ल्याउनु होला ‘पूजा कोठामा राखेर हरेक दिन दर्शन गर्ने छौं “~ फिजिको दुर्गम नेपाली किसान बस्ति ‘कावानाङ्गा साउ’ स्थित ‘ हेलम्बु’मा सन्चालित भाषा प्रशिक्षण शिविर कि सहभागि मन्जु हजुरआमा को अनुरोध थियो यो । वाक्य सामान्य लागे पनि मनमा गहिरो सँग बिझ्ने राष्ट्र प्रेम छचल्किएको थियो यसमा । सुन्नासाथ मुटु भक्कानियो ! चार पुस्ता अघि त्यहां पुग्ने नेपालीले नेपालको माया जसरि छात्तिमा सजाएका छन् वास्तवमा देश सन्चालन गर्ने हरूमा पनि यस्तै भावना जागेमा घरि-घरि देश दुख्ने थिएन । जती टाढा , माया गाढा । दुरताले महत्व त बढाउंछ नै यस माथि पनि बाध्यताले देश छाडेर पराई देश पुग्नु , अनि पराइ देश पुगेर पनि पुस्तौं सम्म स्वदेशको संपर्कमा रहन नपाउनुको पीडाले पिल्सिरहेको छ अझै पनि फिजीको नेपाली बस्ति १४० वर्ष देखि।
सन् १८७९ मा पहिलो कामदार ओसार्ने जहाज , लियोनिदास भारतको कलकत्ता बाट फिजी पुगेको थियो । सोझा र निराक्षर नेपाली कामदारहरूको फिजिमा पहिलो यात्रा यसै जहाज मार्फत शुरू  भयो । यस पछि का विभिन्न जहाज मार्फत सन् १९ को मध्य भाग सम्ममा थुप्रै नेपाली कामदारहरू लाई भारतीय कामदार हरू संग मिसाएर त्यहां पुर्याईयो ।

धन कमाउने केही वर्ष पछि स्वदेश फर्किने उनिहरूको पनि उत्कट ईच्छा थियो । जीवन स्तर उकास्ने र गरिबीको पर्दा बाट जीवनलाई मुक्ति दिने सपनाले उनिहरूलाई नेपाल छोडाएको थियो । नेपाल बाट भारतीय सिमा वर्ति क्षेत्र रक्सौल ,कलकत्ता , गोरखपुर लगायत का शहरमा पुगेका नेपाली हरूलाई बेलायतीसरकारका प्रतिनिधिहरू ले , फकाएर धम्क्याएर अनि अपहरण समेत गरेर फिजी जाने जहाजका यात्रि बनाएका थिए ।

“चिनी चाल्ने ‘काम हो सजिलो हुन्छ पैसा पनि टन्नै पाईन्छ “भनेर लगिएका ति कामदारहरूला ई ५५ डिग्रिको गर्मिमा जङ्गल फडानी गर्न लागाईयो । अनेकौं यातना , घोडाको चाबुक को कुटाइ , उज्यालो हुंदा देखि अध्यांरो नहुन्जेल सम्मको लामो कामको अबधि, अल्प भोजन , बलात्कार , यौन शोषण कामदार ‘अग्रिमेन्ट ‘-गिरमीटियामा जाने हरूको विशेषता बन्यो । यो पीडा उनिहरूले न त नेपाल सरकारलाई पठाउन सके न त स्वदेशका आफन्तलाई नै । चिट्ठी पत्र , र कुनै संचार माध्यम नभएको तथा फर्कन लाई पनि महिनौं लाग्ने भएकाले उनिहरू दाष झैं बन्दि बनेको पीडा, फिजीको ईतिहासमा कहिल्यै भुल्न नसकिने घाऊ बनेर चर्किरहेको छ, अहिलेको पुस्ता सम्म पनि ।
गुरु दयाल शर्माको पुस्तक, युग संवाहक बनेर अहिले पनि पुरानो पुस्ताको पीडालाई नयाँं पुस्ता सम्म संचार गरिरहेको छ ।
‘पुरानो पुस्ताले जुन दाषता भोग्नु पर्‍यो त्यो अहिले को पुस्तालाई परेन , तर फिजी पुग्ने कामदारहरूको देश सँग जोडीने अगाध इच्छा भएर पनि यो चौथो पुस्ता सम्म पनि हाम्रो धोको पुरा हुन सकेको छैन ‘-सिङ्गाटोका का प्रविण देव घर्ति को दुखेसो हो यो । सन् २०१५ मा पहिलो पटक नेपाली लाई संगठित गर्दै फिजी नेपाल अशोसिएशन गठन भयो , जुन संस्न्था फिजिमा १४० वर्षे लामो नेपाली ईतिहासको पहिलो नेपालीहरूलाई जोड्ने कोशे ढुङ्गो बन्यो । ओछ्यानमा थला परेका नेपाली समुदायकै सबैभन्दा जेष्ठ नागरिक ९९ वर्षका विक्रम सिंह को नेपाल पुग्ने छटपटि आफ्नो रोग भन्दा पनि गहिरो पीडा बनेको छ । ‘भाषा गुमाए पनि हाम्रो राष्ट्रियता छातीभरि सजिएको छ ‘-लम्बासा का सुधिर शर्मा पीडा पोख्छन्।
एक गर्भवति नेपाली चेलीले फिजिमा लगिंदा-लगिंदै पानी जहाजमै जन्माएकि सन्तानको तेस्रो पुस्ता हुन् सुधीर शर्मा । अनगिन्ति दर्दनाक घटनाको साक्षि बनेको फिजी को बन – जङ्गल अहिले गिरमिटियाको पसिना मा सिन्चित बन्दै हराभरा र व्यवसायिक खेति क्षेत्र मा रुपान्तरण भएको छ । बेलायतले उपनिवेश बनाए पछि फिजिमा बेलायति नीति लागु भयो तर फिजिका आदिवासि’काइभिति’हरू खेति नगर्ने जङ्गलमै बस्ने फल , शिकार र कन्दमुल मै जीविका गर्ने भएपछि देश बनाउने जनशक्तिको खडेरि थियो,त्यतिवेला । यहि खडेरि पुर्तिका लागि भारत बाट बेलायत सरकारले नेपाली लगायत भारतीय कामदारलाई त्यसतर्फ छल बल गरेर पुर्याएको ईतिहास अझै साक्षि छ । सन् १८ ७४ अक्टोवर १० देखि बेलायति झन्डा फहाराईएर उपनिवेश बनेको ३३२ टापुको देश  फिजी ले स्वतन्त्र  बन्न का लागि १९७० अक्टोवर १० सम्म कुर्नु पर्‍यो ।

बेलायतिहरूले निर्दोष कामदारहरू लाई दाष बनाएर शासन गरेको युग को अन्त्य भयो तर नेपाली बस्तिमा आफ्नो भाषा जोगिन भने सकेन। विछोडमा परेका स्वदेशका आफन्त हरू लाई भेट्ने धोको ४ पुस्ता सम्म अांउदा पनि उस्तै रह्यो । आफ्नो थाक थलो कहाँं थियो भन्ने कुरा विरलै नेपालीहरूलाई मात्र थाहा छ ,त्यसैले नेपालका आफन्त विच पुस्ता मिलनको अभियान चुनौति पूर्ण बनेको छ ।’ हाम्रो बाजेले बताए अनुसार हामी काठमाण्डौ नजिक को स्थान बाट आएका हौं तर पुरा ठेगाना भने अझै खोज्दैं छौं ‘-सिङाटोका जिल्ला स्थित ‘कावानाङ्गा साउ’ का जेस्ठ नागरिक चन्द्र देव प्रधान यो पंक्तिकार सँग गुनासो गर्छन्। नव गठित ‘फिजी नेपाली अशोसिएशन को पहलमा फिजिमा अब नेपाली केन्द्र बन्दैछ , यहि केन्द्र ले गुमेको नेपाली भाषा संस्कृतिको पुनर्स्थापना ,पुस्ता मिलन जस्ता अभीयान पुरा गर्न सक्ला भन्ने सबैको विश्वास बनेको छ ।उतिवेला महिलाको संख्या नगन्य थियो , ४ जना लोग्नेले  एउटै श्रीमती राख्नु पर्ने वाध्यता थियो , । अनुहार हेरेर कस्को सन्तान हो, छुट्याउनु पर्थ्यो ,~कवनाङा साउ स्थित ,  ८९ वर्षका मान बहादुर आफ्ना पिताको अनुभवलाई सुनाउंछन्। 
रास्ट्रीयता माटो मात्र हैन , भाषा र सिमाना मात्र हैन बरू भावना र देश प्रतिको अगाध श्रद्दा अनि प्रेम पनि हो । गुट ,उपगुट , र समुहमा बांडिनु देशका लागि गम्भिर घातक कुराहो , यहि सम्झन्छन् फिजिका नेपालीहरू। राइ , नेवार , बाहुन ,क्षत्रि शेर्पा , लामा , दनुवार सबै जात -जाति को विविधता छ नेपाली वस्तिमा तर उनिहरू यो वा त्यो नामको गुटमा बांडिन हैन नेपाली मात्र बन्न चाहन्छन्न उनिहरू । करिव १० हजारको संख्यामा छरिएर रहेको मानिएको नेपालीहरूलाई आफुलाई सकेको सहयोग गर्ने प्रधान मन्त्रि बेनी मारामाको प्रतिवद्दता छ । नेपालीहरू हरू संगठित भए पछि नेपाल -फिजी सांस्कृतिक दुत को अगुवाईमा प्रधान मन्त्रि कार्यालयमा यस सम्बन्धी विवरण र परीयोजना समेत पुगिसकेको छ र यो प्रस्तावित परीयोजना पारीत हुने पर्खाईमा छ ,अहिले । राष्ट्रियता बांड्ने र टुक्याउने चिज हैन, हामी नेपालमा नरहे पनि पुर्खाले छाडेको सिङ्गो नेपाल संधै बांचिरहेको देख्न चाहन्छौं ,-नाङ्ला सँगम स्कुलका नेपाली शिक्षक प्रनिल कुमार सिंह ले नेपालको पछील्लो राजनितिक स्थीतिका बारेमा बोल्दै राखेका धारणा हुन् यी ।
नागरिकता बोक्दैमा राष्ट्र प्रेमि बनिन्छ भन्ने छैन , राष्ट्रको माया कागजि नागरिकता भन्दा गरुङो हुंदोरहेछ -फिजिको नेपाली वस्तिले यो भान गराउंछ । नेपालीहरू फिजि पुगेको ४ पुस्ता पुगि सक्दा पनि अझै उनिहरू विच चम्किरहेको छ राष्ट्रियताको दियो। स्वदेश र प्रवासका लाखौंं नेपालीहरूका लागि देश छाडे पनि राष्ट्रियता छांडीदैन भन्ने एक सुन्दर उदाहरण बन्न सक्छ ,यो ।

-भीमसेन सापकोटा (आचार्य राजन शर्मा )

यस सबन्धि सवाललाई लिएर लुक्ला टेलिभिजनले लिएको अन्तर्वाताको रोचक भिडियो यस्तो छ ! 

नेपालीहरू फिजि पुगेको ४ पुस्ता पुगि सक्दा पनि अझै उनिहरू विच चम्किरहेको छ राष्ट्रियताको दियो।

सम्बन्धित शिर्षकहरु