मेस्सीले लिए अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यास

hi-res-9e5b28850c773aafb9ca2a35e93bab87_crop_exactएजेन्सी, न्यु जर्सी । अर्जेन्टिका स्टार खेलाडी लियोनल मेस्सीले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । अमेरिकामा सोमबार बिहान सम्पन्न कोपा अमेरिका फुटबलको फाइनलमा चिलीसँग टाइब्रेकरमा पराजित भएपछि मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।

मेस्सीले खेलपछि भनेका छन, “मेरो लागी राष्ट्रिय टिम सकिएको छ । मैले सकेको जति गरेको छु तर उपाधि दिलाउन नसकेकोमा म दुखी छु ।”  चिलीसंगको ट्राइबेकरमा मेस्सीले पेनाल्टी मिस गरेपछि अर्जेन्टिना ४–२ ले पराजित भएको थियो ।

मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनी टोलीले सन् २०१४ को ब्राजिल विश्वकपको फाइनलमा जर्मनीसँग र गत बर्षको कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित भएको थियो । मेस्सीले अर्जेन्टिनाका लागी उमेर समुहका उपाधि बाहेक कुनै ठुला उपाधि जितेका छैनन् । मेस्सीले अर्जेन्टिनाको लागी अण्डर २१ विश्वकपको उपाधि र सन् २००८ को ओलम्पिकमा स्वर्ण दिलाएबाहेक अन्य ठुला उपाधि दिलाउन सकेका थिएनन् ।

सन् २००५ मा राष्ट्रिय टिममा डेब्यु गरेका मेस्सीले अर्जेन्टिनाका लागी १ सय १३ खेल खेलेका छन् । जसमा ५७ गोल गरेका छन् । मेस्सी अर्जेन्टिनाका लागी सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । मेस्सीले राष्ट्रिय टोलीबाट खेल्दा चार हृयाट्रिक समेत गरेका छन् । मेस्सीले अर्जेन्टिनाका महान खेलाडी ग्याब्रियल बाटिस्टुटाको नाममा रहेको कीर्तिमान भङ्ग गरेका हुन् । सन् १९९१ देखि २००२ सम्म अर्जेन्टिनाका लागि खेलेका बाटिस्टुटाले ७७ खेलमा ५६ गोल गरेका थिए ।

तर, २९ बर्षे मेस्सीले क्लब फुटबलबाट भने सन्यास लिएका छैनन् ।  मेस्सीले क्लब फुटबलमा स्पेनिस बार्सिलोनाबाट धेरै किर्तिमान र उपाधि जितेका छन् । मेस्सीले पाँच पटकका फिफा बर्ष खेलाडी बन्दै (वालोन डी ओर ) को उपाधि जितिसकेका छन् । त्यस्तै उनले बार्सिलोनाका लागी च्याम्पियन्स लिग, स्पेनिस ला लिगा, कोपा डेल रे, क्लब फुटबलको उपाधि जितिसकेका छन् ।

सम्बन्धित शिर्षकहरु