काठमाडौं । दुर्घटनामा परेको पूर्वगृहमन्त्री माधव घिमिरे चढेको गाडी दुई दिन वितिसक्दा पनि त्रिशूली नदीमा अझै फेला पार्न सकिएको छैन ।
आइतबार बेलुकादेखि नै खोजी कार्य जारी राखेको भए पनि सोमबार राती अबेरसम्म पनि फेला नपरेपछि मंगलबार काठमाडौं र पोखराबाट थप गोताखोरको टिमले खोजी गर्ने सशस्त्र प्रहरीका एसपी गणेश बहादुर थापाले जानकारी दिए ।
“हामीले दुई दिनदेखि खोजी जारी राखेका
छौं,” थापाले भने,“अहिलेसम्म फेला पार्न सकेनौं । मंगलबार काठमाडौं र पोखराबाट पनि गोताखोर झिकाएर खोजी गर्ने तयारीमा छौं ।”
अहिलेसम्म नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले खोजी जारी राखेको थियो । “हामीले राती पनि लाइट बालेर खोजी जारी राखेका छौं,” थापाले भने,“चार किलोमिटर टाढासम्म उज्यालो दिने लाइट प्रयोग गरेका छौं ।”
उनका अनुसार मुग्लिन, नारायणीमा पनि खोजी कार्य जारी राखिएको छ । खोजीका लागि नेपाली सेनाको टोली पनि खटिएको छ । पूर्वगृहमन्त्री माधव घिमिरे आइतबार दिउँसो परिवारसहित मुक्तिनाथबाट फर्किँदै गर्दा उनी सवार गाडी दुर्घटनामा परेको थियो । बा ९ च १५३१ नम्बरको स्कोरपियो जीपमा सात जना सवार थिए । पूर्वमन्त्री घिमिरेकी आमा, अंगरक्षक र एक आफन्तको मृत्यु भएको थियो भने घिमिरेसहित उनका भाइ प्रकाश र मोहन गरी तीनजना बेपत्ता छन् ।








