असार ८ । डोटी, डोटीको पचनाली गाविस तलकोटमा भएको हत्याको रहस्य प्रेम सम्बन्ध रहेको प्रहरीले पुष्टि गरेको छ ।
करिब १२ दिनको सफल प्रहरी अनुसन्धान पछि सो तथ्य सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरी सो घटनाको प्रमाणसहित हत्यारालाई सार्वजनिक गरेको छ । करिब पाँच वर्षको लामो प्रेम सम्बन्ध डेढ वर्ष यता टुटेपछि ब्रेकअप त्यसले हत्याको रुप लिएको प्रहरीको भनाइ छ ।
विंसं २०६७ साल मङ्सिर २७ गतेदेखि पचनाली गाविस तलकोटमा रहेको हरिहर उमाविमा अङ्ग्रेजी विषय अध्यापन गराउँदै आएका ३७ वर्षका शिक्षक लालबहादुर चन्दले सोही ठाउँ निवासी वर्ष २१ की मीना साउदको गोली हानी हत्या गरेको स्वीकार गरेका छन् । चन्दले गत जेठ २८ गते मीनाको गोली हानी हत्या गरेको स्विकारेका छन् । चन्द विसं २०६८ सालबाट मृतक मीनाको घरमा डेरामा बस्दै आएका थिए ।
दोषी ठहरिएका हत्यारा चन्दविरुद्ध जिल्ला अदालत डोटीमा कर्तव्य ज्यान मुद्दा दायर भएको र हतियार तथा खरखजनाविरुद्धको मुद्दासमेत चल्ने उपरीक्षक दिल्लीराज विष्टले बताए।








