काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा क्रिकेटर सन्दीप लामिछाने अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कको एकेडेमीमा प्रशिक्षण लिन र अस्ट्रेलियाको प्रिमियर ग्रेड क्रिकेट लिग खेल्न सोमबार अष्ट्रेलिया पुगेका छन् ।
सन्दीपलाई क्लार्कले आफ्नो एकेडेमी प्रशिक्षण गर्न र क्लबबाट खेल्न प्रस्ताव गरेपछि अष्ट्रेलिया गएका हुन् । र, सन्दीप सिल्क एअरलाईनसबाट अष्ट्रेलिया पुगेका छन् । सन्दीपलाई लिन अस्ट्रेलियाका पूर्व क्रिकेट कप्तान क्लार्क आफै विमानस्थलमा पुगेका छन् । क्लार्क सन्दिपलाई रिसिभ गर्न सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमा आफै पुगेका हुन् । उनी सन्दीप लामिछाने लेखिएको प्लेकार्ड बोकेर विमानस्थल पुगेका थिए ।
१६ वर्षीय लेगस्पिनर सन्दीपले सेप्टेम्बर २६ देखि क्लार्कको एकेडेमीबाट प्रशिक्षण सुरु गर्नेछन् । सन्दीपका अनुसार उनले क्लार्कको एकेडेमीमा पाँच दिन प्रशिक्षण लिनेछन् । त्यसअघि वेष्टर्न सवर्व क्लवबाट क्लार्कसँगै रहेर सन्दीपले मासेमन क्लवबिरुद्ध अलान बोर्डर ओभेलमा एक खेल खेल्ने छन् । त्यसपछि सन्दीपले क्लार्कको क्लब वेष्ट्रन सवर्वस् डिस्ट्रिक क्लवबाट २०१६–१७ को सिजनको प्रिमियर ग्रेड क्रिकेट लिगमा खेल्ने छन् । जुन लगभग पाँच महिना चल्नेछ ।
सन्दीपले यसअघि क्लार्कसंग गत मे महिनामा हङकङमा भएको हङकङ टि–२० ब्लिट्ज क्रिकेट प्रतियोगिता खेलेका थिए । हङकङ टि–२० ब्लिट्ज क्रिकेट प्रतियोगितामा सन्दिप र क्लार्कले एकै क्लब कव्लुन केटन टिमबाट खेलेका थिए । त्यस प्रतियोगितामा सन्दिपको खेलबाट प्रभावित भएपछि क्लार्कले सन्दीपलाई अष्ट्रेलिया बोलाएको हो । अष्ट्रेलियामा रहँदा सन्दीपको सम्पूर्ण खर्च क्लार्कको एकेडमी र क्लबले बेहोर्नेछन् ।








