आवश्यकताअनुरुप संविधान संशोधन गर्न सकिन्छ : नेता भट्टराई

तनहुँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेस र पहाड अलगअलग बनाउने गरी संविधान संशोधन गर्ने कार्य आफ्नो पार्टीका लागि मान्य नहुने बताएका छन् ।

नेकपा एमाले व्यासनगर कमिटी तनहुँले शुभ दीपावलीका अवसरमा आइतबार दमौलीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा उनले भने—“संविधान संशोधन आवश्यकताअनुरुप गर्न सकिन्छ तर मधेस र पहाडलाई अलगअलग हुनेगरी संविधान संशोधन गर्न सकिँदैन ।”

सचिव भट्टराईले लोकतान्त्रिक र समावेशी भएकाले नेपालको संविधान उत्कृष्ट भएको बताउँदै एमालेको विशेष भूमिकाका कारण सही समयमा संविधान घोषण भएको धारणा व्यक्त गरे ।

नेकपा एमालेका वैकल्पिक सदस्य एवम् तनहुँ इन्चार्ज प्रतापलाल श्रेष्ठ र पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य एकबहादुर रानाले यस्ता शुभकामना आदानप्रदान कार्यले सबै जातजाति तथा धर्मलाई एकताबद्ध गर्न सहज हुने बताए।

नेकपा एमाले व्यासनगर कमिटी तनहुँका अध्यक्ष मङ्गलप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सहिद परिवार तथा पार्टीलाई योगदान पु¥याउने ६० बर्ष माथिका ९० ज्येष्ठ नागरिकलाई सम्मान गरिएको सो पार्टीले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु